समाज


तालिबानको कब्जाअघि नै देश छाडेका थिए नेपाल छिरेका अफगानीले

सबैजना हवाई मार्गबाट भारत आएका थिए
तालिबानको कब्जाअघि नै देश छाडेका थिए नेपाल छिरेका अफगानीले

देश छाडेका अफगान शरणार्थीको फाइल तस्बिर


नेपालखबर
कात्तिक ८, २०७८ सोमबार १५:२, काठमाडौँ

अवैधानिक रुपमा नेपाल छिरेर सोमबार काठमाडौंबाट पक्राउ परेका ११ जना अफगानी नागरिकले तालिबानले कब्जा गर्नुअघि नै देश छाडेको खुलेको छ।

तालिबानले गत अगस्ट दोस्रो साता राजधानी काबुलसहित देशको अधिकांश भूभाग कब्जा गरेर शासन सुरु गरेको थियो।

तर नेपाल छिरेर पक्राउ परेका ११ अफगान नागरिकहरुले अप्रिल, जुन र जुलाई महिनामै देश छाडेको खुलेको हो।

उनीहरु अफगानिस्तानबाट हवाई मार्ग हुँदै भारत छिरेका थिए। पक्राउ परेका ११ मध्ये ६ जना भैरहवास्थित सुनौली नाका हुँदै २६ दिनअघि नै काठमाडौं पसेका थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार अन्य ५ जना अफगानी ५ दिनअघि मात्रै सुनौली नाका हुँदै काठमाडौं आइपुगेका थिए।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उनीहरुलाई सिनामङ्गलको फेसबुक होटलबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताएका छन्।

तालिबानले अफगानिस्ता कब्जा अभियानलाई जुलाई अन्तिमदेखि तीव्र पारेको थियो। तालिबानले कब्जा गरेपछि अमेरिका, भारत र अन्य देशले आफ्ना नागरिकलाई त्यहाँबाट निकालेका थिए। 

यस्तोमा कयौँ अफगान नागरिक विदेशी मुलुकले उद्धारका लागि पठाएका जहाजमा विभिन्न देशमा पुगेका थिए।

नेपाल छिरेका ११ अफगानीमा ८ वर्षीय बालकदेखि ४३ वर्षीय पुरुषसम्म रहेका छन्। यसरी छिर्नेमा तीनजना महिला र ७ जना पुरुष रहेका छन्। 

अफगानिस्तानमा तालिबानले शासन हातमा लिएसँगै त्यहाँका नागरिक अन्य देशका शरणार्थीका रुपमा पसिरहेका छन्। नेपालमा पनि केही सातायता अवैधानिक रुपमा अफगानीहरु पसिरहेको खबर आएको छ। 

उनीहरु भैरहवा नाकाबाट गैरकानुनी रूपमा नेपाल छिरेको खुलेको छ। उनीहरुलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले त्यहाँ राखेको बताइएको छ। प्रहरीले उनीहरु सबैलाई अध्यागमन कार्यालयमा बुझाउने जनाएको छ। 

को को आए ? 

नेपाल प्रहरीको केन्द्री अनुसन्धान ब्यूरोका अनुसार नेपाल छिर्नेमा ३६ वर्षीय अब्दुल्लाह मोहम्मदी, ३० वर्षीय अजमल सराफी, २३ वर्षीय अकमल जजाई, २४ वर्षीय रोमल हतोक, २१ वर्षीय इसानुल्लाह हसहेमी, २६ वर्षीय इमरान वाली जादा, ४१ वर्षीय मोहम्मद जमराई स्तानिक्जाई, ३८ वर्षीया नजिफा स्तानिक्जाई, १७ वर्षीया मिस्बाह जैनब स्तानिक्जाई र ८ वर्षीय बालक मोहम्मद रायन स्तानिक्जाई रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .