समाज


महाकाली नदीको बाढीले खतराको सतह नाघ्योः पहुँच मार्ग भत्कायो

महाकाली नदीको बाढीले खतराको सतह नाघ्योः पहुँच मार्ग भत्कायो

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १३:५१, काठमाडौँ

कञ्चनपुर सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्ण जोशीले महाकाली नदीले भत्काएका पहुँच मार्गका संरचनाको आज स्थलगत निरीक्षण तथा अवलोकन गरे।

 

सो अवसरमा उहाँहरुले पहुँच मार्ग भत्किएपछि यसबाट हुने क्षतिबारे स्थानीय बासिन्दासँग जानकारी गरे। महाकाली नदीको बाढी पसेर डुवानमा परेका परिवारलाई समेत भेटघाट गर्दै मन्त्री खड्काले तत्काल राहत र अन्य सहयोगका लागि कार्य अगाडि बढाउन सरकार तत्पर रहेको बताए। बाढी प्रभावित क्षेत्रका बासिन्दाको उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा नियकालाई निर्देशन दिदैं उनले भने, 'थप के सहयोग चाहिन्छ,  त्यसका लागि प्रदेश सरकार कटिबद्ध छ।'

मन्त्री खड्काले बेमौसममा आएको वर्षाले भौतिक संरचनामा क्षति पु¥याउनुका साथै डुवानसँगै किसानको धानबालीमा व्यापक क्षति गरेको उल्लेख गर्दै प्रदेशका तर्फबाट किसानलाई हरसम्भव सहयोग गरिने प्रतिवद्धता व्यक्त गरे।

 

महाकाली नदीको पुल जोडने पहुँच मार्ग बाढीले भत्कायो

महाकाली नदीको बाढीले चार लेनको पहुँच मार्गको डेढ किलोमिटर सडक खण्ड भत्काएको छ। नदीको उच्च बहावका कारण सो सडकखण्ड भत्किएको हो।

 

बाढीले भुजेला खोलादेखि दक्षिण र पुल निर्माण उत्तरको क्षेत्रमा पहुँच मार्ग भत्काएको छ। नदीले अझै सडक कटानको कार्य जारी राखेको छ। पहुँच मार्ग भत्किएपछि महाकाली नदीको बाढी बस्तीमा पसेको छ। स्थानीयवासीका अनुसार भिनपा १२ को वडा कार्यालय, अस्फाल प्लान्ट एरिया र आयोजना क्याम्पमा पनि बाढी पसेको छ।

 

पहुँच मार्ग भत्किएपछि महाकाली पुल आयोजनाको टोली अनुगमनका लागि पहुँच मार्ग भत्किएको स्थानमा पुगेको छ। आयोजनाका निमित्त प्रमुख चेतराज जोशीको नेतृत्वमा कार्यालयको प्राविधिकसहितको टोली पहुँच मार्गमा पुगेको छ। टोलीले मार्ग भत्किएको स्थानमा स्थलगत निरीक्षण गरी ठेकेदार कम्पनीसँग छलफल गर्ने आयोजना कार्यालयका सवइञ्जिनीयर दुर्गादत्त अवस्थीले बताए।

उनले पुल निर्माण कार्य नसकिएर हस्तान्तरण नभएकाले ठेकेदारले भत्किएका सबै संरचना बनाउनुपर्ने बताए। यसअघि बाढीले पुल नजिकैको मार्ग भत्काएको थियो। ठेकेदार कम्पनीले पहुँचमार्ग संरक्षणका लागि ठूला ढुङ्गा व्यवस्थापन गर्न नसकेपछि केही महिनाअघि समेत पुल जोडने पहुँच मार्ग भत्काएको थियो।

 

कुमार सिएफइसी जेभीले २०७४ मा पुल निर्माणको ठेक्का लिएको थियो। तीन वर्षमा निर्माण कार्य सक्ने गरी ठेकेदार कम्पनीले सम्झौता गरेको छ।

 

यसैगरी आइतबारदेखि भइरहेको लगातारको वर्षापछि महाकाली नदीमा पानीले खतराको सतह नाघेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले नदीमा पानीले खतराको सतह नाघेको जानकारी दिए।

उनका अनुसार मङ्गलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर तीन लाख ९१ हजार क्युसेक पुगेको छ। नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमन रोक लगाइएको छ। अहिले शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ।

 

महाकाली नदी तटीय क्षेत्रमा पस्दा धेरै परिवार प्रभावित भएको बताउँदै प्रहरी नायब उपरीक्षक न्यौपानेले बाढीले पु¥याउको क्षति बारे तथ्याङ्क सङ्कलन तथा उद्दारको काम भइरहेको जानकारी दिए। सुदूरपश्चिमका पहाडी जिल्ला र तराईमा आइतबार रातिदेखि लगातार वर्षा भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad