ad ad

समाज


शिलादेवी मृत्यु प्रकरण : बोक्सीको निहुँमा देवरले नै हत्या गरेको खुलासा

शिलादेवी मृत्यु प्रकरण : बोक्सीको निहुँमा देवरले नै हत्या गरेको खुलासा

शैलेन्द्र महतो
असोज ३१, २०७८ आइतबार १७:५४, जनकपुरधाम

महोत्तरीकी ४२ वर्षीया शिलादेवी झाको हत्या बोक्सीको निहुँमा भएको खुलेको छ।

महोत्तरीको महोत्तरी गाउँपालिका ३ मडै निवासी स्वर्गीय लालकिशोर झाकी श्रीमती शिलादेवीको घरमा सुतेकै स्थानमा बिहीबार टाउकोमा हथौडा प्रहार गरी हत्या भएको थियो।  

शिलादेवीको हत्या बोक्सी भएको निहुँमा उनकै देवर ४२ वर्षीय संजय झाले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

संजय हाल जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाडामा बसेर ज्यालादारीको काम गर्दै आएका छन्। 

संजय बुधबार राति जनकपुरबाट साइकलमा घर पुगेका थिए। बिहीबार बिहान ३ बजेको समयमा शिलादेवी सुतिरहेकै स्थानमा रहेको हथौडाले टाउकोमा हानेर हत्या गरी पुनः जनकपुर फर्किएको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए। 

शिलादेवीले दिएको केरा खाँदा श्रीमती रिंकु झाको गर्भ तुहिएको र मुखबाट फिज आउँदा विभिन्न अस्पतालमा उपचार गराउँदा समेत ठीक नभएकाले बोक्सी नै रहेको निहुँमा संजयले भाउजूको हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी आचार्यको भनाइ छ। शिलादेवीका पति लालकिशोर र माहिलो छोरा कृष्णको मृत्यु भइसकेको छ।  

प्रहरीका अनुसार गएको असारमा संजयको विवाह भएको थियो। त्यस पश्चात शिलादेवीसँगै सगोलमा संजय र उनकी पत्नी रिंकी बस्ने गरेका थिए। शिलादेवीले देवरानी रिंकुलाई केरा खान दिएकी थिइन्। त्यस रात रिंकुको गर्भ तुहिएको थियो। पछि रिंकुको मुखबाट बेला बेला फिज निकाली बिरामी हुन थालिन्। रिंकुलाई संजयले विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए।

उपचारबाट निको नहुँदा डेढ महिनाअघि झाँक्री लगाएका थिए। झाँक्रीले लगाएपछि रिंकुले काम्दै शिलादेवीको माहिलो छोरा म कृष्ण कुमार झा हुँ भनि बताएको, श्रीमान लालकिशोर झा र मलाई शिलादेवीले टुनामुना गरी मारेको, अब रिंकु झालाई पनि टुनामुना गरी मार्न लागेको, त्यसकारण केरा खान दिँदा गर्भ तुहिएको बताएकी थिइन्। 

सोही कारण अब शिलादेवीको हत्या नगर्दा परिवार सुखसँग बस्न नसक्ने अन्ध विश्वासको कारण संजयले भाउजूको हत्या गरेको एसपी आचार्यले बताए।  

प्रहरी अनुसन्धानबाट शिलादेवीलाई संजयले दिएको १२ लाख ३९ हजार सापटी समेत नदिएको निहुँसमेत हत्याको कारण रहेको देखिएको छ।

यो पनि : महोत्तरीमा सुतिरहेकी महिलाको टाउकोमा हथौडा प्रहार गरी हत्या

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .