तिहारको दीपावली मनाउने क्रममा मोरङका तीन स्थानमा आगलागी भएका छन्। घटनामा धनमाल नष्ट हुनाका साथै एक बालकको मृत्यु भएको छ।
जिल्लाको पथरी शनिश्चरे नगरपालिका-५, कोठेबारीका युवराज गिरीको घरमा आइतबार राति दीपावली गर्ने क्रममा आगो लागेको हो।
आगलागीमा परी उनका ४ वर्षीय छोरा युसन गिरीको मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ। आगो लाग्दा बालक घरभित्र सुतिरहेका थिए।
आगलागीबाट ६० हजार रुपैयाँ, सुन, चाँदी, लत्ताकपडासमेत जलेर नष्ट भएको मोरङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस्तै मोरङकै विराटनगरमा दीपावली गर्ने क्रममै आगलागी हुँदा एउटा कार जलेको छ। आइतबार साँझ विराटनगर १० मा रहेको नेसनल एकेडेमी कलेजनजिकै रोकेर राखिएको को १ च ९२६२ नम्बरको कारमा आगो लागेको हो।
दीपावलीका लागि मैनबत्ती बाल्ने क्रममा कारमा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। आगलागीबाट कार पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
यसैगरी, मोरङकै केराबारी गाउँपालिका ८, आमजुंगेमा दीपावली गर्ने क्रममा घरमा आगलागी भएको छ।
प्रहरीका अनुसार स्थानीय उमेश बस्नेतको घरमा आगलागी भएको हो। आगोले उनको २१ लाख रुपैयाँ बराबरको क्षति भएको मोरङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया