छापा खबर


पौडेल पक्षको आरोप : नयाँ-नयाँ विषय ल्याएर पार्टी कब्जा गर्ने देउवाको रणनीति

पौडेल पक्षको आरोप : नयाँ-नयाँ विषय ल्याएर पार्टी कब्जा गर्ने देउवाको रणनीति

नेपालखबर
कात्तिक ११, २०७६ सोमबार ४:२८,

नेपाली कांग्रेसमा पछिल्लोपटक सभापति देउवाले १७ वटा विभाग गठन गर्ने प्रस्ताव गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष चिढिएको छ।

कार्यकाल सकिन तीन महिना बाँकी छँदा देउवाले विभागको संख्या बढाउन खोजेपछि गत बिहीबार केन्द्रीय कार्यसमिति बैठकसमेत बस्न सकेको थिएन।

आसन्न महाधिवेशनलाई आफ्नो पक्षमा प्रभावित बनाउन सभापति देउवाले पार्टी सत्ताको दुरुपयोग गर्न थालेको आरोप पौडेल पक्षको छ ।

दुई महिनाभित्र (पछिल्लोपटक विधान संशोधन गरेर ६ महिना बनाइएको छ) गठन गर्नुपर्ने विभाग कार्यकाल सकिन लाग्दासमेत देउवाले गठन गर्न सकेका छैनन् । दर्जन बढी भ्रातृ संस्थाको अधिवेशन हुन सकेको छैन।

आधा दर्जन भ्रातृ संस्था दशकदेखि तदर्थ शैलीमा चल्दै आएका छन् । महाधिवेशन र भ्रातृ संस्थाको अधिवेशन नगरी विभाग बढाउने प्रस्ताव ल्याइएपछि पौडेल पक्ष देउवासँग सशंकित बन्न थालेको छ। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

‘अहिलेसम्म विभाग गठन गर्न नसक्नेले एकाएक संख्या थप्ने प्रस्ताव ल्याउनु दुरुपयोगको प्रमाण हो,’ पौडेलनिकट एक केन्द्रीय सदस्यले भने, ‘पटक–पटक नयाँ–नयाँ विषय ल्याएर पार्टी कब्जा गर्ने रणनीति सभापतिजीले लिन थाल्नुभएको छ।’

आफ्ना निकट केन्द्रीय सदस्यलाई विभाग प्रमुखको भाग पुर्‍याउन संख्या थप्ने प्रस्ताव ल्याइएको भन्दै पौडेल पक्षले महाधिवेशन संघारमा विभाग गठनकै औचित्व नरहेको बताउन थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad