कारोबार


विद्युत् भारप्रेषण केन्द्र पुगेर कुलमानले भने : माग-आपूर्ति विवरणमै खेलवाड गरिँदोरहेछ

विद्युत् भारप्रेषण केन्द्र पुगेर कुलमानले भने : माग-आपूर्ति विवरणमै खेलवाड गरिँदोरहेछ

नेपालखबर
कात्तिक ११, २०७६ सोमबार ५:१५,

यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत् उच्च माग (पिक डिमान्ड) १०८९ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिन आइतबार साँझ साढे ६ बजे पिक डिमान्ड १०८९ मेगावाट पुगेको रेकर्ड गरेको हो।

अघिल्लो वर्षको लक्ष्मीपूजाका दिन पिक डिमान्ड ११०५ मेगावाट थियो। गत आर्थिक वर्षभरिको पिक डिमान्ड १३२० मेगावाट थियो। तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहकबाहेकको हो।

औद्योगिक ग्राहकको विद्युत् माग करिब ३०० मेगावाट छ। यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकाको पिक डिमान्ड ३३१ मेगावाट रेकर्ड गरिएको छ। प्राधिकरकणले आफ्ना विद्युत गृहहरूबाट ५४६ मेगावाट, निजी क्षेत्रका विद्युत गृहहरूबाट ४३६ मेगावाट र भारतबाट १०७ मेगावाट नेट आयात गरी १०८९ मेगावाट विद्युत् आपूर्ति गरेको छ।

यस वर्ष प्राधिकरणका ६० मेगावाटको माथिल्लो त्रिशूली ‘३ ए’ तथा १४ मेगावाटको कुलेखानी तेस्रा र निजी क्षेत्रका केही जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा थपिएकाले भारतबाट आयात हुने परिमाण पनि घटेको छ।

प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत् गृहहरू पूर्ण क्षमतामा चलाइएको थियो। जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन गरिएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाका दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार सञ्चालकहरू चेतराज जोशी, विश्वप्रकाश गौतमसहित प्राधिकरणका उच्च अधिकारीहरूको टोलीसहित स्यूचाटारस्थित भारप्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए।

IMG 20191027 190050

विगत वर्षमा झैं यस वर्ष पनि फाट्फुट् केही स्थानमा बाहेक लक्ष्मीपूजाका दिन मुलकभर बिनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ।

तीन वर्षअघि प्राधिकरणले लक्ष्मीपूजाकै दिनबाट मुलुकलाई लोडसेडिङमुक्त घोषणा गर्ने अभियान सुरु गरेको थियो। अहिले मुलुक लोडसेडिङमुक्त छ।

घिसिङले विद्युतको चुहावट नियन्त्रणमा चालिएका कदम, उपभोक्ताहरूले प्रयोगमा ल्याएका ऊर्जा कम खपत गर्ने बल्बलगायतका विद्युतीय उपकरणहरू, गत वर्षभन्दा यस वर्ष तिहारअघि परेकाले पिक डिमान्ड नबढेको कार्यकारी निर्देशक बताए।

‘लक्ष्मीपूजाका दिन अधिकतम माग करिब १४ सय मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्तिको जोहो गरेका थियौं, उपभोक्तालाई पनि प्रशस्त विद्युत् भएकाले ढुक्क भएर बत्ती बाल्न आग्रह गरेका थियौं, क्षमताको माग अपेक्षाअनुसार बढ्न नसके पनि ऊर्जा खपत बढेको छ, यो प्रणाली सञ्चालनका लागि राम्रो हो’ उनले भने, ‘विगतमा लोडसेडिङ हुँदा माग र आपूर्तिको विवरण नै तोडमोड गरी त्यसैमा खेलिँदोरहेछ, अहिले देखिएको वास्तविक डिमान्ड हो।’

प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतमा चलाइएको अभियान परिणाम स्वरूप अब वास्तविक डिमान्डदेखि विद्युत् आपूर्ति विश्वसनीय र भरपर्दो हुन थालेको घिसिङले बताए।

लक्ष्मीपूजाका दिन काठमाडौंको चपली–शिवपुरी, सुनसरीको दुहवी–धरान, रूपन्देहीको बुटवल–नयाँ मिल र बाँकेको कोहलपुर–गुलरिया ३३ केभी प्रसारण लाइन ट्रिपिङ भई केहीछिन विद्युत् आपूर्तिमा अवरोध भएको थियो।

तर तीन लाइनलाई करिब २ मिनेट भित्रै सञ्चालनमा ल्याइएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए।

‘काठमाडौंको महाराजगंज वितरण केन्द्रअन्तर्गतका बसुन्धरा, धुक्बाराही, सामाखुसी क्षेत्रमा रहेका स्थानीय ट्रन्सफर्मरमा समस्या देखिएको थियो, तयारी अवस्थामा रहेका हाम्रा प्राविधिक टोलीलाई तत्काल खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सफल भयौं,’ उनले भने।

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अपरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad