पत्रकार पूर्णिमा श्रेष्ठले संसारको सातौँ अग्लो शिखर धवलागिरी हिमालको सफल आरोहण गरेकी छन्।
श्रेष्ठले आज बिहान म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा पर्ने आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको सफल आरोहण गरेकी हुन्। उनी धवलागिरी आरोहण गर्ने पहिलो नेपाली महिलासमेत बनेकी छन्। धवलागिरीमा विदेशी महिलाले सफल आरोहण गरे पनि नेपाली महिलाले भने आरोहण गर्न सकेका थिएनन्।
काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै धवलागिरि हिमाल आरोहणमा लागेकी थिइन्।
सेभेन समिट टे«किङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज (शुक्रबार) बिहान ५ बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिए। ‘धवलागिरि हिमालमा नेपाली महिलाले पहिलोपटक सफल आरोहण गरेकी छन्। यो खुसीको कुरा हो।’
धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको कुनै रेकर्ड नभएको उनले बताए।
श्रेष्ठसँगै जानुभएकी माया शेर्पालगायतले आरोहण गरे/नगरेको पुष्टि हुन बाँकी छ। पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालकोसमेत सफल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन्।
पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन्। पथप्रदर्शक पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन्।
पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत छिन्। उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन्।
पूर्णिमाले आधार शिविर जानुअघि बेनीमा आयोजित एक कार्यक्रममा कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएका आफ्नो धवलागिरि आरोहण गर्ने लक्ष्य यसपालि पूरा हुने घोषणा गरेकी थिइन्।
Shares

प्रतिक्रिया