ad ad

समाज


सुनकाण्ड : सरकारी पक्षको बहस सकियो, गोरेविरुद्ध प्रमाण नपुग्ने डर

सुनकाण्ड : सरकारी पक्षको बहस सकियो, गोरेविरुद्ध प्रमाण नपुग्ने डर

कृष्ण बहाब
असोज १२, २०७८ मंगलबार ९:१७, काठमाडौँ

झन्डै ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको छ। 

अन्तिम सुनुवाइका क्रममा रहेको यो मुद्दामा सोमबार सरकारी वकिलको बहस सकिएको छ भने त्यही दिन प्रतिरक्षा बहस सुरु भएको छ। 

सरकारी पक्षको बहस सकिएपछि प्रतिवादी पूर्वडीआईजी गोविन्दप्रसाद निरौलाका तर्फबाट अधिवक्ता भानुभक्त निरौलाले बहस सुरु गरेका हुन्। विपक्षी बहसले आज पनि निरन्तरता पाउनेछ। 

प्रतिवादीका तर्फबाट ८० जनाभन्दा बढी कानुन व्यवसायीले बहस गर्नेछन्। 

सरकारी टोलीबाट उच्च सरकारी वकिल कार्यालय विराटनगर सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले र मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेलले बहस गरेका थिए।

साेमबार बहसका क्रममा सरकार पक्षका वकिलहरूले सुन तस्करी र हत्यामा प्रतिवादीहरूको संलग्नता रहेकाे दाबी प्रस्तुत गरेका थिए। तर, घटनाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीले तस्करी गरेकाे स्पष्ट प्रमाण उनीहरुले दिन सकेका छैनन्।

मुख्य अभियुक्त गोरेले सनमको हत्या गरेको प्रमाण पुग्नेमा सरकारी पक्ष ढुक्क देखिए पनि सुन तस्कर गरेकाे प्रमाण भने नपुग्ने हो कि भन्ने डर उत्पन्न भएकाे छ। 

इजलासले बयानका क्रममा स्वीकार गरेको विषयलाई आधार माने मात्र गोरे दोषी हुने अपेक्षा गरिएको छ। त्यही बयानलाई सरकारी पक्षले सुन तस्करीको मुख्य प्रमाणका रूपमा पेस गर्न खोजेको देखिन्छ।

‘बयानमा स्वीकार गरेका छन्, त्यसलाई पनि आधार इजलासले मान्छ’, प्रमाणको विषयमा सरकारी वकिल कार्यलयककै एक कर्मचारी भन्छन्, ‘जिकिर त हाम्रो पक्षको छ, बयान पनि छ तर प्रमाण ठ्याक्कै नपुग्ने हुनाले अलि गाह्रो देखिन्छ।’

‘हाइप्रोफाइल’ प्रहरी अधिकारीसहित ६३ जना प्रतिवादी रहेको ०७४–सीआर–०५७१ नम्बरको मुद्दा र अन्य पूरक मुद्दा गरी ७३ जना प्रतिवादी रहेको मुद्दाको सुनुवाइ जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले हेर्दाहेर्दैमा राखेर सुनुवाइ गरिरहेको हो। 

१७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी सरकार पक्षको छ।

सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा उक्त परिमाणकाे सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेको हो। तर तस्करी गरेको भनिएको सुन भने अझै फेला परेको छैन।​

प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएपछि पुनः एकपटक निबेदकका वकिलले बहस गर्ने पालो पाउछन् । जसलाई जवाफी बहस समेत भन्ने गरिन्छ । त्यसपछि अदालतले फैसला गर्नेछ।

२०७५ वैशाख १९ मा दर्ता गरिएको सुन तस्कारी तथा व्यक्ति हत्यासम्बन्धी  मुद्दामा मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई मुख्य अभियुक्त बनाइएको छ।

अभियुक्तहरूले संगठित अपराध निवारण ऐन, भन्सार ऐन र तत्कालीन मुलुकी ऐन गरेर तीनवटा ऐनविरुद्धका कसुर गरेको दाबी सरकार पक्षको छ।

गोरेसहित प्रतिवादीमध्ये ५५ जना पक्राउ परेका छन् भने २२ जना अझै फरार रहेको मिसिलमा देखिन्छ। 

सुन तस्करी मुद्दामा नेपाल प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायत प्रतिवादी छन्।

खत्री र राउत अहिले पनि थुनामै छन् भने अन्य पूर्व एवं बहालवाला प्रहरी उच्च अदालत (विराटनगर) को आदेशबाट छुटिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .