सेवा-सुविधा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएका आर्यघाटमा शवदाह गर्ने कामदारहरूले आन्दोलन फिर्ता लिएर काममा फर्किएका छन्।
पशुपति क्षेत्र विकास कोषले कामदारको सेवा–सुविधा वृद्धि गरेपछि कामदार आन्दोलन फिर्ता गरेर काममा फर्किएका हुन्।
बुधबार दिउँसो आन्दोलनरत कामदार र कोषबीच सेवा सुविधा वृद्धि गर्ने सहमति भएपछि आन्दोलन फिर्ता भएको हो।
घाट सेवा केन्द्रका सम्पूर्ण कामदारका नाममा ब्यानर सूचना जारी गर्दै उनीहरूले आफूहरूको माग पूरा नभए आजै (बुधबार) देखि शव दाह गर्ने, दाउरा बोक्ने र खाल्डो खन्नेलगायत दाहसंस्कारका सबै काम बन्द गर्ने चेतावनी दिएपछि कोषले उनीहरुलाई वार्तामा बोलाएको थियो। पारिश्रमिक र सुविधा वृद्धि गर्ने सहमति भएको कोषका सदस्यसचिव प्रदीप ढकालले जानकारी दिए।
‘उनीहरुको मागअनुसार एउटा शव जलाएबापत पाउने १२ सय रुपैयाँबाट १५ सय र औषधि उपचार खर्च पाँच हजारबाट १५ हजार रुपैयाँ बनाइदिएका छौं’, सदस्यसचिव ढकालले भने। नयाँ सहमतिपछि अव कर्मचारीहरुले अवकाश हुँदा पाँच लाख रुपैयाँ पाउने भएका छन्। यसअघि उनीहरुले एक लाख ५० हजार पाउँदै आएका थिए। त्यस्तै कानमदाको दुई लाख बराबरको स्वास्थ्य बीमा समेत गर्ने सहमति भएको सदस्यसचिव ढकालले बताए।
सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिए वार्ता नहुने चेतावनी दिँदै कोषले कामदारका माग सम्बोधन गर्न तदरुकता देखाएको हो। कोषको चेतावनीपछि शवदाहका कर्मचारीले काम गर्दै वार्तामा बसेका थिए। कोषले कामदारको आन्दोलनपछि विद्युतीय शवदाह गृहका दुईवटै मेसिन सञ्चालनमा ल्याएको थियो।

प्रतिक्रिया