भारतले भारतीय संविधानमा रहेको जम्मु कस्मिरकाे विशेष अधिकारयुक्त धारा खारेज गरेपछि त्यसको विरोध गर्दै आएको मलेसिया र भारतबीच व्यापारयुद्धको स्थिति देखिएको छ। भारतीय व्यापारीहरुले सोही विषयलाई उचाल्दै मलेसियाको पाम तेल (फलफूलको बियाँबाट निकालिने तेल) बहिष्कार गर्ने बताएसँगै पछिल्लो अवस्था आएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्।
मलेसियाको पाम तेलको ठूलो बजार हो भारत। तर मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतले कस्मिर कब्जा गरेको आरोप लगाएका थिए। प्रधानमन्त्री महाथिरको उक्त आरोपपछि भारत रुष्ट भएको थियो। यसमा भारतले आपत्ति समेत जनाएको थियो। तर महाथिरले उक्त आरोप फिर्ता लिनुको साटो त्यसमा अडिग रहेको अभिव्यक्ति दिँदै आएका छन्।
रोयटर्सका अनुसार मंगलबार मात्रै मलेसियाली प्रधानमन्त्रीले भनेका छन्, ‘हामी मनदेखि बोल्छौँ र एकपटक बोलिसकेपछि पछि हट्दैनौँ।’ उनले संयुक्त राष्ट्रसंघको प्रस्तावहरुअनुसार यसको समाधान हुनुपर्ने माग समेत राखेका छन्। त्यसो नभए संयुक्त राष्ट्रसंघको मतलब के हो थाहा नहुने उनको दाबी छ। महाथिरले यी कुरा मलेसियामा संसदबाहिर पत्रकारसँगको कुराकानीमा भनेको बताइएको छ।
मलेसियाली प्रधानमन्त्रीको कस्मिरबारेको कडा टिप्पणीले भारतसँगको आर्थिक सम्बन्ध थप बिग्रिने भएको छ। सोमबार मात्रै भारतको ठूलो भेजिटेबल आयल ट्रेडबडीले आफ्ना सदस्यहरुलाई मलेसियाको पाम तेल नकिन्न उर्दी जारी गरेको बीबीसी हिन्दीले जनाएको छ। भारतले गत अगस्ट ५ मा जम्मु कस्मिरको विशेष अधिकार अन्त्य गरेको थियो। सोही घटनाक्रमपछि मलेसियाले भारतको आलोचना गर्दै आएको छ। भारतले यसलाई आफ्नो आन्तरिक मामिला भएको बताउँदै आएको छ।
यो मामिलामा सबैभन्दा बढी आपत्ति जनाउने राष्ट्र भने पाकिस्तान हो। यता महाथिरले आफ्नो देशबाट भारतले पाम तेल खरिद बन्द गर्नथालेको घटनालाई सूक्ष्म रुपले नियालेर आवश्यक निर्णय लिने बताएका छन्। भारतीय कम्पनीले बहिष्कारको चेतावनी दिए पनि भारत सरकारले भने मलेसियाबाट पाम तेल आयात रोक्नेबारे केही टिप्पणी सार्वजनिक गरेको छैन। महाथिरले अहिलेसम्म भारतले केही नभनेको र दुई देशबीचको व्यापार द्विपक्षीय रहेको मंगलबार बताएका छन्।
त्यस्तै मलेसियाकै प्राथमिक उद्योगमन्त्री टेरेसा कोकले पनि भारतीय कारोबारीले पाम तेल बहिष्कार गर्ने निर्णय गर्नु दुःखद रहेको बताएका छन्।
गत वर्ष मलेसियाले भारतमा १० अर्ब ८० करोड डलरको निर्यात व्यापार गरेको थियो भने आयात ६.४ अर्ब डलर रहेको बीबीसी हिन्दीले जनाएको छ। भारतले नकिन्ने डर भएपछि मलेसियामा पाम तेलको कारोबारमा कमी आइरहेको छ। गत वर्ष मलेसियाको पाम तेल खरिद गर्नेमा भारत तेस्रो ठूला आयातकर्ता बनेको थियो।
मलेसियाले पछिल्लो हप्ता तनाव कम गर्ने उद्देश्यले चिनी र भैँसीको मासु आयात बढाउनेबारे विचार गरिरहेको बताएको थियो। भारत खानेतेल आयात गर्ने विश्वकै ठूलो देश हो। भारतले पाम तेल मलेसिया, इन्डोनेसियाबाट खरिद गर्दै आएको छ। एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया