मनसुनी गतिविधिका कारण देशैभरीको मौसम बदली भएको छ।
पूर्वका अधिकांश क्षेत्रमा मनसुनी गतिविधिकै कारण पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।
पूर्वको झापा, मोरङ, पाँचथर, इलाम, ताप्लेजुङ लगायतका ठाउँमा अहिले पानी परिरहेको छ।
पूर्वबाट क्रमशः मनसुन देशको मध्य क्षेत्रमा फैलिँदै गए पनि महाशाखाले नेपालमा मनसुन भित्रिएको औपचारिक घोषणा भने गरेको छैन।
‘हामी एक–दुई दिन भित्रै मनसुन नेपालमा भित्रिएको औपचारिक घोषणा गर्नेछौँ,’ मौसमविद् अर्यालले भने, ‘औपचारिक घोषणाको लागि महाशाखाको बैठक बस्नुपर्ने हुन्छ, बैठकपछि विज्ञप्ती जारी गरेर हामी औपचारिक रुपमा त्यसको घोषणा गर्ने छौँ, सायद आज–भोली नै त्यो हुन्छ होला ।’
मनसुनी गतिविधिकै बिहीबार बिहानैदेखि देशका अधिकांश भूभागको मौसम बदली भएको छ। ‘यतिबेला देशैभरीको मौसम बदली छ,’ मौसमविद् अर्यालले भने, ‘पश्चिमी क्षेत्रबाहेक बाँकी भूभागको मौसम बदली मनसुनी गतिविधिकै कारण भएको हो।’
उनले पश्चिमी क्षेत्रमा भने अझै पश्चिमी बायू सक्रिय रहेको बताए । आज देशभर वर्षा हुने सम्भावना रहेको अर्यालको भनाई छ। देशका सबैजसो स्थानमा वर्षा हुने संकेत देखिएका छन्।
सामान्यतया जुन १० तारिखमा मनसुन नेपाल भित्रिन्छ। यस हिसाबले यस वर्ष मनसुन प्रवेशमा केही ढिलाइ भएको छ।

प्रतिक्रिया