ad ad

समाज


धनुषा र महोत्तरीमा २४ घण्टाभित्रै पाँचजनाको शव फेला, तीनको हत्या आशंका

धनुषा र महोत्तरीमा २४ घण्टाभित्रै पाँचजनाको शव फेला, तीनको हत्या आशंका

शैलेन्द्र समदर्शी
साउन १६, २०७८ शनिबार १६:३२, काठमाडौँ

धनुषा र महोत्तरीमा २४ घण्टा भित्रै दुईबालबालिकासहित पाँचजनाको शव फेला परेको छ।

धनुषामा एक बालिकासहित तीनजना र महोत्तरीमा एकबालकसहित दुईजनाको शव बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म फेला परेको हो।

जसमा घटनास्थलको प्रकृतिले तीनजनाको हत्या भएको प्रहरीको आशंका छ। पाँच दिनदेखि हराइरहेकी गणेशमान चारनाथ नगरपालिका १० बरमझियाका विरेन्द्र कुमार यादवकी ६ वर्षीया छोरी प्रिती यादवको शव शुक्रबार बिहान इनारमा फेला पर्यो।

घरभन्दा पाँचसय मिटरको दुरीमा रहेको इनारमा प्रितीको शव तैरिरहेको अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले बताए । बालिकाको हत्या गरेर कसैले शव इनारमा फालेको हुन सक्ने प्रहरीको आशंका छ। डिएसपी मिश्रले घटना शंकास्पद रहेकाले अनुसन्धान गरिरहेको र चाँडै यथार्थ खुल्ने बताए।

यस्तै शुक्रबार बिहानै धनुषा प्रहरीको हिरासतको शौचालयमा झुण्डेको अवस्थामा एक थुनुवाको शव फेला परेको हो। दाइभाइसंगको घरायसी विवादमा पक्राउ परेका धनुषाको लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडाका ४२ वर्षीय पल्टु रविदासको शौचालयको भेन्टिलेशनमा गञ्जीले पासो लगाएको अवस्थामा शव फेला परेको हो।

दुईलाख रुपैयाँ धरौटी बुझाउन नसक्दा उनलाई जिल्ला अदालत धनुषाले सिन्धुली कारागार चलान गर्न आदेश दिएको थियो। आर्थिक अभावको कारणले उनले तनावमा आत्महत्या गरेको हुन सक्ने प्रहरीले बताएका छन्।

तर परिवारजनले उनको हत्या भाएको दावी गर्दै सुक्ष्म अनुसन्धन गरी दोषीलाई कारबाही र क्षतिपुर्तिको माग गरेका छन्। यस्तै बिहीबार साँझ धनुषाकै मिथिला नगरपालिका ८ जमुनिबासमा आँप बगैँचामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला पर्यो।

दायाँ आँखाको ‘आँखी भौ’ नजिक सामान्य चोट देखिएको र घाँटी कसेको जस्तो देखिएका ती मृतक पुरुष मधेशी मुलका छन्। तर हालसम्म उनको परिचय नखुलेको धनुषाका प्रहरी प्रवक्ता डिएसपीले बताए।

उनका अनुसार घाँटीमा डोरीले जस्तै कसेको जस्तो डाम देखिएकाले घटना शंकास्पद रहेको र अनुसन्धान भइरहेको छ। मृतकको शवलाई पोस्टमार्टमका प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

बुधबारदेखि हराइरहेको महोत्तरीको रामगोपालपुर नगरपालिका ६ विशम्भरपुर निवासी चन्द्रकिशोर यादवका ५ वर्षीय छोरा रितेशकुमारको शव बिहीबार बिहान परारले छोपेको अवस्थामा फेला पर्यो। घरबाट ४० मिटर पर बगैंचामा परालले छोपेको अवस्थामा बालकको शव फेला परेको थियो।

बालकको हत्या गरेर परालले छोपेको हुन सक्ने आशंका प्रहरीको छ । घटना पश्चात सम्पर्क विहीन रहेका बुबा चन्द्रकिशोर र सौतेनी आमा रागिनी मुखियालाई बिहीबार साँझ पक्राउ गरेका महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए।

स्थानीयले बालकको हत्या भएको दावी गरेका छन्। सोही दिन साँझ ७ बजे महोत्तरीकै मटिहानी नगरपालिका ८ बिगही पुल नजिक सडकको छेउमा पिपरा गाउँपालिका १ बस्ने २० वर्षीय जितन मण्डलको शव फेला परेको थियो। युवकको शवलाई पोस्टमार्टम गरी परिवारजनलाई शुक्रबार जिम्मा लगाएको छ।

युवक लागुऔषध तथा गाँजा बढी सेवन गर्ने गरेका कारण उनको मृत्यु अत्यधिक लागुऔषध सेवनबाट मृत्यु भएको हुन सक्ने प्रहरीका अनुमान छ। घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता विष्टले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .