आज (आइतबार) पनि देशका धेरै स्थानमा पानी पर्ने र केही ठाउँमा धेरै ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले (बिहान) पनि देशभर विभिन्न स्थानमा वर्षा जारी छ।
यस्तै आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा यस क्रममा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना छ।
साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
यसैगरी राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।
यस क्रममा प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा दिउँसोझैं मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।
साथै सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
भनिएको छ : सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
Shares

प्रतिक्रिया