समाज


भक्तपुर अस्पतालका सबै सेवा ठप्प

भक्तपुर अस्पतालका सबै सेवा ठप्प

नेपालखबर
असार ४, २०७६ बुधबार १०:१०,

 वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ। अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टी बाँधेर ३५ कर्मचारीहरु अस्पतालको प्राङ्गणमा धर्ना दिएर बसेका छन्। सधैं भीड लाग्ने अस्पताल आन्दोलनका कारण बिरामी नआएपछि सुनसान भएको छ।

अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सुधा देवकोटाले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको सबै सेवा, सुविधा कटौती गरेपछि ३५ कर्मचारी विगत एकसातादेखि आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनमा उत्रिएका कर्मचारीले आफ्नो माग सम्बोधन नगरेको भन्दै हिजोदेखि आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प पारेपछि आजदेखि अस्पताल बिरामी नआउँदा सुनसान भएको हो।

सरकारले अस्पताल विकास समिति खारेज गरेर मेसुलाई अधिकार दिएपछि मेसु डा. देवकोटाले २०७५ साउन ६ गते अधिकारको दुरुपयोग गरी नियमविपरीत यसअघिका विकास समितिले गरेको सम्पूर्ण निर्णयसमेत खारेज गरेको र समितिले नियुक्ति गरेको कर्मचारीको नियुक्तिसमेत खारेज गरेको सूचना टाँस गरेको आन्दोलनरत कर्मचारीहरूको संगठनका अध्यक्ष मदन द्यौलाले बताए। उनले मेसुले आफूहरूसँग छलफलै नगरी वर्षौँदेखि खाइपाइ आएको सञ्चयकोष, महँगी भत्ता, बिदा र ग्रेडसमेत काटेकोले ती सेवा सुविधा पुनः सुचारु गर्न माग गर्दै आन्दोलनमा उत्रिएको बताए।

अस्पतालमा विगत २२ वर्षदेखि कार्यरत कर्मचारीहरुलाई निष्कासन गर्ने नियतले सेवा, सुविधा कटौती गर्दै गएको र ठेक्काबाट करारमा रहेका १३ कर्मचारीलाई साउनदेखि नियुक्ति नवीकरण नगर्ने भएकाले उनीहरुको पुनर्बहालीको समेत माग गरेको उनले बताए।

मेसुले अस्पतालका कर्मचारीहरु दास भएको भन्दै कर्मचारीलाई मानवीय व्यवहारसमेत नगरेको आन्दोलनरत कर्मचारीको आरोप छ। करारमा रहेका कर्मचारीलाई निष्कासन गर्ने तर आफ्ना आफन्त सात जनालाई नर्स र फार्मेसीमा नियुक्ति गर्नुका साथै मेसु देवकोटोले रु. १७ हजार ५०० तलबमा आफ्ना निजी भान्छे समेत नियुक्ति गरेको संगठनका सचिव सुनिता श्रेष्ठले जानकारी दिइन्। उनले भनिन्, ‘हाम्रा सेवा सुविधा कटौती गर्ने अनि यसअघिका कुनै पनि मेसुले नराखेको भान्छे डा. सुधाले निजी रूपमा राख्नुभएको छ, उहाँले अस्पताल प्रशासनको दुरुपयोग गर्दै आउनुभएको छ।’

अस्पतालको ‘रिसेप्सन’मा रहेको टेलिफोन विगत सात महिनादेखि बन्द भएपनि नखुलाएको, अस्पतालको बस मर्मत नगरी थन्क्याएको तर आफ्नो गाडी र तेल खर्चको भने मेसुले व्यापक दुरुपयोग गरेको गुनासो कर्मचारीको छ। डा. देवकोटाले प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयमा विकास समिति, करार, ठेक्काका कर्मचारीले अनधिकृतरूपमा सञ्चयकोष, महँगी भत्ता, बिदा र ग्रेड पाइरहेको भनी पत्राचार गरेपछि मन्त्रालयले त्यस्ता सुविधा रोक्न पत्राचार गरेको थियो।

आन्दोलनका बारेमा विकास समितिका अध्यक्ष मिलन सुवालले वार्ता कमिटी बनाएको बताए।

यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. देवकोटाले भभने आफूले सबै माग पूरा गरेको बताएकी छन्। उनले भनिन्, ‘मैले गर्नुपर्ने सबै माग पूरा गरिसकेँ, अब मन्त्रालयले पूरा गर्ने माग मात्रै बाँकी छ, मन्त्रालयमा सबै जानकारी गराइसक्यौँ, मन्त्रालयबाट टोली आउँदैछ भन्ने जानकारी पाएको छु, जे गर्छ टोलीले गर्छ।’ उनले अस्पतालको सेवा ठप्प नपार्न आन्दोलनरत कर्मचारीलाई आग्रह गरेको उल्लेख गर्दै काउन्टरको साँचो समेत नदिँदा टिकट काट्न समेत नपाएको बताइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .