चीनले उसको सबैभन्दा अत्याधुनिक लडाकु विमान सार्वजनिक गरेको छ। अमेरिकालाई हवाइ शक्तिमा भेट्टाउने कोसिस गरिरहेका बेला चीनले नयाँ लडाकु विमान सार्वजनिक गरेको छ।
चीनको जे–३५ए स्टिल्थ फाइटर विमानले मंगलबार चुहाइ हवाई प्रदर्शनीमा ५ मिनेट उडान भरेको थियो।
जे–३५ए जमिनबाट उड्ने र अवतरण गर्ने लडाकु विमान हो। यसको अर्को भेरियन्टले विमानवाहक युद्धपोतबाट उडान र अवतरण गर्नेछ।
यो लडाकु विमानको क्षमताबारे धेरै जानकारी सार्वजनिक गरिएको छैन। तर, यसको सार्वजनिकीकरण चिनियाँ सेनाको आधुनिकीकरणको क्रममा महत्त्वपूर्ण कदम भएको विश्लेषकहरूको भनाइ छ। त्यस्तै, यसले एसिया–प्यासिफिक क्षेत्रमा, खासगरी ताइवानवरिपरि अमेरिकाको प्रभुत्वलाई चुनौती दिने पनि उनीहरू बताउँछन्।
‘यसवर्षको हवाइ प्रदर्शनी चीनको सेना अमेरिका र बाँकी पश्चिमको सेनासँग बराबरी छ भन्ने सन्देश दिनेगरी आयोजना गरिएको छ,’ सैन्य विश्लेषक तथा अमेरिकाको प्यासिफिक कमान्डको ज्वइन्ट इन्टेलिजेन्स सेन्टरका पूर्वनिर्देशक काल सुस्टर भन्छन्, ‘दोस्रो विश्वयुद्धपछिका हरेक द्वन्द्वमा अमेरिकाको हवाइ सर्वोच्चता रहँदै आएको थियो। चीनको बढ्दो हवाइ शक्तिले पश्चिमको त्यो अग्रतालाई चुनौती दिन्छ।’
जे–३५ विमान सार्वजनिक गरेपछि चीन स्टिल्थ फाइटरका एकभन्दा बढी सिरिज ल्याउने अमेरिकापछिको दोस्रो मुलुक बनेको छ। अमेरिकासँग भएको एफ–२२ र एफ–३५ यस्तो विमान हो भने चीनको जे–२० र जे–३५।
तर, अमेरिकाले एफ–२२ को उत्पादन बन्द गरिसकेको छ।
‘हार्डवेयरको सवालमा चीनले कम्तीमा प्रदर्शनका हिसाबले भेट्टाइसकेको छ,’ सिंगापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका उपप्राध्यापक जेम्स चार भन्छन्, ‘तर, अमेरिकीहरूलाई भेट्टाउने सवालमा धेरैजसो विश्लेषकहरू चीन अझै १०–१५ वर्ष पछि रहेको बताउँछन्।
जे–३५ सेनयाङ एयरक्राफ्ट कर्पोरेसनले दशकभन्दा लामो समय लगाएर बनाएको हो। यसअघि जे–२० विमान २०१७ मा सेवामा प्रवेश गरेको थियो।
जे–३५ भने २०२६ मा सेवामा प्रवेश गर्ने आकलन गरिएको छ। यसले अमेरिकाको एफ–३५ लाई टक्कर दिने कतिपयको भनाइ छ।
तर, विमानवाहक युद्धपोतबाट उड्ने जे–३५बी भने हालसम्म सार्वजनिक गरिएको छैन। त्यो जहाजलाई धावनमार्ग चाहिँदैन, सोझै उड्ने र अवतरण गर्ने गर्छ।
यसवर्षको चिनियाँ हवाइ प्रदर्शनीमा रुसको सुखोइ एसयू–५७ लडाकु जहाज पनि समावेश थियो। एजेन्सी
Shares

प्रतिक्रिया