प्रविधि


चन्द्रमामा 'बेस क्याम्प' बनाएर मंगल ग्रह पुग्ने नासाको तयारी, ५ दशकपछि मानवसहितको यान प्रक्षेपण

चन्द्रमामा 'बेस क्याम्प' बनाएर मंगल ग्रह पुग्ने नासाको तयारी, ५ दशकपछि मानवसहितको यान प्रक्षेपण

नेपालखबर
चैत १९, २०८२ बिहिबार ११:१३, काठमाडौँ

करिब ५२ वर्षअघि सन् १९७२ मा 'अपोलो १७' का यात्रीहरूले चन्द्रमा छाडेपछि मानवजाति फेरि त्यही उपग्रहको गहिराइमा पुग्ने साइत जुरेको छ। अमेरिकी अन्तरिक्ष संस्था नासाले आफ्नो महत्वाकांक्षी 'आर्टिमिस २' मिसनको सफल प्रक्षेपण गरेसँगै विश्वको ध्यान अहिले अन्तरिक्षतर्फ मोडिएको छ।

फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट गर्जनसहित उडेको 'ओरिअन' अन्तरिक्षयानले अहिले पृथ्वीको कक्षमा फन्को मारिरहेको छ। यो केवल एउटा प्राविधिक उडान मात्र होइन, मानव इतिहासकै एउटा नयाँ अध्याय पनि हो। किनकि, यस पटकको टोलीले दशकौंदेखिको एउटा ठूलो सामाजिक खाडललाई पनि पुर्दैछ। बीबीसीका अनुसार, इतिहासमै पहिलो पटक चन्द्रमाको मिसनमा एक महिला, एक अश्वेत र एक गैर-अमेरिकी यात्रीले सँगै यात्रा तय गरेका छन्। क्रिस्टिना कोच चन्द्रमाको यात्रामा निस्कने पहिलो महिला बनेकी छन् भने भिक्टर ग्लोभर पहिलो अश्वेत व्यक्ति। उनीहरूसँगै क्यानडाका जेरेमी ह्यान्सन चन्द्रमासम्म पुग्ने पहिलो गैर-अमेरिकी नागरिकका रूपमा इतिहासमा दरिएका छन्।

अहिले अन्तरिक्षयानमा रहेका चार यात्रीहरूले पृथ्वीको फन्को लगाउँदै सबै प्राविधिक संयन्त्रको सूक्ष्म जाँच गरिरहेका छन्। नासाका अधिकारीहरूका अनुसार सुरुवाती २४ घण्टा 'लाइफ सपोर्ट सिस्टम' र सञ्चार उपकरणको परीक्षणमा बित्नेछ। सबै कुरा 'ग्रिन सिग्नल' मा रहेपछि मात्र यो यानले पृथ्वीको माया मारेर चन्द्रमातर्फको यात्रा तय गर्नेछ।

अन्तरिक्षको त्यो सुनसान गहिराइबाट कमान्डर रिड वाइजमनले भुइँमा रहेका नियन्त्रकहरूलाई भनेका छन्, 'दृश्य भव्य छ। हामीले गजबको चन्द्रोदय देख्यौँ उनीहरू उच्च मनोबलका साथ अघि बढिरहेका छन्।'

१० दिन लामो यो मिसनमा यात्रीहरूले चन्द्रमाको सतहमा पाइला भने टेक्ने छैनन्। उनीहरूको मुख्य काम चन्द्रमाको परिक्रमा गर्नु र भविष्यमा मानिसलाई उतार्न प्रयोग गरिने प्रविधिहरूको परीक्षण गर्नु हो। यस यात्राको एउटा रोचक पक्ष के छ भने, यो यान चन्द्रमाको पछाडिको भागबाट ४,६०० माइल टाढासम्म पुग्नेछ, जुन मानव इतिहासमा पृथ्वीबाट सबैभन्दा टाढा पुगेको बिन्दु हुनेछ।

चन्द्रमामा बेस क्याम्प: मंगल ग्रहको लागि सुरक्षित सिँढी

नासाको आँखा अहिले पृथ्वीको छिमेकी ग्रह मंगलमा अडिएको छ। सन् २०३० को दशकभित्रै मानिसलाई मंगल ग्रहमा उतार्ने एउटा ठूलो सपना नासाले बुनिरहेको छ। तर, अन्तरिक्ष विज्ञानका जटिलता र प्राविधिक चुनौतीहरूलाई नजिकबाट हेर्ने हो भने, यो समयसीमा निकै महत्वाकांक्षी देखिन्छ। कतै पुग्नका लागि कतैबाट त सुरुवात गर्नैपर्छ। र, नासाले त्यो प्रस्थान बिन्दु चन्द्रमालाई रोजेको छ।

लन्डनस्थित साइन्स म्युजियममा अन्तरिक्ष विभागकी प्रमुख लिबी ज्याक्सन यसलाई यसरी बुझाउँछिन्— 'चन्द्रमामा जानु र त्यहाँ लामो समयसम्म बस्नु भनेको अर्कै ग्रहमा कसरी बाँच्ने र काम गर्ने भनेर सिक्ने सबैभन्दा सुरक्षित, सस्तो र सजिलो प्रयोगशाला हो।'

यो मिसन वास्तवमा एउटा ठूलो तयारी हो। यदि 'आर्टिमिस २' सफल भयो भने, नासाले आगामी 'आर्टिमिस ३' मिसनमार्फत सन् २०२६ सम्ममा चन्द्रमाको दक्षिणी ध्रुवमा पहिलो पटक मानिसलाई उतार्ने लक्ष्य राखेको छ। मिसन विशेषज्ञ कोचले बताए अनुसार, उनीहरूले करिब तीन घण्टासम्म चन्द्रमाको सतहको सूक्ष्म अध्ययन गर्नेछन्। 

जोखिमको व्यवस्थापन

चन्द्रमामा बनाइने 'बेस क्याम्प'मा नासाले ती प्रविधिहरूलाई माझ्ने अवसर पाउनेछ, जसले अन्तरिक्ष यात्रीका लागि अत्यावश्यक हावा र पानी उपलब्ध गराउन सकून्। त्यति मात्र होइन, चन्द्रमाको अत्यधिक तापक्रम र खतरनाक रेडिएसनबाट मानिस कसरी जोगिने र त्यहाँ ऊर्जा कसरी पैदा गर्ने भन्ने प्रश्नको उत्तर पनि त्यहीँ खोजिनेछ।

ज्याक्सनका अनुसार यी सबै प्रविधिहरूलाई सीधै मंगल ग्रहमा परीक्षण गर्नु निकै जोखिमपूर्ण हुन्छ। 'यदि पहिलो पटक मंगलमै यी कुराहरू परीक्षण गर्दा केही गडबडी भयो भने त्यसले ठूलो विनाश निम्त्याउन सक्छ,लिबी ज्याक्सन भन्छिन्, 'त्यसैले यी प्रयोगका लागि चन्द्रमा नै सबैभन्दा सुरक्षित र भरपर्दो ठाउँ हो।' जब चन्द्रमाको जग बलियो हुन्छ, तब मात्र मंगलको यात्रा सुरक्षित हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad