बहुराष्ट्रिय सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्म्सले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा सशुल्क 'प्रिमियम सब्सक्रिप्सन' योजना ल्याउने तयारी थालेको छ। कम्पनीले आगामी केही महिनाभित्रै विभिन्न देशहरूमा परीक्षणका रूपमा यो योजना कार्यान्वयनमा ल्याउने भएको हो।
मेटाले भर्खरै करिब दुई अर्ब डलरमा खरिद गरेको सिंगापुरस्थित एआई स्टार्टअप 'म्यानस'का आधुनिक एआई एजेन्टलाई यस प्रिमियम सेवाको मुख्य हिस्सा बनाउनेछ। यी एआई एजेन्टले न्यूनतम मानवीय सहयोगमै जटिल कार्यहरू जस्तै– यात्राको योजना बनाउने वा प्रिजेन्टेसन तयार पार्ने काम गर्नेछन्। यो बाहेक एआई भिडिओ टुलका एड्भान्स फिचर प्रयोग गर्न पनि प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने हुन सक्छ।
ह्वाट्सएपमा भने कम्पनीले विज्ञापनरहित अनुभवका लागि मासिक शुल्कको मोडल ल्याउँदैछ। हालै एपको नयाँ संस्करणमा स्टाटस र च्यानल खण्डमा विज्ञापन देखिन थालेका छन्, जसलाई हटाउन सब्सक्रिप्सन अनिवार्य हुने देखिन्छ। यस्तै, फेसबुकमा निश्चित संख्याभन्दा बढी 'लिङ्क' भएका पोस्ट सेयर गर्नका लागि पनि शुल्क लाग्न सक्ने गरी अमेरिका र बेलायतमा परीक्षण सुरु भएको छ।
मेटाले यो नयाँ योजना 'मेटा भेरिफाइड' भन्दा फरक र अतिरिक्त सेवा भएको स्पष्ट पारेको छ। ओपनएआई र गुगल जस्ता प्रतिस्पर्धीहरूसँगको एआई दौडमा अघि बढ्न मेटाले आफ्नो व्यापारिक मोडलमा यो ठूलो परिवर्तन ल्याउन लागेको हो।
एपहरूमा आधारभूत सेवाहरू भने यथावत रूपमा निःशुल्क नै रहने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया