नेकपा एमालेबाट निकालिएपछि 'मातृभूमि जागरण अभियान' घोषणा गरेका नेता डा. भीम रावल यही कात्तिक २६ गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध भएका छन्।
पुष्पकमल दाहाल (प्रचण्ड) संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेकपामा रावल सातबुँदे एकता सहमतिपत्रमा हस्ताक्षर गर्दै सामेल भएका हुन्।
एमालेका पूर्वउपाध्यक्ष एवं सुदूरपश्चिमका एक प्रभावशाली वामपन्थी नेता रावल भित्र्याएपछि नवगठित नेकपा पंक्ति उत्साहित भएको छ।
एमालेको १०औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदमा भिडेपछि रावल चेपुवामा पर्दै आएका थिए। २०७९ को आमनिर्वाचनमा अछाममा टिकट नै खोसिएपछि उनी एमालेमा निष्क्रिय थिए।
उनै रावललाई एमालेले २०८१ पुस १० मा साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि आफ्नो नेतृत्वमा मातृभूमि जागरण अभियान सुरु गरेका थिए।
लामो समय पार्टी राजनीतिमा निष्क्रिय रहेका रावल एमाले हुँदै नेकपाकालीन सहयात्री प्रचण्ड र नेपालसँग सहयात्रामा पुनः जोडिएका हुन्।
कुनै समय एमाले र नेकपाको राजनीति रावलकै वरिपरि घुम्थ्यो, उनकै दबदबा रहन्थ्यो।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ११ वाम दल मिलेर बनेको नेकपामा आबद्ध भएपछि रावलको विरासत फर्किएला? सर्वत्र चासो छ।
रावलसँगै एमाले नेता तथा सुदूरपश्चिमका पूर्वअर्थमन्त्री प्रकाश शाह पनि नेकपामा सहभागी भएका छन्।
रावलको आगमनले उत्साहित नेकपाका नेता-कार्यकर्ताले उनलाई सुदूरपश्चिमको नेतृत्व अभाव टार्ने विकल्पका रूपमा हेरेका छन्।
रावलको आगमनले सुदूरपश्चिम प्रदेश नेतृत्व संकटको संघारमा पुगिरहेको वर्तमान अवस्थाको अन्त्य भएको नेकपा नेता ओमविक्रम भाट बताउँछन्।
‘सुदूरपश्चिममा मूलधारका प्रमुख दलहरू नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र नेकपा एमाले नै हुन्। तर तीनवटै दलमा प्रादेशिक रूपमा मूल नेतृत्वको संकट व्याप्त छ,’ उनी भन्छन्, ‘कांग्रेस सभापति देउवाले सक्रिय राजनीतिबाट विश्राम लिने भनेसँगै सुदूरपश्चिममा नेतृत्व संकट परेको थियो। नेकपामा उहाँ (रावल) समायोजन भएसँगै सुदूरपश्चिमको नेतृत्वको संकट अब रहेन।’
रावलको व्यक्तित्व र अडानले सुदूरपश्चिम प्रदेश स्तरमा मात्र नभएर राष्ट्रिय स्तरमा हस्तक्षेपकारी भूमिकासमेत रहने निश्चित भएको दाबी उनी गर्छन्। यससँगै सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी अग्रस्थानमा हुनुका साथै अबको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने दाबी पनि उनले गरे।
रावल आबद्ध भएपछि सुदूरपश्चिममा नेकपाभित्र उत्साहका साथै एमाले प्रतीरक्षात्मक अवस्थामा पुगेको छ।
एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले रावल नेकपामा प्रवेश गरेपछि सुदूरपश्चिममा नेकपा एमालेको पहिलो पुस्ता पार्टीमा नरहेको बताए। पछिल्लो पुस्ताको ठूलो हिस्सा पार्टीसँग नजोडिएको र जोड्न कोही लागि नपरेको उनको भनाइ छ।
‘बरु भइरहेकाहरूलाई खेद्न एउटा पंक्तिको रहस्यमय सक्रियता रहेकै छ,’ रावल नेकपामा सामेल भएपछि उनले भनेका छन्, ‘पार्टीभित्र रहँदा मतभिन्नता र आन्तरिक संघर्ष हुन्छ। अलिअलि मन मुटाव पनि स्वाभाविकै हुन्छ। तर नियोजित रूपमा पार्टीमा बस्न नदिने व्यवहार कुनै दृष्टिकोणले पनि उचित हुन सक्दैन।’
रावलले नेकपासँग सहयात्रा सुरु गरेपछि उनलाई नेता मान्दै आएका निकटस्थ गृहजिल्ला अछामसहित सुदूरपश्चिमका कार्यकर्ताहरूमा नयाँ आशा जगाएको बताउने गरेका छन्।
Shares

प्रतिक्रिया