ad ad

राजनीति


प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा लैजान खोजे: शंकर पोखरेल

प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा लैजान खोजे: शंकर पोखरेल

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १३:०, सुर्खेत

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहाेर्‍याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्। 

प्रेस चौतारी कर्णाली प्रदेशले बिहीबार सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन्।

‘माओवादी अध्यक्ष प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेकखाले अस्थिरता मच्याउने काम भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्ष दलका नेता प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ। प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन। यो लोकतान्त्रिक हुन सक्दैन।’

आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको तर्क गर्दै उनले राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र भए पुग्ने प्रतिक्रिया दिए । तर कांग्रेस एमालेले दुई दलीय व्यवस्थाको वकालत नगरेको उनको भनाई थियो। 

‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन। मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको मात्रै हो। अमेरिकामा सयौँ वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ। संसद्को जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र? तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ,’  पोखरेलले भने, ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन बलिया दुई दल भए पुग्छ भनेको हो। मुख्य त दुई विचार पूँजीवादको सुधार कि समाजवाद भन्ने नै हो।’

अर्को फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय (गगन थापा र विश्वप्रकाश शर्मा) असन्तुष्ट रहेको भन्ने कुरा बनावटी भएको दाबी गरे। 

‘उहाँहरुले बाहिर आएर भनेको सुनेका छौँ र? कथा बनाइयो। कांग्रेसको औपचारिक निर्णय–यो समीकरण कांग्रेसको मेहनतको परिणाम भन्ने छ। महामन्त्रीको सहमतिविपरीत पार्टीको त्यो निर्णय भएको होला?’ पोखरेलले भने। 

उनले २०८४ मा एमालेलाई देशकै बलियो र राष्ट्रिय शक्तिशाली पार्टी बनाएरै छाड्ने दाबी गरे। 

युवाहरूमा निकै निराशा बढेको भन्दै उनले युवालाई तत्कालै राज्यले रोजगारी दिने अवस्था पनि अहिले नरहेको बताए। त्यसका लागि सबै तहका सरकारले काम गर्नुपर्ने र निराशालाई चिर्न राज्य तयार हुनुपर्नेमा पोखरेलले जोड थियो।  

काठमाडौँका मेयर बालेन साह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको टकरावलाई लिएर पोखरेलले बालेनले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न आवश्यक नभएको तर्क गरे।  बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको उनको भनाई थियो। 

नेकपा (एमाले) कर्णाली प्रदेशको सचिवालय बैठकलाई संवोधन गर्न पोखरेल सुर्खेत पुगेका हुन्। उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजग शाहले दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .