ad ad

राजनीति


तेस्रो प्रयासमा सुदूरपश्चिमले पायो सभामुख, सत्ता गठबन्धनले जुटायो बहुमत

तेस्रो प्रयासमा सुदूरपश्चिमले पायो सभामुख, सत्ता गठबन्धनले जुटायो बहुमत

सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा निर्वाचित भीमबहादुर भण्डारी


गोकुल जोशी
माघ ३, २०७९ मंगलबार ११:२०, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशसभामा एमाले नेतृत्वको सत्ता गठबन्धन तेस्रो प्रयासमा सभामुख पदका लागि बहुमत जुटाउन सफल भएको छ। 

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार भीमबहादुर भण्डारी प्रदेशसभाबाट बहुमत पाएर सभामुख चयन भएका हुन्। 

तेस्रोपटक मंगलबार प्रदेशसभामा भएको मतविभाजनमा भण्डारीका पक्षमा २९ मत खस्यो। उनका विपक्षमा २३ मत खस्यो। 

सभामुख चयनका लागि भएको मतदानमा ५२ सांसद सहभागी थिए। माओवादीका नेता भण्डारीलाई सत्तारुढ एमाले, नागरिक उन्मुक्ति र राप्रपाले मत दिएका हुन्।

माओवादीका नेता भण्डारीलाई सभामुख चयनका लागि प्रदेशसभामा दर्ता प्रस्तावका पक्षमा तत्काल कायम प्रदेशसभा सदस्यको बहुमत मत खसेकाले सभाध्यक्ष शिवराज भट्टले भण्डारी सभामुख चयन भएको घोषणा गरे।

अर्को बैठक मंगलबारै दिउँसो १ बजे बस्ने छ।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १९, नेकपा एकीकृत समाजवादी ४ र  एक स्वतन्त्र सांसद प्रतिपक्षमा छन्। 

नेकपा माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपा १ गरेर सत्तारुढ गठबन्धनका पक्षमा २९ सांसद छन्।

कांग्रेसका मानबहादुर रावललाई सभामुख चयनका लागि प्रदेशसभामा दर्ता प्रस्तावमा मतदान हुँदा पक्षमा २० मत मात्रै खसेको थियो। विपक्षमा २८ मत खसेको थियो।

रावललाई प्रदेशसभामा तत्काल कायम सांसदको बहुमत नपुगेकाले सभामुख चयनका लागि दर्ता प्रस्ताव अस्विकृत भएको थियो। 

यसअघि २८ पुसमा पहिलोपटक भएको मतदानमा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार भण्डारीका पक्षमा २६ र कांग्रेसका नेता रावलका पक्षमा २३ मत खसेका थिए।

त्यसदिन एमालेका चक्र मल्ल र नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी बैठकमा उपस्थित भएनन् भने सत्ता गठबन्धनको एक मत बदर भएको थियो।

त्यसपछि दोस्रोपटक ३० पुसमा भएको सभामुखको मतदानमा सत्ता नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा कसैलाई बहुमत जुटेन। त्यसदिन भण्डारी र रावलको पक्षमा २२/२२ मत खसेको थियो।

पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र त्यसपछि सभामुखले उपसभामुखको निर्वाचन गराइसक्नु पर्ने संवैधानिक व्यवस्था छ।

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक १८ पुसमा बसेको थियो। लामो रस्साकस्सीपछि सुदूरपश्चिम प्रदेशसभाले सभामुख पाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .