ad ad

राजनीति


मंसिरमा नेपालीको चटारो, चुनावी परिणाम हेर्ने कि विश्वकप फुटबल

मंसिरमा नेपालीको चटारो, चुनावी परिणाम हेर्ने कि विश्वकप फुटबल

नेपालखबर
साउन १९, २०७९ बिहिबार १९:५४, काठमाडौँ

नेपाली कृषकहरुले भकारी भर्ने महिना हो मंसिर, यसबेला नेपालीहरु खेत खेतमा व्यस्त हुन्छन्।

मानो रोपेको अन्न मुरीका रुपमा भित्र्याउन कृषकलाई यस बेला भ्याइनभ्याइ हुन्छ। यो महिना बिहेको उस्तै चटारो हुन्छ। 

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यो मंसिरमा बिहेका ८ र ब्रतबन्धका २ वटा लगन रहेका छन्। 

एकातिर बिहे र ब्रतबन्ध अर्कातिर धान भित्र्याउने चटारो। यही मारामारकै बेला नेपाली मतदाताले आगामी ५ वर्षका लागि आफ्ना सांसद पनि छान्नुपर्ने भएको छ।

सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते गर्ने निर्णय गरेसँगै धान थन्क्याउने, चुनावमा भाग लिने र विश्वकप हेर्ने समय एकै पटक आइलागेको छ।

मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएलगत्तै ५ गतेदेखि फुटबलको महाकुम्भ विश्वकप कतारमा सुरु हुनेछ।

सांसद छान्न भोट हालेलगत्तै कतार विश्वकप सुरु हुने भएपछि नेपालीलाई पनि व्यस्त बनाउने भएको छ। विश्वकप फुटबल खेल्ने सपना पूरा नभए पनि नेपालमा धेरै फ्यान यही खेलका छन्। 

चुनावी परिणाम आइरहेका बेला विश्वकपको ग्रुप स्टेजमा हारजितका परिणाम पनि आउन थाल्नेछन्। 

चुनावकै दिन सबै मतपेटिका सदरमुकाम पुगेमा सबैभन्दा कम जनसंख्या भएका मनाङ, मुस्ताङसहितका जिल्लाको परिणाम सार्वजनिक हुन थाल्छ।

त्यसपछि मंसिर ५ गतेदेखि अधिकांश जिल्ला र निर्वाचन क्षेत्रको मतगणना सुरु भइसक्छ। ठीक यही बेला विश्वका सबैको ध्यान खिच्ने वर्ल्डकप पनि सुरु हुन्छ।

उद्घाटन खेलमा आयोजक नेदरल्याण्ड र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ। कतार र नेपालबीचको समय झण्डै तीन घण्टा फरक छ। 

नेपालको समयअनुसार राति ९ बजेपछि मात्रै कतारमा खेल सुरु हुनेछन्।

ठीक त्यही समयमा नेपालमा प्रतिनिधि सभा र प्रदेश सभाको नतिजा पनि आउन थाल्छ। 

नेपालीहरुलाई व्यस्त बनाउने यो समयमा चुनावी नतिजा हेर्ने कि विश्वकप? अहिले यही चर्चा युवाहरु र अन्य मतदातामाझ सुरु भएको छ।

चुनावी मिति घोषणा भएपछि युवाहरुले सामाजिक सञ्जालमा आफ्नो मत दिन थालिसकेका छन्। 

उनीहरुको निष्कर्ष छ,‘हामीलाई चुनावी परिणामको मतलव छैन, विश्वकप फुटबल हेरेर आनन्द लिने हो।’

तर, राजनीतिक दल, तिनका भ्रातृ संगठनमा आवद्ध युवाहरु चुनावलाई प्राथमिकता दिने बताउँछन्। 

पाँच वर्षका लागि जनप्रतिनिधि छान्ने भएकोले सबै शक्ति चुनावमा केन्द्रित गर्ने सोचमा रहेको उनीहरु बताउँछन्।

विश्वमै सबैभन्दा लोकप्रिय फुटबलको महाकुम्भ पनि चार–चार वर्षमा हुने भएकोले यसलाई खेल प्रेमीहरू मिस गर्ने पक्षमा छैनन्। 

यस्तै एकजना खेल प्रेमी हुन् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ। उनलाई अहिलेदेखि नै विश्वकप फुटबल र चुनाव लागिसकेको छ।

यस पटकको चुनावमा उनी इलामबाटै उठ्ने तयारीमा छन्। अर्कातिर एक पटक अर्जेन्टिना र आफ्ना प्रिय फुटबलर लियोनेल मेस्सीले विश्वकप उपाधि जितेको हेर्न चाहन्छन्।

उनले केही समयअघि यस पटकको विश्वकप मेस्सीको टिमले नै उचाल्ने विश्वास आफूलाई लागेको बताएका थिए। 

संसदीय निर्वाचन र विश्वकप फुटबल एकैसाथ हुँदा अरु नेता पनि उत्साहित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .