कोरोना संक्रमण भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा भर्ना भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनको सामान्य ‘सपोर्ट’मा राखिएको छ।
शनिबार राति विज्ञप्ति प्रकाशन गरी नर्भिकले उनलाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको र बाँकी स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको हो।
‘कोरोना संक्रमण भई उहाँ शनिबार साँझदेखि नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ। बाँकी स्वास्थ्य अवस्था सामान्य छ।’
यस्तै नेता खनालको निजी सचिवालयले खनालमा कोरोनाका सामान्य लक्षण देखिएकाले अस्पताल भर्ना गरिएको जानकारी दिएको छ।
शनिबार साँझ सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको सबैमा जानकारी गराउँदछौं।’

प्रतिक्रिया