नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधि सभा विघटनसम्बन्धी विषयमा सर्वोच्च अदालतबाट फैसला नआउन्जेल पार्टीको कुनै पक्षमा पनि नखुल्ने संकेत गरेका छन्।
आफूलाई भेट्न आएका निकट नेताहरुसँग गौतमले त्यस्तो जनाउ दिएका हुन्।
पार्टीका बहुमत सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्नुका साथै वरिष्ठ नेता माधवकुमार नेपाललाई नयाँ अध्यक्ष र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसक्दा पनि गौतम कुनै पक्षतर्फ पनि सहभागी नभएपछि उनी निकटका नेताहरु बिभिन्न समूहमा उनलाई भेट्न गएका थिए।
गौतमसँग मंगलबार र बुधबार भेट गरेका नेताहरुले उनले अझै पनि पार्टी एकता गराउन सकिन्छ की भन्ने झिनो आशा व्यक्त गरेको बताए।
त्योभन्दा प्रमुख कुरा उनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको विषय अदालतमा पुगेको हुँदा त्यसबारे फैसला नहुन्जेलसम्म आफू पार्टीका विभाजित कुनै समूहतर्फ नखुल्ने पक्षमा रहेको बताए।
उपाध्यक्ष गौतमलाई भेट्न भैसेपाटीस्थित उनकै निवासमा दैनिकजसो नेता तथा कार्यकर्ता भेट्न पुगिरहेको उनीनिकट नेताहरुले बताएका छन्।
पछिल्लो समय उनी कुनै पक्षमा नखुलेपछि उनको धारणा बुझ्न र आफ्नो पक्षमा लाग्न आग्रह गर्न आउने क्रम झन् बढेको छ।
‘पार्टीलाई अझै पनि एक गराउन सकिन्छ की भन्ने आशा छ, त्यसैले उहाँ अहिले तत्काल खुल्ने पक्षमा हुनुहुन्न,’ गौतमनिकट केन्द्रीय सदस्य हरि पराजुलीले भने, ‘हामीसँगको कुराकानीमा उहाँले कम्तिमा सर्वोच्च अदालतको फैसला नआउन्जेलसम्म कुनै पक्षतर्फ नलाग्ने बताउनुभएको छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचन घोषणा गरेको विषयमा सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले त्यससम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाएको छ।
शुक्रबारबाट संवैधानिक इजलासमा यस विषयमा सुनुवाइ हुनेछ।
पराजुलीका अनुसार गौतमलाई भेट्न दैनिकरुपमा पाँच–सात वटा समूह आउने गरेका छन्।
गौतमले यस विषयमा कानुन व्यवसायीहरुसँग पनि निरन्तर सम्पर्क र परामर्श गरिरहेका छन्।
बुधबार मात्रै केशवलाल श्रेष्ठ, बलदेव चौधरी, लालबहादुर थापा, भूपेन्द्र थापा, लक्ष्मण ज्ञवालीसहितको टोलीले उनलाई भेट गरेको थियो।
त्यसैगरी केन्द्रीय सदस्यहरु जीवनराम श्रेष्ठ, रामकुमार झाक्री, गणेश पहाडी, दीपकप्रकाश भट्टसहितका नेताहरुको समुहले पनि बुधबार नै उनीसँग भेट गरेका थिए।
‘गौतमले आफू अझै पार्टी एकता नै हुनुपर्छ भनेर लागिरहेको हुँदा कतै पनि नलागेको बताउनु भयो’ श्रेष्ठले भने, ‘उहाँलाई बालुवाटार (ओली पक्षबाट) पनि राम्रै प्रस्ताव आएको रहेछ। तर आफू त्यस्ता आश्वासनमा नफस्ने बताउनु भयो।’
केहि महिनादेखि जारी पार्टीको विवादमा उपाध्यक्ष गौतम निरन्तर प्रचण्ड–नेपाल पक्षमा रहँदै आएका थिए।
ओलीलाई साथ दिँदै आएका गौतम पछिल्लो समय उनीसँग असन्तुष्ट थिए।
तर, ओलीले प्रतिनिधि सभा विघटन गर्ने कदम चालेपछि पार्टी विभाजनको प्रक्रियामा गएको छ।
ओली नेतृत्वको समूह र प्रचण्ड–नेपाल समूहले पार्टीका समानान्तर समिति र नेतृत्व चयन समेत गर्न थालेपछि गौतम भने कतैतर्फ पनि सहभागी भएका छैनन्।
उनलाई दुवै समुहले आफूतर्फ तान्ने प्रयास गरिरहेका छन् भने सार्वजनिक भेलामा उनी सहभागी नभएपछि उनीनिकट नेताहरु उनको सल्लाह लिन निवासमै पुग्ने गरेका हुन्।
Shares
प्रतिक्रिया