नेपाली कांग्रेसले आगामी फागुन २१ को निर्वाचनका लागि चुनावी सभा मधेस प्रदेशको राजनधानी जनकपुरबाट थालेको छ। फागुन ६ गते धनुषाको जनकपुरस्थित तरहुतिया गाछी मैदानमा आयोजित प्रतिज्ञा सभामार्फत देश निर्माणको एजेन्डा र मधेसमा पार्टी एकताको सन्देश दिएको छ।
कांग्रेस मधेस प्रदेश कार्यसमितिले आयोजना गरेको सभामा पार्टीभित्रको आन्तरिक एकता दर्शाउन भगिरथ प्रयास गरेको देखिन्थ्यो। सभापति गगन थापा दिउँसो साढे २ बजे सभास्थलमा पुगेका थिए भने त्यसपछि पूर्वउपसभापति विमलेन्द्र निधि पनि मञ्चमा प्रवेश गरेका थिए।
पँलेटी कसेर बसेका सभापति थापालाई उठाएर निधिले अंकमाल गरे। दर्शक दीर्घातिर अगाडि बढेर हात हल्लाउँदै एकताको सन्देश फिजाउने उनीहरूको कोशिस देखिन्थ्यो। सभापति थापाले गत माघ १६ गते जनपुरको थापाचोकस्थित प्रदेश कार्यालयमा मधेसका ३२ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसँग अन्तक्रिया राख्दा निधि अनुपस्थित थिए। 
कांग्रेसमा विशेष महाधिवेशनबाट थापा नेतृत्वमा आए पनि तत्कालीन संस्थापन पक्षले अझै पूर्णरुपमा स्वीकार गरेको छैन। सभापति थापाको हातबाट टिकट लिएर चुनावी मैदानमा उत्रिँदा पनि नेतृत्व स्वीकार्न विशेष महाधिवेशनको खरो विरोधी निधिमा संकोच देखिन्थ्यो। मञ्चमा सभापति र उपसभापतिपछिको आसन र भाषणामा निधिलाई राखिएको थियो।
दुई वर्षअघि कांग्रेस मधेस प्रदेश सम्मेलनमा आसनको वरियता नमिलेपछि निधिले मञ्च शेयर गरेका थिएनन्। त्यतिवेला दर्शक दीर्घामै बसेर कार्यक्रम स्थलबाट बीचमै बाहिरिएका थिए।
प्रतिज्ञा सभामा कांग्रसको विशेष महाधिवेशनपछि परिस्थितिलाई मध्यनजर गरी आशन र भाषणको व्यवस्था मिलाउँदा चुनावमा पार्टीभित्र एकताको सन्देश प्रवाह हुने देखिन्छ। तत्कालीन संस्थापन पक्षीय पूर्वसहमहामन्त्री महेन्द्र यादव र पुराना नेता रमेश रिजाल पनि एकताको सन्देश दिने गरी प्रस्तुत भएका थिए।
कार्यक्रममा सभापति थापाले राजा जनकले सीताको विवाहका लागि लिएको प्रतिज्ञा स्मरण गरेका थिए। ‘राजा जनकले कुनै वेला यही ठाउँमा एउटा घोषणा गर्नुभयो। जसले शिवधनुष उठाउन सक्छ, उससँग मात्रै सीता माईको विवाह हुनसक्छ । एक सय एक राजाहरू आए। उठाउन सकेनन्। सीता माईको विवाह नहुने भयो। दरबारका सबै आत्तिए। राजा जनकलाई उनीहरूले भन्न थाले महाराज नियम बदलिदिनुस्। महाराजलाई दण्ड कसैले दिँदैन। राजा जनकले भन्नुभयो- बरु सीता अविवाहित बस्छिन्, नियम बदलिँदैन। पछि भगवान श्रीराम आउनुभयो। धनुष उठाउनुभयो। सीता माईको विवाह भयो,’ उनले सुनाए । 
त्यो शक्तिको नभइ राजा जनकको प्रतिज्ञाको विजय थियो भन्दै कांग्रेस पनि आफ्नो प्रतिज्ञामा प्रतिबद्ध रहने सभापति थापाले बताए। ‘आज यो जनकको भूमिमा कुनै बाचा गर्न आएको होइन। नेपाली कांग्रेसको तर्फबाट प्रतिज्ञा गर्न आएको हुँ। यो प्रतिज्ञामा जे जे कुरा लेखिएको छ। यसको अक्षरश पाँच वर्ष कांग्रेसका सबैले पालना गर्नेछन्,’ थापाको प्रतिबद्धता थियो, ‘सरकारमा हुँदा होस् वा सडकमा, कांग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि पछि हट्नेछैन। हामीले २७ वटा क्षेत्रमा ७ वर्ष लगाएर अध्ययन गरी यो प्रतिज्ञा तयार पारेका छौँ।’
यस्तै कांग्रेस एक्लैले देश बदल्ने नभइ ‘टिम नेपाल’को अवधारणा थापाले अघि सारेका थिए। ‘यो टिमले अर्को पार्टीलाई होइन, नेपालको कुशासन, गरिबी र बेरोजगारीलाई हराउनेछ। टिम नेपालको कांग्रेसले नेतृत्व गर्छ । तर, यसमा एमाले, माओवादी, रास्वपा र जसपा सबै अटाउँछन्,’ उनले भने।
पार्टीमा जस्तै संसदमा सहभागी सबैको नेतृत्व कांग्रेसले गरेर देशको समुन्नतिमा लाग्ने उनको भनाइ थियो। कांग्रेसबाट भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारिएका थापाले मधेसको कृषि, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ उठाएका थिए। उनले मधेसको खस्किँदो शैक्षिकस्तरप्रति चिन्ता व्यक्त गर्दै गणित र विज्ञानको पढाइ सुधार्ने विशेष योजना सुनाए।

स्वास्थ्य क्षेत्रमा ‘एक रुपैयाँ तिर्नु नपर्ने’ स्वास्थ्य बीमा प्रणालीको विकास गर्ने उनको भनाइ थियो। कतारमा पसिना बगाएर कमाएको पैसा आमाको उपचारमा सकिने दिनको अन्त्य गर्ने थापाको प्रतिबद्धता थियो। मधेसका उखु र आलु किसानको समस्यालाई नजिकबाट नियालेको बताउँदै यस दशकलाई ‘किसानको दशक’ बनाउने थापाको प्रतिज्ञा थियो।
वैदेशिक रोजगारीमा रहेका युवाका लागि सरकारले दूतावासमार्फत विशेष हेरचाह गर्ने र उनीहरू फर्किंदा कुनै न कुनै व्यवसायको मालिक बन्ने वातावरण निर्माण गर्ने उनको भनाइ थियो। ‘चार खर्बको कृषि उपज आयात गर्ने देशलाई हामी आफ्नै उत्पादनले आत्मनिर्भर बनाउनेछौँ,’ थापाले भने, ‘नेपालमै रोजगारीको ग्यारेन्टी गर्छौँ।’
Shares

प्रतिक्रिया