राजनीति


तुरुन्तै विश्वासको मत लिने तयारीमा मधेसका मुख्यमन्त्री सोनल

जनकपुरमा सत्तापक्ष दलको बैठक बस्दै
तुरुन्तै विश्वासको मत लिने तयारीमा मधेसका मुख्यमन्त्री सोनल

फाइल तस्बिर


नेपालखबर
कात्तिक १२, २०८२ बुधबार ९:२१, काठमाडौँ

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारी गरेका छन्। 

एकदुई भित्रै मधेस प्रदेशसभाबाट विश्वासको मत लिने सोनलको तयारी छ। त्यसको लागि जनकपुरमा आज उनले सरकारलाई समर्थन गर्ने गठबन्धन दलको बैठक बोलाएका छन्। 

‘म तुरुन्तै विश्वासको मत लिने तयारीमा छु,’ मुख्यमन्त्री सोनले बुधबार बिहान नेपालखबरसँग भने, ‘त्यसको लागि आज दिउँसाे गठबन्धनमा सहभागी दलको बैठक बस्दैछ। विश्वासको मत लिएलगत्तै मन्त्रिपरिष्द पनि विस्तार हुनेछ।’

उनले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा सहभागी सबै दललाई आग्रह गरेको बताए।

‘सबै दललाई विश्वासको मतको लागि आग्रह गरेको छु। कांग्रेस-एमालेलाई पनि मेरो यही आग्रह छ,’ उनले भने, ‘सहकार्य र समन्वयको आधारमा प्रदेशलाई अघि बढाऔँ भन्ने मेरो प्रस्ताव छ। मेरो चाहना, भावना र आग्रह सबै दलसँग यही हो।’

पाँच दलको समर्थनमा गएको असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता सोनलले असोज ३० गते पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए। शपथ ग्रहणकै दिन दुईमन्त्री नियुक्त गरेका सोनलले अझै मन्त्रिपरिषद् बिस्तार गरेका छैनन्। 

शपथ ग्रहणलगत्तै तिहार तथा छठ पर्व परेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको उनले बताए। 

हाल मधेस सरकारमा जनमत पार्टीबाट महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिस पटेल मन्त्री छन्। उनीहरूको मन्त्रालय पनि अझै टुंगिसकेको छैन। 

मधेसमा गठबन्धनको सबैभन्दा ठूलो दल जसपाले चार मन्त्रालय पाउने सहमती छ। त्यसैगरि जनमतले पनि चारवटै मन्त्रालयमा दाबी गरेको छ। तर उसले तीनवटा मन्त्रालय पाउने सम्भावना छ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने सहमति पाँच दलबीच भएको छ। लोसपाबाट सोनल मुख्यमन्त्री भएकाले सो दललाई अन्य मन्त्रालय नदिने तयारी अन्य दलको छ। 

मधेसमा सरकार गठनको निर्णायक शक्तिको रुपमा रहेको जनमत आन्तरिक विवादको कारण विभाजित बनेको छ। सोनललाई समर्थन गरेको जनमतका दुई सांसदले फरक दल रोजेका छन्। 

यसले पनि मुख्यमन्त्री सोनललाई विश्वासको मत प्राप्त हुनेमा कतिपयले आशंका व्यक्त गरिरहेका छन्। 

तर, मुख्यमन्त्री सोनल भने जनमतको विभाजनले सरकारलाई कुनै समस्या नपर्ने दाबी गरे। 

‘जनमतका नेताहरू आन्तरिक विवाद मिलाउने प्रयासमा हुनुहुन्छ। विधि र प्रक्रियाबाट उहाँहरूले विवाद मिलाउनु हुन्छ। त्यसले सरकारलाई अप्ठ्यारो पर्दैन,’ सोनले भने। 

मधेसमा कांग्रेस र एमालेलाई सत्ता बाहिर राखेर अन्य साना दलले सरकार गठन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad