राजनीति


मधेस प्रदेशसभामा ओलीले भने: लोकतन्त्रलाई बलियो बनाउनुपर्छ

मधेस प्रदेशसभामा ओलीले भने: लोकतन्त्रलाई बलियो बनाउनुपर्छ

नेपालखबर
चैत २६, २०८१ मंगलबार १३:४१, जनकपुर

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन्। 

मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ नहुने स्पष्ट गर्दै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आह्वान गरेका हुन्। 

'सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हाम्रो उपलब्धि हो। यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका मात्रै होइन जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिका रुपमा लिनुपर्छ। त्यसकारण हाम्रा प्रयासहरू जनताको सेवामा समर्पित हुनुपर्छ। परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्नुपर्छ,' उनले भने, 'जनताले परिवर्तनको उपलब्धि आफ्नो पेट, आफ्नो आङ र सन्ततिको हितमा खोज्छ। त्यसकारण हामीले जनताको जीवनमा लोकतन्त्र दिनुपर्छ। सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ। त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लैजानैपर्छ।'

प्रधानमन्त्री ओलीले मधेस प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको उल्लेख गर्दै यहाँका अनुशासित, चेतनशील तथा विकासप्रेमी नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कायम गर्न पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे। 

संविधानले प्रदेशलाई स्वायत्तता प्रदान गरेको र यो स्वायत्तताको सही उपयोग गर्न सबैको दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र स्थानीय तह बिचको समन्वय, नीति निर्माण र विकासका कार्यहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकारको विशेष भूमिका रहने बताए।
    
प्रधानमन्त्री ओलीले मधेस प्रदेश सम्भावनानै सम्भावनाहरूको उर्बर भूमि कृषिका लागि उपयुक्त हुने र चुरेक्षेत्र जडिबुटी, जङ्गलदेखि पानीको अपार स्रोत रहेको जनाए। उनले सुनकोसी डाइभर्सन आयोजनाजस्ता कार्यक्रमले मधेसमा सिँचाइ भई राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र यस पहाड तथा तराईबीचको एकताभाव सृजना गर्ने विश्वास व्यक्त गरे। 

प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र, पेट्रोलियम पाइपलाइन, रेलमार्ग, एसियन हाइवे, हुलाकी सडक, दूतमार्ग, रामराजाप्रसाद सिंह अस्पताल मधेसको विकास र समृद्धिको आधार भएकाले आइसिपी तथा प्रमुख भन्सार नाका विरगंजलाई आर्थिक केन्द्र तथा प्राचीन शहर जनकपुरधामलाई सांस्कृतिक पर्यटनको आधारको रुपमा विकास गर्न सकिने बताए। 

आफूले रेलमार्गका कुरा गर्दा नपत्याएर विरोध गरेको स्मरण गर्दै उनले अहिले जनकपुरमा रेल यात्रा सहज भएकाले गर्न चाहदाखेरि गर्न नसकिने केही कुरा नभएको बताए। 

'प्रतिपक्ष रचनात्मक रहोस्। सरकारले पनि प्रतिपक्षलाई साथमै लिएर जाने सोच बनाओस् र यो प्रदेशलाई मुलुककै नमुना प्रदेश बनाउन सकियोसे,' उनले भने, 'उचित नीति बनाएर तद्अनुसार एकता र एकरुपताका साथ काम गर्न म आह्वान गर्दछु। यहाँको विकासका काममा सङ्घीय सरकारको सक्दो साथ रहनेछ।'

प्रधानमन्त्री ओलीले राजर्षि जनक, माता सीता, महर्षि परशुराम, महाकवि विद्यापतिजस्ता विभुति र विद्वान एवं छिन्नमस्ता, गढीमाइलगायत देवदेवीहरूको भूमि रहेको मधेस प्रदेशमा ती पुर्खाका ज्ञान र गौरवलाई स्मरण गर्दै प्राप्त उपलब्धि र अबको आधुनिक विकासमा लाग्नुपर्नेमा जोड दिए।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad