राजनीति


समानुपातिकको नाम छनोटमा रास्वपा कोसीका कार्यवाहक अध्यक्षको असन्तुष्टि

समानुपातिकको नाम छनोटमा रास्वपा कोसीका कार्यवाहक अध्यक्षको असन्तुष्टि

नेपालखबर
चैत २, २०८२ सोमबार १२:३६, विराटनगर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसी प्रदेशकी कार्यवाहक सभापति सरिन तामाङले समानुपातिक सांसद छनोटलाई लिएर नेतृत्वप्रति असन्तुष्टि जनाएकी छन्। 

सोमबार तामाङले समानुपातिक उम्मेदवारको छनोटमा कोसी प्रदेशको भौगोलिक तथा जातीय सन्तुलन मिलाउनु पर्ने माग गरेकी छन्। ‘पार्टीले जान्नेलाई छान्ने नारा लगाए पनि कोसीका दुर्गम र पहाडी भूगोलमा संगठनको बीउ रोप्नेहरूलाई बेवास्ता गरिएको छ,’ उनले लेखेकी छन्। 

उनले २०७९ सालमै सानो नानी काखमा च्यापेर ओखलढुङ्गाका बगरहरूमा घण्टी पुर्‍याउने शोभा कार्की, खोटाङकी बौद्धिक एवं चर्चित गायिका सत्याकला राई र ताप्लेजुङकी मिरा लाबुङ जस्ता नामहरू किन समेटिएनन् भनेर प्रश्न गरेकी छन्। 

भौगोलिक र जातीय क्लस्टरलाई न्याय गर्न नसक्दा आगामी दिनमा सङ्गठनमा गम्भीर असर पर्ने उनले जनाएकी छन्। केन्द्रका नेताहरूको वरपर रहेका व्यक्तिहरूले यस्ता कुरामा ध्यानाकर्षण गराउन नसक्नु दुःखद भएको उनको भनाइ छ। 

​यसअघि शनिबार पनि तामाङले कोशी प्रदेशको अधिकार सुनिश्चितताका लागि नेतृत्वलाई अपिल गरेकी थिइन्। उनले ‘झ्यालबाट छिर्न खोज्ने’ अवसरवादी र चाप्लुसीबाजबाट पार्टीलाई जोगाउन आग्रह गरेकी थिइन्। 

कोसी प्रदेशबाट १७ जना सांसद पठाएर पार्टीलाई बलियो बनाएको स्मरण गराउँदै उनले अब बन्ने सरकारमा कोसीको योगदानलाई उच्च सम्मान गर्दै मन्त्रालयको जिम्मेवारी दिन माग गरेकी छन्। कोसीलाई अन्याय नगर्न आग्रह गर्दै उनले योग्य सांसदलाई पठाएको दाबी गरेकी छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad