आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ को उम्मेदवारमा पूर्वमन्त्री सुदन किराती प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सिफारिस भएको ३ दिनपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई) ले पनि त्यही क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले बुधबार सामाजिक सञ्जालमार्फत फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी १ बाट उम्मेदवारी दिने जानकारी गराएका हुन्।
साम्पाङले फेसबुकमा लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु। जय माटो, जय देश!’
गत स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर मेयर पदमा विजयी साम्पाङले पहिलोपटक संसदीय चुनाव लड्न लागेका हुन्।
पूर्वमाओवादी नेता किराती भने गत २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा भोजपुरबाट विजयी भएका थिए।
माओवादी केन्द्र दर्जनभन्दा बढी वाम दलसँग एकीकृत भई नेपाली कम्युनिस्ट पार्टी बनेपछि जनार्दन शर्मासँगै अलग भएका किराती अहिले भने नवगठित पार्टीका तर्फबाट सुनसरी-१ का लागि उम्मेदवार सिफारिस भएका हुन्।
उक्त क्षेत्र श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका हर्क साम्पाङ मेयर रहेको धरान उपमहानगरपालिकामा पर्छ।
यद्यपि दुवैको उम्मेदवारी निश्चित हुन बाँकी छ।
Shares

प्रतिक्रिया