राजनीति


कोसीमा ओली र पोखरेल पक्ष हाराहारी

कोसीमा ओली र पोखरेल पक्ष हाराहारी

सुमन सुस्केरा
मंसिर १४, २०८२ आइतबार १५:१, काठमाडौँ

नेकपा (एमाले)को एघारौं महाधिवेशनको प्रतिनिधि छनोट गर्ने क्रममा कोसी प्रदेशका केही जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भए पनि धेरै जिल्लामा चुनाव भएको छ।

अहिलेसम्म आएको नतिजामा प्रतिनिधि छनोटमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका प्रतिनिधि हाराहारीमा देखिएका छन्। 

कोशी प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङ, पाँचथर, इलाम, सोलुखुम्बु र भोजपुरमा प्रतिनिधि सर्वसम्मत छनोट भएका छन्। त्यस्तै, खोटाङमा पनि सर्वसम्मतको अन्तिम प्रयास भइरहेको एमाले खोटाङका अध्यक्ष देवविक्रम राईले जानकारी दिए। 

त्यस्तै, धनकुटामा भने विवाद भएको छ। निर्वाचनको विपक्षमा रहेका कार्यकर्ताले मतपत्र च्यातेपछि प्रतिनिधि छनोट अनिश्चितका लागि रोकिएको छ। 

ओखलढुङ्गामा पनि निर्वाचन हुन सकेन। मतदान प्रक्रियामा १५ प्रतिशत मात्र मत खसेपछि आधिकारिकता प्रदान नगरिएको एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।

उता तेह्रथुममा पनि निर्विरोध निर्वाचित हुँदा बाबुराम थापा, लक्ष्मण तिवारी, तेजमान कन्दङबा यादव खापुङ, संजयकुमार तुम्बाहाम्फे, सन्तोष तिगेला, तारा खरेल ढकाल, छविमाया तिम्सिना र कमला दर्नाल सर्वसम्मत चयन भएका छन्। तेह्रथुममा ४२ जनाले मनोनयन दर्ता गरेका थिए। 

ताप्लेजुङमा १२ जना प्रतिनिधि छनोट हुँदा भागबण्डा गरिएको छ। ईश्वर पोखरेल पक्षका चार र ओली पक्षका आठ जना छनोट भएका छन्। पाँचथरमा सात जना ओली पक्षका निर्वाचन भएका छन्। 

त्यस्तै, इलाममा २० जना प्रतिनिधि छनोट हुँदा सात जना ईश्वर पक्षका र १३ जना ओली पक्षका छनोट गरी सर्वसम्मत प्रतिनिधि छानिएको छ।

भोजपुरमा १२ जना प्रतिनिधि छनोट हुँदा ओली पक्षका नौ जना र ईश्वर पक्षका तीन जना भागबण्डा गरिएको एमालेले जनाएको छ। 

मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा ईश्वर पक्षले एक जना पनि प्रतिनिधि जित्न सकेन। मोरङ क्षेत्र नम्बर ६ मा सबै ईश्वर पक्षले नै जितेको छ। ओली पक्षका सबै उम्मेदवार पराजित भएका छन्। 

मोरङ क्षेत्र नम्बर ५ मा सर्वसम्मत प्रतिनिधि छनोट हुँदा ईश्वर पक्षका चार र ओली पक्षका दुई जना बाँडफाँड गरिएको छ। क्षेत्र नम्बर २ मा ओली पक्षका पाँच जना र ईश्वर पक्षका दुई जना प्रतिनिधि निर्वाचित भएका छन्। 

मोरङ क्षेत्र नम्बर ४ मा पनि ओली पक्षका चार र ईश्वर पक्षका दुई जना निर्वाचित भएका छन्। क्षेत्र नम्बर ३ मा ईश्वर पक्षका पाँच जना र ओली पक्षका चार जना निर्वाचित भएका छन्। अहिलेसम्म आएको नजिता अनुसार, मोरङमा २३ जना ओली पक्षका र २१ जना ईश्वर पक्षका निर्वाचित भएका छन्।

झापामा ३८ जना प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा सबै ओली पक्षका चयन भएका छन्। दुवै पक्षमा नखुलेका पनि केही व्यक्ति निर्वाचित भएको एमालेका नेता शिव ढुंगेलले जानकारी दिए। ‘झापामा कुनै समूह वा गुट बनाएर निर्वाचन भएको थिएन। साथीहरूले स्वतस्फुर्त रूपमा उम्मेदवारी दर्ता गराउनुभएको थियो,’ उनले भने। ‌झापा क्षेत्र नम्बर २ मा भने अझै रिजल्ट आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad