गृहमन्त्री रमेश लेखकले कोसी प्रदेशको सीमा क्षेत्रमा हुने तस्करी रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। उनले बुधबार बिहान विराटनगरमा सुरु भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा तस्करी नियन्त्रणको लागि अनुभूति हुने गरी एक्सन लिन निर्देशन दिएका हुन्।
शान्ति सुरक्षा कायम गर्ने बारेमा सरकारले कुनै पनि हालतमा सम्झौता गर्न नसक्ने उनको भनाइ छ। सीमा क्षेत्रमा तस्करी हुने गरेको भन्दै मङ्गलबार विराटनगरका उद्योगी व्यवसायीले तस्करी नियन्त्रण गर्न गृहमन्त्री लेखकलाई आग्रह गरेका थिए।
विराटनगरका व्यवसायीले आग्रह गरेको भोलिपल्टै गृहमन्त्री लेखकले तस्करी नियन्त्रणमा ३० दिनभित्र अनुभूति हुने गरी काम गर्न निर्देशन दिएका हुन्।
सीमा क्षेत्रमा हुने तस्करीका कारण अपराध बढेको बताएका गृहमन्त्री लेखकले राजस्व घटाएको, नकारात्मक असर गरेकोले तस्करी तुरुन्त नरोकिए गृह मन्त्रालयले अर्को एक्सन लिने समेत बताए।
उनले अहिले सुरक्षा निकायहरूमा अर्को सुरक्षा चुनौतीको रूपमा लागुऔषध, सवारी दुर्घटना र आत्महत्याजस्ता घटनाहरू आएको बताए।
उनले भने, 'प्रत्येक दिन सात जनाको ज्यान सवारी दुर्घटनामा जानु र १७ जनाले आत्महत्या गर्नु कुनै सामान्य कुरा होइन।’
गोष्ठीमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी लगायत सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी छन्।
गोष्ठीमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा कोसी प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूको सहभागिता छ।
Shares

प्रतिक्रिया