नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हुल्डवाजहरु भेला पारेर ज्ञानेन्द्र शाहले लोकप्रिय बन्नेको लागि भ्रम फैलाउने प्रयास गरेको बताएका छन्।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै नेपालले हुल्डवाजहरु जम्मा पारेर गरिएको आन्दोलनमार्फत् लोकप्रिय बन्न नसकिने तर्क गरे। राजावादीको आन्दोलनलाई नेपालले ‘समसामयिक एजेन्डा विनाको’ भन्दै आलोचना गरे।
‘जो सुकैले पनि मान्छे भेला गर्न सक्छन्। तर त्यसको वास्तविक मूल्याङ्कन गर्दा मुद्दाहरू समसामयिक छन् कि छैनन् भन्ने मुख्य कुरा हो,’ अध्यक्ष नेपालले भने ‘अहिले यो आवश्यकता हो कि हैन? यस्ता आन्दोलनले परिवर्तन ल्याउँछ की ल्याउँदैन भन्ने विश्लेषण चाहिन्छ।’
उनले राजतन्त्रको पुनःर्स्थापनाको सम्भावना नरहेको बताए। अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशका ‘ठूला व्यापारीमध्येको एक’ भनेर टिप्पणी गरे।
गिरिजा प्रसाद कोइरालाले जीवित हुँदा कतिपयबेला ‘बेबी किङ’ भनेको प्रसंग झिक्दै नेपाललाई पत्रकारले केही प्रश्न सोधका थिए। ती प्रश्नको जवाफमा नेपालले भने, ‘अब ज्ञानेन्द्रको छोरालाई ल्याउने? नातिको दारी आएकै छैन, दारी आइसकेपछि थाहा होला।’
नेपालले विगतमा राजावादीले सञ्चालन गरेको वंशाणुगत शासन प्रणालीको आलोचना गरे। ‘अब वंशको शासन होइन, जनताको मन जितेर शासन गर्नुपर्छ। त्यस्तो शासक जनताबाट निर्वाचित भएर आउनुपर्छ,’ उनले भने।
यसअघि नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीप्रति चर्को आक्रोश व्यक्त गर्ने नेपाल आज भने नरम ढंगले प्रस्तुत भए।
ओली सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा गएको विषयमा पत्रकारले सोधेको प्रश्नमा नेपालले कमल कोइरालाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रधामन्त्री आफ्नो पार्टी कार्यालयमा आएको बताए।
श्रद्धाञ्जली कार्यक्रममा आएको बेला प्रधानमन्त्रीले समाजवादीको पार्टी कार्यालयसमेत अनुगमन गरेको जानकारी उनले दिए।
‘प्रधानमन्त्री ज्यूले कमल कोइरालाको श्रद्धाञ्जलीसँगै राजावादीहरूले पार्टी कार्यालयमा गरेको आगजनीको निरीक्षण गर्नु भएको हो’, अध्यक्ष नेपालले भने, ‘कार्यालयको निरीक्षणसँगै राजावादीहरुबाट हाम्रो कार्यालयमा भएको क्षतिको अवस्था लगायतको विषयमा उहाँसँग छलफल भयो। तर, पार्टी कार्यालयमा आउने बित्तिकै पार्टी एकीकरण हुन्छ भन्ने हुँदैन।’
Shares

प्रतिक्रिया