नेकपा एमाले सम्बद्ध प्रेस चौतारी, नेपालको केन्द्रीय महाधिवेशन आइतबारदेखि विराटनगरमा जारी छ।
अधिवेशन अन्तर्गत गएराति भएको बन्द सत्रले प्रेस चौतारीको आर्थिक तथा सांगठानिक प्रतिवेदन पारित गरेको छ। योसँगै आजदेखि निर्वाचन प्रक्रिया अघि बढ्दै छ।
यसअघि नेकपा एमालेकाे प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले चुनाव गर्न नसकिने खालको अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए, ‘अहिले यही महाधिवेशन स्थलमा केही साथीहरू एक बित्ता उफ्रिएर पैरवी गरेर नेतृत्वमा पुगिन्छ भन्ने होला। प्रेस चौतारीको नेतृत्व चयनमा पार्टीसमेत इन्भल्भ हुन्छ, यो पत्रकार महासंघको चुनाव होइन।’
उद्घाटनदेखि नै प्रेस चौतारीको नेतृत्व चयनको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी हुँदै आएको छ।
केही दिनअघि नै प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौतारीको अध्यक्ष गणेश पाण्डे र महासचिव चेतन अधिकारीलाई बनाउन निर्देशन दिएको विषय बाहिर आएपछि कार्यकर्तामा असन्तुष्टि देखिएको हो।
महाधिवेशमा निहीत नेतृत्व छान्ने अधिकारलाई पार्टी अध्यक्षले नै केन्द्रबाट हस्तक्षेप गरेको भन्दै भन्दै प्रतिनिधिहरु असन्तुष्ट देखिन्छन्।
निर्वाचनमा जान दिनु पर्ने माग प्रेस चौतारीका सदस्यको छ। प्रेस चौतारीका पूर्वकेन्द्रीय सदस्य एवम् महाधिवेशन प्रतिनिधि किशोर बुढाथोकीले निर्वाचन प्रक्रियाबाट नै नेतृत्व छानेर जानु पर्ने बताए।
उनले भने, ‘हामी प्रतिनिधिहरूको निर्वाचनमा सहभागी हुने अधिकारलाई सहमतिको नाममा वञ्चित गर्न पाइँदैन।’
प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे र राजेश राई आकाङ्क्षी छन्। दुईमध्ये पाण्डेलाई अध्यक्ष बनाउन ओलीको निर्देशन छ। प्रतिनिधिहरूले महाधिवेशनलाई स्वतन्त्र छाडेर निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व छान्ने वातावरण बनाउन हस्ताक्षर अभियानसमेत चलाइरहेका छन्।
Shares

प्रतिक्रिया