प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कोसी प्रदेश संसदीय दलले आलोचना गरेको छ। अधिवेशन अकस्मात अन्त्य गर्ने निर्णयलाई माओवादीले ‘संसदीय परम्पराविपरीत’ भएको बताएको हाे।
माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलकी प्रमुख सचेतक गीता तिम्सिनाले जारी गरेको विज्ञप्तिमा सरकारले अधिवेशनमा महत्वपूर्ण विधेयकहरू पारित गरिने बताएको भए पनि आफ्नै प्रतिबद्धताबाट पछि हटेको आरोप लगाइएको छ।
‘आफैँले ल्याएको नीति, कार्यक्रम र बजेटको कार्यान्वयन निराशाजनक रहनुका साथै पूँजीगत खर्च तथा विपद्पछिको पुनर्निर्माणमा समेत सरकार असफल देखिएको तथ्य प्रदेशसभामा उठिरहेका थिए । यस्ता प्रश्नहरूको जवाफ दिनुको साटो सरकार संसदीय छलफलबाट भाग्न खोज्नु अत्यन्त खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ।
‘यसले सरकारको असफल कार्यक्षमता उजार मात्र गरेको छैन, जिम्मेवारी पुरा गर्न पूर्ण रुपमा असफल भएको देखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

Shares

प्रतिक्रिया