राजनीति


विराटनगर पुगेका प्रचण्डले सडकमै बसेर लिए भक्काको स्वाद

प्रचण्डले दिउँसो ग्रामथानमा हुने खबरदारी सभालाई सम्बोधन गर्नेछन्
विराटनगर पुगेका प्रचण्डले सडकमै बसेर लिए भक्काको स्वाद

सुमन सुस्केरा
माघ ५, २०८१ शनिबार ९:५, विराटनगर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रबार साँझदेखि विराटनगरमा छन्।

शुक्रबार राति प्रचण्ड विराटनगर-१ पोखरियास्थित आफ्ना ज्वाइँ जीवन आचार्यको घरमा बास बसेका थिए। आचार्य उनका कान्छा ज्वाइँ हुन्। शुक्रबार साँझ विराटनगर आएका प्रचण्डले शनिबार बिहानै ‘मर्निङवाक’ गरे। त्यसक्रममा उनले सडकमा बेच्न राखिएको भक्काको स्वाद पनि लिए।  

भक्का बफ्याइएको चामलको पिठोबाट तयार गरिने पूर्वी तराईको मौलिक परिकार हो। जसको खपत जाडो समयमा बढी हुन्छ। 

छोरी र नातिनीसहित विराटनगर आएका प्रचण्डले शनिबार बिहान ६ बजेदेखि ७ बजेसम्म पोखरियादेखि जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालय रहेको स्थानसम्म ‘मर्निङवाक’ गरेका छन्। ‘मर्निङवाक’पछि ठूलो मिलचोकमा पुगेर उनले राजवंशी समुदायका महिलाले बनाएकाे भक्का खाँदै र चियापान गरेका हुन्।

प्रचण्डले शनिबार बिहान ९ बजेदेखि १० बजेसम्म विराटनगर- १९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको अनुगमन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

त्यसैगरी १० बजेदेखि ११ बजेसम्म पचण्ड होटल एशियाटिकमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुनेछन्। 

त्यहाँ केही भेटघाट सकेपछि मोरङको ग्रामथान झोराहाटका स्थानीयसँग पनि उनले भेटघाट गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र मोरङका संयोजक विजय विश्वासले जानकारी दिए। 

उनका अनुसार, शनिबार दिउँसो ग्रामथानको तेतरियामा हुने बधाई ज्ञापन तथा खबरदारी सभालाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ। स्थानीय तहकाे उपनिर्वाचनमा ग्रामथान गाउँपालिकाकाे अध्यक्षमा माओवादी उम्मेदवार विजयी भएका थिए। त्यहाँकाे सभालाई सम्बोधन गरेपछि शनिबार दिउँसो ४ बजे उनी राजधानी काठमाडौँ फर्किने कार्यतालिका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad