राजनीति


विवेक हराउँदा अहंकार र तर्क हराउँदा गालीगलौज हावी भयो: भीष्मराज आङदेम्बे

विवेक हराउँदा अहंकार र तर्क हराउँदा गालीगलौज हावी भयो: भीष्मराज आङदेम्बे

नेपालखबर
साउन ७, २०८३ बिहिबार १५:५०, काठमाडौँ

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टी र संसद दुवैमा विवेक र तर्क कमजोर गएको बताएका छन्।

बिहीबार ४४औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आङदेम्बेले विवेक हराउँदा अहंकार र तर्क हराउँदा गालीगलौज हावी हुने अवस्था सिर्जना भएको बताएका हुन्।

उनले संस्थापन ईतरका नेताहरूले बुधबार आयोजना गरेको कार्यक्रममा नेताहरूले गरेको भाषणतर्फ लक्षित गर्दै कांग्रेस पार्टीभित्र पनि गालीगलौजमा उत्रिने प्रवृत्ति हावी भएको बताए।

उनले हाल संसदमा पनि सोही अवस्था रहेको बताए।

नेता आङदेम्बेले राजनीतिलाई नाफा–घाटाको हिसाबमा नभई जनताको सेवाको भावनाबाट अघि बढाउनुपर्नेमा जोड दिए। विगतमा राजनीति व्यवसायजस्तो बनेर नाफा–घाटाको हिसाबमा सञ्चालन भएको उल्लेख गर्दै उनले राजनीतिलाई निस्वार्थ सेवामा रूपान्तरण गर्नु वर्तमान नेतृत्वको जिम्मेवारी भएको बताए।

उनले भने, ‘जब विवेक हराउँछ, त्यो बिस्तारै अहंकारमा परिवर्तित हुँदो रहेछ। जब तर्क हराउँछ, त्यो गालीमा रूपान्तरित हुँदो रहेछ। विवेक र तर्क हराएर अहंकार र गालीमा परिवर्तित भएको अवस्था अहिले मेरो पार्टीको यथार्थता हो।’

संसद्मा पनि यस्तै अवस्था रहेको उनले बताए। ‘संसद्मा न तर्क छ, न विवेक छ। जे देख्यो त्यस्तै निर्णय गरिएको छ। विवेक गुमाएर अप्ठ्यारो परेपछि फेरि सही बाटोमा हिँड्ने प्रयास गरिएको छ,’ उनले भने।

नेता आङदेम्बेले आजको राजनीति कार्यकर्ता, गरिब, निमुखा, श्रमजीवी, किसान र मजदुरको पक्षमा केन्द्रित हुनुपर्ने बताए। राजनीतिलाई लगानीकर्ताको प्रतिफल र नाफा–घाटाको हिसाबबाट हेर्न नहुने उनको भनाइ थियो।

उनले विवेक, तर्क, मर्यादा, इमान्दारिता र निष्ठालाई पुनः स्थापित गर्न नयाँ अभियान आवश्यक रहेको बताए। बीपी कोइरालाको तस्बिर मात्र झुन्ड्याएर नभई उनका आदर्श र सिद्धान्तअनुसार पार्टी सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad