ad ad

राजनीति


सभामुखबाट राजीनामा दिएको भोलिपल्टै गौतम बने आर्थिक मामिला मन्त्री

सभामुखबाट राजीनामा दिएको भोलिपल्टै गौतम बने आर्थिक मामिला मन्त्री

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०८० बुधबार १८:३, काठमाडौँ

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धननलाई बहुमत पुर्‍याउन कोशी प्रदेशसभाको सभामुख पद त्यागेका बाबुराम गौतमलाई मन्त्री पद उपहारमा मिलेको छ।

सरकार निर्माणका लागि आवश्यक ४७ जना प्रदेशसभा सदस्य पुर्‍याउन गौतमले मंगलबार सभामुख पदबाट राजीनामा दिएका थिए। सभामुख त्यागेको भोलिपल्टै अर्थात् बुधबार गौतमले उद्धव थापा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्।

गौतमले अन्य दुई मन्त्रीसँगै प्रदेश प्रमुख परशुराम खापुङसँग पद तथा गोपनीयताको शप लिइसकेका छन्। 

उनीसँगै एकीकृत समाजवादीका कमल जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा पाउँदा नेपाली कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय सम्हालेका छन्। 

जबेगु र सुनुवार दुवैलाई थापाले असार २१ गते पनि मन्त्री बनाएका थिए। तर, मुख्यमन्त्री थापा नै अदालतबाट बर्खास्तीमा परेपछि उनीहरु पनि २२ दिनमै स्वत: पदमुक्त भएका थिए। 

सर्वोच्च अदालतको साउन ११ को फैसलबाट बर्खास्तीमा परेका नेपाली कांग्रेस संसदीय दलका नेता  थापा पनि ६ दिनमै मुख्यमन्त्रीको कार्यालयमा फर्किएका छन्।

असार २१ मा मुख्यमन्त्री भएर २२ दिनमै पद गुमाएका थापालाई २६ दिनमा दोस्रो पटक प्रदेश प्रमुख परशुराम खापुङले नियुक्ति पत्र दिएका थिए। थापाले बुधबार अपराह्न ५ बजे मुख्यमन्त्री पदको शपथ लिइसकेका छन्। 

यसअघि बुधबार बिहान साढे १० बजे गर्ने भनिएको शपथ कार्यक्रम गठबन्धनमा भागबन्डा नमिल्दा सारिएको थियो। 

बुधबार मुख्यमन्त्री थापाले शपथ लिएपछि गठबन्धनले तीन नेतालाई मन्त्री बनाएको हो। जसमा सभामुख त्यागेका बाबुराम गौतमले कोशी प्रदेशको ढुकुटीको चाबी लिएका छन्। उनी गत निर्वाचनमा ओखलढुंगा प्रदेश सभा २ बाट निर्वाचित भएका थिए। 

त्यसैगरी नेपाली कांग्रेसबाट ओखलढुंगाका सुनुवार पनि मन्त्री भए। एकीकृत समाजवादीबाट जबेगु पनि केही दिनमै मन्त्रीमा फर्किए। अन्य मन्त्रीबारे गठबन्धन र दलहरुभित्र पनि विवाद रहेकाले पछि निर्णय गरिने भएको छ।

कांग्रेस दलका नेता थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन छ। सभामुखबाट गौतमले राजीनामा दिएपछि माओवादी सांसदको संख्या १३ कायम भएको हो।

त्यहीकारण गठबन्धनले बहुमत अर्थात ४७ सांसद पुर्‍याए मंगलबार सरकारमा दाबी गरेको थियो।

यसअघि असार २१ मा उनै सभामुख गौतमको हस्ताक्षरबाट ४७ सांसद पुर्‍याएर थापा मुख्यमन्त्री बनेका थिए।

तर गौतमको हस्ताक्षरलाई सर्वोच्चले साउन ११ गते अवैधानिक ठहर गरिदियो। आफ्नो हस्ताक्षर अवैधानिक ठहर भएको एक सातामै गौतमले सभामुख पद त्यागेर मन्त्री खाएका हुन्।

गौतमले मंगलबार राजीनामा दिने क्रममा आफू सभामखु स्थिर र स्थायी हुनुपर्छ भन्ने पक्षमा रहेको बताएका थिए। तर सभामुख त्यागेर गठबन्धनलाई बहुमत जुटाइदिएका गौतम एक दिनमै मन्त्री पद उपहार पाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .