ad ad

राजनीति


गठबन्धनलाई बहुमत जुटाउन कोशीका सभामुख गौतमले दिए राजीनामा

गठबन्धनलाई बहुमत जुटाउन कोशीका सभामुख गौतमले दिए राजीनामा

फाइल तस्बिर


नेपालखबर
साउन १६, २०८० मंगलबार १६:४०, काठमाडौँ

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले मंगलबार अपरान्ह राजीनामा दिएका छन्। काठमाडौंबाट विराटनगर फर्किएलगत्तै प्रदेश सभा सचिवालयमा पुगेर उनले राजीनामा दिएका हुन्।

गौतमले आफ्नो राजीनामा पत्र प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई बुझाइसकेका छन्। 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई बहुमत जुटाउन राजीनामा दिनुपर्ने शीर्ष नेताको दबाबपछि गौतमले विराटनगर पुगेर राजीनामा दिएका हुन्।

काठमाडौंमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणडसहितका शीर्ष नेतासँग छलफल गरेका थिए। ती छलफलमा गठबन्धनको सरकारका लागि उनलाई पद त्याग्ने सुझाव आएको थियो। 

छलफलका क्रममा उनले राजीनामा नदिने अडान राखेका थिए। गौतमले आफूलाई मुख्यमन्त्री बनाउने अवस्थामा मात्रै राजीनामा दिने अडान नेताहरुसँग राखेका थिए। तर उनलाई सभामुखबाट हटेपछि नयाँ क्याबिनेटमा मन्त्री बनाउने आश्वासन आएको छ।

प्रदेश प्रमुख परशुराम खापुङले दिएको सरकार बनाउने ५ दिनको समय मंगलबार साँझ ५ बजे सकिनुअघि नै गठबन्धनको पक्षमा बहुमत (४७) पुर्‍याउने गरी उनले राजीनामा दिएका हुन्। 

विराटनगर विमानस्थलबाट सिधै प्रदेश सभा सचिवालयमा पुगेर राजीनामा पत्रमा हस्ताक्षर गरेका हुन्। सभामुखबाट राजीनामा दिएपछि गौतमलाई मन्त्री बनाउने आश्वासन मिलिसकेको छ।

ओखलढुंगा प्रदेशसभा २ बाट प्रदेशसभामा निर्वाचित गौतमकै हस्ताक्षरमा बहुमत दाबी गर्दै गत असार २१ गते कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेका थिए।

तर गौतमको हस्ताक्षरलाई अवैधानिक ठहर गर्दै सर्वोच्चले थापाको नियुक्ति २२ दिनमै रद्द गरिदिएको थियो। अब उनै थापाले एक महिनाबीचमै दोस्रो पटक मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन्। 

मंगलबार नै कांग्रेस संसदीय दलका नेता थापाले सभामुख गौतमले राजीनामा दिएपछि गठबन्धनकै बहुमतको सरकार बन्ने बताएका थिए।

गत असार २१ गते मुख्यमन्त्री भएर २२ दिनमै नियुक्ति रद्द भएका थापाले अब पनि कांग्रेसले मंगलबारै सरकारमा दाबी पेस गर्ने बताएका थिए। अब माओवादी केन्द्रसहितको समर्थनमा बहुमत सांसद ४७ जना पुर्‍याएर मंगलबारै सरकारको दाबी पेस गर्दैछन्। 

प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिनको समय दिएर गत साउन १२ गते संविधानको धारा ६८ (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन्। जुन समय मंगलबार साँझ ५ बजे सकिँदैछ। त्यसअघि नै थापा प्रदेश प्रमुखकहाँ पुग्दैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .