ad ad

राजनीति


गठबन्धनलाई बहुमत जुटाउन सभामुख छाडेका गौतमलाई मन्त्री पद उपहार

गठबन्धनलाई बहुमत जुटाउन सभामुख छाडेका गौतमलाई मन्त्री पद उपहार

नेपालखबर
साउन १७, २०८० बुधबार ११:३१, काठमाडौँ

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धननलाई बहुमत पुर्‍याउन कोशी प्रदेशसभाको सभामुख पद त्यागेका बाबुराम गौतमलाई मन्त्री पद उपहारमा मिल्ने भएको छ।

सरकार निर्माणका लागि आवश्यक ४७ जना प्रदेशसभा सदस्य पुर्‍याउन गौतमले मंगलबार सभामुख पदबाट राजीनामा दिएका थिए।

त्यसपछि सर्वोच्च अदालतको फैसलबाट बर्खास्तीमा परेका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा ५ दिनमै सत्तामा फर्किएका छन्।

असार २१ मा मुख्यमन्त्री भएर २२ दिनमै पद गुमाएका थापालाई २६ दिनमा दोस्रो पटक प्रदेश प्रमुख परशुराम खापुङले नियुक्ति पत्र दिएका छन्। थापाले बुधबार अपराह्न ५ बजे मुख्यमन्त्री पदको शपथ लिँदैछन्। 

यसअघि बुधबार बिहान साढे १० बजे गर्ने भनिएको शपथ कार्यक्रम गठबन्धनमा भागबन्डा नमिल्दा सारिएको हो। दलहरुबीच भागबन्डा नमिल्दा शपथ कार्यक्रम सार्न प्रदेश प्रमुखको कार्यालयलाई अनुरोध गरिएको थापाले  बताएका छन्। 

बुधबार मुख्यमन्त्री थापाले शपथ लिएपछि गठबन्धनले कम्तीमा तीन नेतालाई मन्त्री बनाइँदैछ। जसमा सभामुख त्यागेका बाबुराम गौतम पनि मन्त्री हुने सूचीमा छन्। उनी गत निर्वाचनमा ओखलढुंगा प्रदेश सभा २ बाट निर्वाचित भएका थिए। 

त्यसैगरी नेपाली कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमल जबेगु मन्त्री बन्ने निश्चित भएको छ। अन्य मन्त्रीबारे गठबन्धन र दलहरुभित्र पनि विवाद रहेकाले पछि निर्णय गरिने बताइएको छ। 

कांग्रेस दलका नेता थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन छ। सभामुखबाट गौतमले राजीनामा दिएपछि माओवादी सांसदको संख्या १३ कायम भएको हो।

त्यहीकारण गठबन्धनले बहुमत अर्थात ४७ सांसद पुर्‍याए मंगलबार सरकारमा दाबी गरेको हो। 

यसअघि असार २१ मा उनै सभामुख गौतमको हस्ताक्षरबाट ४७ सांसद पुर्‍याएर थापा मुख्यमन्त्री बनेका थिए। तर गौतमको हस्ताक्षरलाई सर्वोच्चले साउन ११ गते अवैधानिक ठहर गरिदियो। आफ्नो हस्ताक्षर अवैधानिक ठहर भएको एक सातामै गौतमले सभामुख पद त्यागेर मन्त्री खान तयार भएका हुन्। 

गौतमले मंगलबार राजीनामा दिने क्रममा आफू सभामखु स्थिर र स्थायी हुनुपर्छ भन्ने पक्षमा रहेको बताएका थिए। तर अब सभामुख त्यागेर गठबन्धनलाई बहुमत जुटाइदिएका गौतमलाई गठबन्धनले मन्त्री उपहार दिने भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .