ad ad

राजनीति


सर्वोच्चबाट पदमुक्त भएको पाँच दिनमै मुख्यमन्त्रीमा फर्किए उद्धव थापा

सर्वोच्चबाट पदमुक्त भएको पाँच दिनमै मुख्यमन्त्रीमा फर्किए उद्धव थापा

फाइल तस्बिर


नेपालखबर
साउन १६, २०८० मंगलबार १७:२९, काठमाडौँ

सत्ता गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका ४७ सांसदको समर्थनमा उनले मंगलबार साँझ प्रदेश प्रमुख परशुराम खापुङकहाँ दाबी पेस गरेका थिए। 

खापुङले दिएको समय सीमा साउन १६ गते ५ बजेको समयभित्रै ४७ जना सांसदले हस्ताक्षर गरेर दाबी थापाले पेस गरेका थिए। त्यसलगत्तै खापुङले थापालाई एक महिनाबीचमा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

थापा‍ले दाबी पेस गर्न जानुअघि कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका थिए।

काठमाडौंबाट विराटनगर उत्रिएलगत्तै उनले प्रदेशसभामा सचिवालयमा पुगेर उपसभामुख सिर्जना दनुवारलाई राजीनामा बुझाएका थिए।  

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक थियो।

गठबन्धनमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसद पुगेका छन्।  

प्रदेशमा एमालेका ४० र राप्रपाका ६ सांसद छन्। यसअघि कोशी प्रदेश सरकार गठन कोलागि बहुमत पुगेको दाबी पेस गर्दै सभामुख गौतमले हस्ताक्षर गरेर ४७ जनाको पुर्‍याएर असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका  थापा नेतृत्वको सरकारलाई सर्वोच्च अदालतको साउन ११ गतेको फैसलाले बर्खास्त गरेको थियो।

अदालतको आदेशले संवैधानिक प्रक्रिया मिचिएको अवस्थादेखि नै त्यसलाई सुधार गर्ने गरी साउन १७ गते भित्र संविधानको धारा १६८(२)बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखलाई निर्देशनात्मक आदेश दिएको थियो। त्यसैको आधारमा प्रदेश प्रमुखले  साउन १६ गते ५  बजेसम्मको समय दिएका थिए।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते उद्धव थापाको नेतृत्वमा गठन भएको सरकारलाई साउन ११ गते संविधानविपरीत रहेको भन्दै सर्वोच्च अदालतले खारेज गरिदिएको थियो।

थापा नेतृत्वको सरकार २२ दिनमै बर्खास्त भएकोमा पुनः उनैलाई नै मुख्यमन्त्रीको रूपमा गठबन्धनले अगाडि सारेको थियो।

झापा घर भएका थापा प्रदेशसभामा समानुपातिकतर्फका सांसद हुन्। कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .