नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका कारण पार्टी ३८ सिटमा खुम्चिएको बताएका छन्।
कांग्रेस कर्णाली प्रदेश समितिले सुर्खेतमा आयोजना गरेको ‘पार्टीको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै खड्काले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको बताएका हुन्। दुई दिने गोष्ठीको पहिलो दिन झण्डै १ घण्टा बोलेका खड्काले अनावश्यक रुपमा गरिएको विशेष महाधिवेशनले गर्दा प्रतिनिधि सभाको निर्वाचनमा खुम्चिने अवस्था आएको बताए।
‘कांग्रेसको यस्तो अवस्था नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो’, खड्काले भने, ‘महाधिवेशन नभएको भए, रास्वापा पहिलो पार्टी हुन्थ्यो धेरैमा, ७०–८० सिट हुन्थ्यो। नेपाली कांग्रेस ६०–६५, नेकपा एमाले ३०–३५ र माओवादी १५–२० सिटमा हुन्थ्यो। विशेष महाधिवेशनका कारण कांग्रेस ३८ सिटमा खुम्चियो। रास्वपा दुई तिहाइ नजिक पुग्यो।’
कांग्रेसको एकता लागि आयोजना भएको विचार गोष्ठीमा उनले पार्टी अहिले विभाजनको सँघारमा पुगेको बताए। ‘वर्तमान पार्टी नेतृत्वभित्र अहङ्कार मौलाएको छ’, खड्काले भने, ‘व्यक्तिगत अहङ्कार र स्वार्थले सङ्गठनलाई क्षति पु¥याएको छ भने विभाजनको बाटो देखाएको छ।’
उनले नेताहरूले आफ्ना व्यक्तिगत आडम्बर, पारिवारिक स्वार्थ, धनको मोह र नातागोताको सम्बन्धभन्दा माथि उठेर कार्यकर्तामाझ जानुपर्ने सुझाव दिए। ‘मैले पार्टी सभापति र उपसभापतिसँग भेटेर पार्टी विभाजनको बाटोमा जान नहुने सुझाव दिएको छु,’ उनले भने।
विचार गोष्ठीमा कांग्रेसका नेता तथा कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाही, पार्टीका वर्तमान र पूर्वपदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति पार्टीका भ्रातृ तथा शुभचिन्तक संस्थाका पदाधिकारी, क्षेत्र, प्रदेश, पालिका तथा वडा सभापतिहरूको समेत सहभागीता गरेको छ।
कांग्रेसका तर्फबाट कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि सभा सदस्य र कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, निर्वाचित जिल्ला समन्वय समिति प्रमुख एवं उपप्रमुख, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पनि सहभागी छन्।
केही दिन अघि नेपाली कांग्रेसको आयोजनामा भएको प्रदेशस्तरीय भेलामा अधिकांश सहभागीहरू पनि आज पनि उपस्थित भएका छन्। गोष्ठी दुई दिनसम्म चल्नेछ।
Shares

प्रतिक्रिया