राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको दुःखप्रति राज्यले बेवास्ता गरेको आरोप लगाएका छन्।
सोमबार संसद् बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतकसमेत रहेका शाहीले चार दिनअघि कर्णालीमा गाडी खस्दा नागरिक बेपत्ता भएको घटनाप्रति सरकारको चरम उदासिनता देखएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका हुन्।
‘आज म बोल्न उठेको छैन, पीडा बोलेको छ। आज मेरो आवाज होइन, कर्णालीको करुण चित्कार यो संसदमा गुन्जिएको छ,’ बैठकमा शाहीले भने, ‘सम्माननीय सभामुख महोदय, बोल्दै गर्दा मेरो घाँटी अवरुद्ध भएको छ। मन भारी भएको छ। आँखाभरि आँसु छ। सधैँ चर्को रूपमा बोल्ने म आज शब्द खोज्न सकिरहेको छैन। किनकि मैले आज केवल एउटा दुर्घटना देखेको छैन, एउटा राज्यको असफलता देखेको छु। मैले केवल केही नागरिक गुमाएको होइन, असहाय बनेको एउटा कर्णाली देखेको छु।मेरो कर्णालीमा गाडी कर्णाली नदीमा खस्यो। नदीको बीचमा मानिसहरू “बचाइदिनुहोस्, उद्धार गरिदिनुहोस्” भन्दै जीवनको भिख मागिरहेका थिए। उनीहरूको गुहारले नदीको किनार थर्कियो। डाको लगाउँदालगाउँदै स्वर सुक्यो। आशा सकियो। तर उद्धार आएन।’
कर्णालीमा गाडी खसेको बेला घटनास्थलबाट आकाशमा हेलिकप्टर देखिएको तर त्यो कर्णालीमा बेपत्ता यात्रुको उद्धारका लागि नभएर, मन्त्रीको सवारीका लागि भएको भन्दै आक्रोश व्यक्त गरे।
‘उता केन्द्रीय मन्त्री हेलिकप्टरमा कर्णालीको आकाश घुमिरहेका थिए। यता प्रदेश सभामा भाग पुगेन भन्दै सांसदहरू भागबन्डाका लागि एकआपसमा झगडा गरिरहेका थिए। तर कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिन गुहार मागिरहेका थिए,’ उनले भने, ‘उद्धार टोलीसँग साधन थिएन। सुरक्षाकर्मी घटनास्थलमा पुग्न पाँच घण्टा लाग्यो। जब उनीहरू पुगे, धेरै ढिलो भइसकेको थियो। उद्धार गर्न होइन, मुचुल्का उठाउनुपर्ने अवस्था आयो। घर फर्किँदाफर्किँदै छ जना नागरिक बेपत्ता भए।’
उनले त्यो घटनाबाट कर्णालीमा ६ जना मानिस मात्र हराएका नभइ कसैको घरको चुलो सदाका लागि निभेको, कसैले आफ्नो बुबा आमा गुमाएको, कसैले आफ्नो श्रीमान, श्रीमती र सन्तान गुमाएको बताए।
‘त्यो घटनापछि कसैको भविष्य अन्धकार भयो, म यो पीडा केवल देखेर आएको होइन। मैले पनि आफन्त गुमाएको छु। मैले पनि परिवार गुमाएको छु,’ उनले भने, ‘त्यसैले यो विषयमा बोल्दा मेरो मन टुक्रिन्छ, मेरो आत्मा रुन्छ। कसैले मेरो कुरा राजनीतिका रूपमा लिन सक्ला। कसैलाई यो भावुकता लाग्ला। तर जसले आफ्नो मान्छे गुमाएको हुन्छ, उसलाई पीडाको मूल्य थाहा हुन्छ।’
उनले सदनमा आफू दयाको भिख माग्न नआएको बताए।
‘म केवल एउटा प्रश्न सोध्न आएको छु। के कर्णालीका जनता यो देशका नागरिक होइनन्,’ शाहीले भने, के कर्णालीका नागरिकलाई बाँच्न पाउने अधिकार छैन? के कर्णालीका युवाहरू यो देशको भविष्य होइनन्? यदि कर्णाली पनि नेपाल हो भने, विभेद किन? यदि कर्णालीका जनता पनि नेपाली हुन् भने, विपद्को बेला राज्य किन अनुपस्थित हुन्छ?’
सरकारले संसदमा विपद् व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारलाई प्राथमिकता दिने भनेर ठूलाठूला आश्वासन दिए पनि व्यवहारमा कर्णालीले राज्य नदेखेको बताए।
‘आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहँदा कर्णाली नदीमा नागरिकहरू डुबिरहेका थिए। यो दृश्य केवल एउटा दुर्घटना होइन, राज्यको संवेदनहीनताको सबैभन्दा ठूलो प्रमाण हो,’ उनले भने, ‘त्यसैले म सम्माननीय सभामुख महोदयमार्फत सरकारसँग स्पष्ट जवाफ माग गर्दछु, कर्णालीका नागरिकको ज्यानको मूल्य आखिर कति हो? सरकारलाई तत्काल रुलिङ गरी यस घटनाको सत्यतथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइको जिम्मेवारी निर्धारण गर्न, दोषीमाथि कारबाही गर्न र भविष्यमा यस्तो दर्दनाक घटना दोहोरिन नदिने प्रभावकारी व्यवस्था गर्न निर्देशन दिनुहोस्। कर्णालीले दया होइन, अधिकार खोजेको छ।’
उनले ध्यानाकरर्षण गराएपछि सभामुख डोलप्रसाद अर्यालले यसप्रति आफूले अध्ययन गर्ने बताए।
Shares

प्रतिक्रिया