राजनीति


कर्णालीका नौ जिल्लाले भने- विशेष महाधिवेशनमा सहभागी नहुनू

कर्णालीका नौ जिल्लाले भने- विशेष महाधिवेशनमा सहभागी नहुनू

दिनेश बुढा
पुस २५, २०८२ शुक्रबार १५:६, सुर्खेत

कर्णाली प्रदेशका ९ जिल्लाका सभापति र उपसभापतिले संयुक्त विज्ञप्ति जारी गरी विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गरेका छन्। 

शुक्रबार जारी संयुक्त अपिलमा सल्यानबाहेकका सबै जिल्लाका सभापतिले हस्ताक्षर गरेका छन्। सल्यानका सभापति विशेष महाविधेशनको पक्षमा उभिँदा उपसभापतिले संयुक्त अपिलमा हस्ताक्षर गरेका छन्। 

उनीहरूले पार्टी एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमा सहभागी नहुन सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरेका छन्। केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत आह्वान गरिएको विशेष महाधिवेशनले पार्टी र मुलुक दुवैलाई दुर्घटनातर्फ लैजाने भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 

कर्णालीका १० जिल्लामध्ये सल्यानका केशरबहादुर विष्ट भने विशेष महाधिवेशन पक्षधर देखिएका छन्। महाधिवेशनको विपक्षमा देखिएका सभापतिहरूमा सुर्खेतका खड्गप्रसासद पोखरेल, दैलेखका मणिराम रेग्मी, जाजरकोटका वेदराज सिंह,  कालिकोटमा अम्बबहादुर शाही, जुम्लाका कर्णबहादुर शाही, मुगुका ऐनबहादुर शाही, हुम्लाका मोहनविक्रम सिंह, रुकुम पश्चिमका प्रेमप्रकाश ओली, डोल्पाका कार्यवहाक सभापति लवकुमार शाही र सल्यानका उपसभापति सन्तोष केसी छन्। 

उनीहरूले नेपाली कांग्रेसलाई मुलुकको लोकतान्त्रिक आन्दोलनको गौरवशाली धरोहरका रूपमा चित्रण गर्दै पार्टी नेतृत्वले वर्तमान अवस्थामा कांग्रेस मुलुककै सबैभन्दा ठूलो राजनीतिक शक्ति रहेको उल्लेख गरेका छन्। 

पार्टीको निर्णायक भूमिकाबाटै आगामी आम निर्वाचनको परिणाम प्रभावित हुने भएकाले कांग्रेसले आफ्नो जिम्मेवारी पूर्णरूपमा निर्वाह गर्दै पार्टी एकतालाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याइएका छन्। 

‘पार्टीको प्रमुख कार्यभार भनेको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु र लोकतन्त्रको मेरुदण्ड मानिने आम निर्वाचनलाई सफल बनाउनु हो’, उनीहरूले भनेका छन्, ‘सोहीअनुसार केन्द्रीय कार्यसमितिबाट प्रकाशित कार्यतालिकाअनुसार नियमित १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेको अवस्थामा त्यसको विकल्पका रूपमा प्रस्तुत गरिएको विशेष महाधिवेशन स्वतः निष्क्रिय भइसकेको छ।’

विज्ञप्तिमा पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा जोड दिँदै उनीहरूले व्यक्तिको चाहनाअनुसार पार्टी सञ्चालन हुन नसक्ने जिकिर गरेका छन्। नियमित महाधिवेशन र आम निर्वाचनलाई असर गर्ने गरी आह्वान गरिएको विशेष महाधिवेशनले पार्टी एकतालाई गम्भीर क्षति पु¥याउने र मुलुकलाई समेत अस्थिरतामा धकेल्ने उनीहरूको ठम्याइ छ। 

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले पुस २७ र २८ गते विशेष महाधिवेशन बोलाएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad