ad ad

राजनीति


कर्णाली : एमालेलाई विरासत जोगाउने चुनौती, गठबन्धनको बलमा ‘कमब्याक’ गर्न खोज्दै कांग्रेस

कर्णाली : एमालेलाई विरासत जोगाउने चुनौती, गठबन्धनको बलमा ‘कमब्याक’ गर्न खोज्दै कांग्रेस

फाइल तस्बिर


दिनेश बुढा
असोज २५, २०७९ मंगलबार ८:३३, काठमाडौँ

कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधि सभाका १२ सिट छन्। सुर्खेत र दैलेखमा २/२ वटा र अन्य जिल्लामा १/१ वटा निर्वाचन क्षेत्र छन्।

ती १२ सिटमै गठबन्धनविरुद्ध एमाले देखिएको छ। सबै जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ। 

१२ सिटमा नेकपा माओवादीलाई ५ सिट, कांग्रेसलाई ४ सिट र समाजवादीको भागमा तीन सिट परेको छ। कर्णालीमा गठबन्धनले प्रतिनिधि सभाका लागि एक महिला उम्मेदवार समेत उठाएको छ।

२०७४ सालको निर्वाचनमा कर्णालीमा नेकपा माओवादी र एमालेबीच चुनावी तालमेल हुँदा कांग्रेसले एक सिट पनि जितेको थिएन।

कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्काले समेत हार बेहोर्नु परेको थियो। उक्त निर्वाचनमा एमालेले ६, माओवादीले ५ र स्वतन्त्रले १ सिट जितेका थिए। 

तर, त्यो विरासत जोगाउन यसपटक एमालेलाई चुनौती देखिएको छ। ०७४ सालमा प्रतिनिधि सभातर्फ कुनै पनि सिट जित्न नसकेको नेपाली कांग्रेस अहिले गठबन्धनको सहारामा पुनरागमन खोजिरहेको छ।

कांग्रेसले सुर्खेतका दुवै क्षेत्र, दैलेख–२ र मुगुमा उम्मेदवार उठाएको छ भने माओवादीले रुकुम पश्चिम, जाजरकोट, कालिकोट, जुम्ला र हुम्लामा सिट प्राप्त गरेको छ। यस्तै समाजवादीले सल्यान, दैलेख–२ र डोल्पा प्राप्त गरेको छ। 

गठबन्धन भर्सेस एमाले
हुम्लामा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा माओवादीका छिरिङ डम्डुल लामा (कार्चेन) उम्मेदवार छन्।

एमालेले दल रावललाई उम्मेदवार बनाएको छ। दुवै जना कर्णाली प्रदेशका मन्त्री समेत बनिसकेका छन्। लामा ६ महिना कर्णाली सरकारमा विनाविभागीय मन्त्री थिए भने रावल सामाजिक विकासमन्त्री थिए।

यस्तै, मुगुमा गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति ऐनबहादुर शाही र एमालेबाट राजबहादुर कार्की (राजु) बीच प्रतिस्पर्धा हुने भएको छ।

कांग्रेस नेता शाही यसअघि ०७० को संविधान सभा निर्वाचनमा एमालेका मोहन बानियाँसँग पराजित भएका नेता हुन् भने कार्की नयाँ नेता हुन्।

डोल्पामा गठबन्धबाट एकीकृत समाजवादीका धनबहादुर बुढा उम्मेदवार बनेका छन्। उनीसँग एमालेका गणेशबहादुर शाही चुनावी मैदानमा होमिएका छन्। यद्यपि, डोल्पामा बुढा दलभन्दा पनि व्यक्तिगत रुपमा बलिया छन्। 

जुम्लामा माओवादीले गोमा गौतम (कुँवर)लाई उम्मेदवार बनाएको छ। उनी प्रतिनिधि सभामा प्रदेशकै एक मात्र महिला उम्मेदवार हुन्। एमालेले रतननाथ योगीलाई उम्मेदवार बनाएको छ। जो एमालेका जुम्ला जिल्ला इञ्चार्ज हुन्। 
 
कालिकोटबाट प्रतिनिधि सभातर्फ माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाही ‘प्रज्वल’को प्रतिस्पर्धीको रुपमा एमाले जिल्ला इञ्चार्ज नगेन्द्र शाही ‘नेसनल’ मैदानमा छन्।

महेन्द्रबहादुर लगातार चुनाव जित्दै आएका र कर्णालीको पहिलो मुख्यमन्त्री शाही अंकगणितमा पनि बलिया छन्।

गत वैशाख ३० को स्थानीय चुनावमा एमालेले कुनै पनि पालिका जित्न नसकेको कालिकोटमा माओवादीलाई समाजवादी र कांग्रेसको साथले थप सहज भएको छ। ०७० को संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ जितेका उनले ०७४ मा मुख्यमन्त्री बन्ने भएपछि प्रदेशमा लडेका थिए। 

जाजरकोटमा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत र एमालेका निरज आर्चायबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

एमाले केन्द्रीय सदस्य समेत रहेका आचार्य र बस्नेत दुवै भेरी गाउँपालिकाका हुन्। लामो समयदेखि चुनाव जित्दै आएका बस्नेत चुनावी अंकगणितका आधारमा कमजोर भए पनि व्यक्तिगत रुपमा भने बलिया छन्। 

सल्यानमा गठबन्धनका साझा उम्मेदवार समाजवादीका उपमहासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वालासँग प्रतिस्पर्धा गर्न एमालेले नयाँ अनुहारलाई मैदानमा सारेको छ। राजेन्द्रवीर रायले ज्वालासँग प्रतिस्पर्धा गर्ने भएका हुन्। उनी केही अघिसम्म राप्रपामा थिए। 

माओवादीको आधार इलाका रुकुम पश्चिममा माओवादीलाई हल्लाउन सक्ने अर्को दल छैन। यहाँ माओवादीका प्रभावशाली नेता जनार्दन शर्माले विगतदेखि नै चुनाव लड्दै आएका छन्।

०७४ मा ३४ हजार ४०२ मत ल्याएर प्रतिनिधि सभा सदस्य जितेका उनीसँग यो पटक एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले प्रतिस्पर्धा गर्ने भएका छन्। जनार्दन शर्माले ०७४ मा कांग्रेसका प्रतिस्पर्धीलाई झण्डै १७ हजार मतान्तरले पराजित गरेका थिए। 

सुर्खेत क्षेत्र नं १ मा प्रतिनिधि सभाका लागि कांग्रेसबाट केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का र एमालेबाट निवर्तमान प्रतिनिधि सभा सदस्य ध्रुवकुमार शाहीबीच नै पुनः प्रतिस्पर्धा हुने भएको छ।

०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता शाहीले खड्कालाई ३ हजार ३८२ मतअन्तरले पराजित गरेका थिए।

शाही ३६ हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए। आसन्न निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धन एकातिर र एमाले अर्कोतिर हुँदा खड्का–शाहीबीचको चुनावी भिडन्त रोचक हुने देखिन्छ। 

यस्तै, सुर्खेत २ मा ०७४ मा वाम गठबन्धनका उम्मेदवारबाट पराजित कांग्रेसका पूर्व केन्द्रीय सदस्य हृदयराम थानी पुनः प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्।

उनी ०७४ मा एमालेका नवराज रावतसँग पराजित भएका थिए। आसन्न निर्वाचनमा उनले एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बिसीसँग प्रतिस्पर्धा गर्ने भएका छन्। 

दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको साझा उम्मेदवारका रुपमा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापा र एमालेका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्माबीच प्रतिस्पर्धा हुने भएको छ।

अम्मरबहादुर थापा तिनै व्यक्ति हुन्, जसले १४ वर्ष एमाले दैलेखको अध्यक्ष भएर चलाएका थिए। दैलेखमा एमालेको संगठन विस्तार गर्न ठूलो भूमिका खेलेका थापाले ०७४ मा १२ हजार ५६७ मतसहित प्रदेश सभा (ख) बाट चुनाव जितेका थिए।  

दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा एमालेबाट पूर्व संविधान सभा सदस्य लक्ष्मी पोखरेलसँग गठबन्धनका साझा उम्मेदवारका रुपमा कांग्रेसका दिक्पाल शाहीले प्रतिस्पर्धा गर्ने भएका छन्।

शाही ०७४ मा प्रदेश सभाको चुनावमा कर्णाली प्रदेशका पुर्व सभामुख राजबहादुर शाहीसँग झण्डै ३ हजार मतान्तरले पराजित भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .