काठमाडौँमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पार्टीका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट पनि सहभागी छन्। कास्कीको कन्दनीडाँडाका रानाभाट प्रजातन्त्र सेनानी नारायणदत्त रानाभाटका छोरा मात्रै हैनन्, आफैँ प्रजातन्त्रका लागि जेलनेल भोगेका नेता पनि हुन्।
पार्टीमा तत्कालीन सभापति सुशील कोइरालाभन्दा पहिल्यै महामन्त्री बनेका उनी दरबार हत्याकाण्डको छानबिन प्रतिवेदन सार्वजनिक गर्दा आलोचनाको सिकार बने। त्यसपछि उनको राजनीतिक यात्रा ओरालो लाग्यो।
तर, राजा ज्ञानेन्द्रले शासन हत्याएपछि उनलाई दरबारले प्रधानमन्त्रीको ‘अफर’ गरेको थियो।
२०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले चुनाव गराउन नसकेको भन्दै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाए। लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई पालैपालो प्रधानमन्त्री बनाए।
तर, पार नलाग्ने देखेपछि सूर्यबहादुरले राजीनामा दिए। उनको राजीनामापछि नयाँ प्रधानमन्त्रीको खोजी भयो। दरबार हत्याकाण्ड छानबिन समितिमा रहँदा आलोचित भए पनि सभामुखमै कायम रहेका तारानाथ रानभाटमाथि दरबारको आँखा पर्यो। राजाले उनलाई नारायणहिटी बोलाए।
‘दरबारबाट सल्लाह गर्ने प्रस्ताव आयो। पशुपतिजी (दरबारका सचिव पशुपतिभक्त महर्जन) बाट प्रस्ताव आएको थियो। राजासँग कुरा भयो। प्रधानमन्त्रीले नै सबै मन्त्री छान्न पाउने भए ठिकै हुन्छ भनेँ’, तारानाथले यो पंक्तिकारसँग भनेका छन्, ‘राजाले हुन्छ भने। शपथको तयारी भयो।’
उनले त्यसपछि नयाँ दौरा-सुरुवाल पनि सिलाए रे! दरबारबाट शपथका लागि निम्तो आयो। त्यो शुक्रबार नै थियो। रानाभाटले शुक्रबारको दिन नगरौँ भनेँ रे! दरबार र शुक्रबारबीच अचम्मको संयोग भएकाले उनले शुक्रबारको खड्गो त टारे तर प्रधानमन्त्री हुन तम्तयार तारानाथलाई पशुपतिभक्तले फोन गरेर सभामुखबाट राजीनामा गरेको पत्र लिएर आउन आग्रह गरेछन्।
पहिला सभामुखसहित नै प्रधानमन्त्री बनाउन तयार भएका राजाले किन त्यसो गरे? उनी फन्फनिए। अन्त्यमा आउन नसक्ने जवाफ दिए रे! किन त? दरबारले प्रधानमन्त्रीको प्रस्ताव गरेको कुरा उनले पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई जानकारी गराएका थिए रे! गिरिजाबाबुले हाम्रो आन्दोलनको मुख्य एजेन्डा संसद् पुनःस्थापना हो, तपाईं प्रधानमन्त्री भएपछि के हुन्छ भनेर सोधेका थिए रे।
त्यसअघि पनि कोइरालाले ‘तपाईं संसद्को प्राण हो, त्यो ढुकढुकीका रूपमा रहनुपर्छ। तपाईंको राजनीतिक भविष्यको जिम्मेवार म छु, मैले जानेको छु’ भनेर आफूलाई सम्झाएको रानाभाटको जिकिर छ। दौरा-सुरुवाला सिलाएर बसेका तारानाथ रोकिए। त्यसपछि दरबारले नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्यो।
देउवाले ‘गोर्खाली राजाले न्याय गरे’ भन्दै प्रस्ताव स्वीकार गरिहाले। दरबारले प्रधानमन्त्री बन्न नारायणहिटी बोलाउँदा देउवा खानपानमा व्यस्त थिए रे! उनी तत्काल नारायणहिटी पसे। दरबारले देउवालाई बोलाएको कुरा गोप्य राख्न खोज्यो। भेटपछि चाहिँ देउवा नारायणहिटीबाट फर्किएको कुरा गिरिजाप्रसादकहाँ पुगेछ।
देउवा पुनः प्रधानमन्त्री बनेको गिरिजाप्रसादले देख्न चाहने कुरै भएन।
‘त्यो बेला गिरिजाबाबुले आत्तिएर पशुपतिभक्त महर्जनलाई फोन लगाउनुभएछ। उहाँले म तारालाई मनाउँछु। उसलाई नै बनाउनुपर्यो भन्नुभएछ, तर पशुपतिभक्तले ढिला भयो, देउवा नै प्रधानमन्त्री नियुक्त हुनुहुन्छ भनेछन्,’ तारानाथले त्यो बेलाको कुरा सम्झँदै भनेका छन्, ‘मैले गिरिजाबाबुलाई र प्रजातन्त्रलाई धोका दिइनँ तर पार्टीले चाहिँ मलाई अन्याय गरेको छ।’
तारानाथ त्यो बेला गिरिजाप्रसाद स्वयं पनि अधिकारसहित प्रधानमन्त्री बन्न इच्छुक रहेको र माधव नेपालले त निवेदन नै हालेको तर आफैँले पदच्युत गरेका देउवालाई पुनः प्रधानमन्त्री बनाएर दरबारले षड्यन्त्र गरेको बताउँछन्।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ जेठ २९ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेसँगै देउवाले ‘गोर्खाली राजाले न्याय गरे’ भन्ने अभिव्यक्ति दिएका थिए। तर, राजाले ८ महिनापछि नै २०६१ माघ १९ मा उनलाई पुनः हटाए र प्रत्यक्ष शासनमा हात बढाए।
गोपालमान श्रेष्ठ
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पुगेपछि यतिबेला नेता गोपालमान श्रेष्ठ अत्यधिक चर्चामा छन्। स्याङ्जाको धनाढ्य परिवारमा जन्मेका गोपालमान तिनै नेता हुन्, जसले संकटका बेला पनि पार्टी सभापति शेरबहादुर देउवाको साथ छाडेनन्। पार्टी विभाजन हुँदा प्रजातान्त्रिक कांग्रेसको उपसभापति भए। राजाले ‘कु’ गर्दा कार्यवाहक सभापतिका रूपमा नेपाली कांग्रेस प्रजातान्त्रिकलाई अगाडि बढाउन उनले नै योगदान गरे। र, त्यसको ब्याज पनि मज्जाले खाए। उनी देउवाले च्यापेका र पटकपटक मन्त्रीमा अवसर दिएका नेतामध्ये एक हुन्।
२०४८, २०५१, २०५६ का प्रतिनिधि सभासहित संविधान सभा २०६४ मा पनि उनले टिकट पाए। २०७० सालमा भने उनी दुई नम्बर क्षेत्रबाट नै समानुपातिक सांसद बने। २०५१ माबाहेक उनी सबै निर्वाचनमा विजयी भए। चारपटक मन्त्री भए। स्याङ्जामा कांग्रेसलाई बलियो र कमजोर दुबै बनाउनमा गोपालमानको हात छ। उनलाई आफू अगाडि बढ्न धेरै योग्य नेता/कार्यकर्ताको बाटो छेकेको आरोप लाग्छ। कुनै समय स्याङ्जा कांग्रेसको पर्याय रहेका उनलाई पछिल्लो समय भने सभापतिका रूपमा उदाएका सांसद राजु थापाले चुनौती दिँदै आइरहेका थिए।
स्याङ्जा कांग्रेसका सभापति राजु थापाले विशेष महाधिवेशनका विपक्षमा हस्ताक्षर गरेका छन् भने गोपालमानको निजी सचिवका रूपमा राजनीति अगाडि बढाएका गण्डकी कांग्रेसका उपसभापति मेखलाल श्रेष्ठले पनि त्यही बाटो रोजेका छन्। तर, वृद्ध गोपालमान विशेष महाधिवेशनमा एकाएक फरक कित्तामा उभिए। सभापति देउवालाई साथ दिएर गलत गरेको भन्दै प्रायश्चित गरे।
विशेष महाधिवेशनको उद्घाटनमा पुगेपछि उनी एकाएक चर्चित बने। स्याङ्जा कांग्रेसका एक नेताका अनुसार गोपालमान यसपटक राष्ट्रिय सभामा जान चाहन्थे। सभापति देउवाले आफूलाई अवसर दिनेमा उनी ढुक्क थिए। तर, देउवाले एमालेसँग गठबन्धन गर्दा राष्ट्रिय सभाको आसन्न निर्वाचनका लागि नेपाल प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिनालाई टिकट दिए। उनी बिच्किए।
‘जेनजी आन्दोलनपछि देशैभर युवाहरू कांग्रेससँग विरक्तिएको तथ्य सतहमा आइसकेको थियो। आफूले अवसर पनि नपाउने भएपछि चाहिँ उहाँ (गोपालमान) ले नयाँ बाटो रोज्नुभयो,’ ती नेता भन्छन्,‘देउवा दाइले पार्टी सभापति पनि नबनाउने अनि अवसर पनि नदिने भएपछि सधैँ के बस्ने भन्ने भयो होला तर उहाँले यो बेला वाहवाहीचाहिँ पाउनुभयो। अहिलेसम्मका सबै दोष पनि पखाल्नुभयो।’
खासमा गोपालमान युवा छँदा साँच्चिकै भावुक र बुझक्कड थिए रे! २०२० सालमा नै ‘पूर्वपश्चिम राजमार्ग, नेपालको भाग्यरेखा’ निबन्ध लेखेर पदक पाएका उनले ‘चुरोटको ठुटो’, ‘स्यानो माछा ठूलो माछाले खान्छ’ निबन्धसहित तरुण साप्ताहिकमा आफ्नै आत्मकथा पनि प्रकाशन गरेका थिए। उनलाई नपुग्दो केही छैन।
विशेष महाधिवेशनमा उनले भने, ‘पुस्ता बदलिएको छ। जनताका अपेक्षा बदलिएका छन्। त्यसैले अब पार्टी चल्ने शैली बदल्नुपर्छ। नयाँ युवायुवतीलाई मौका दिनुपर्छ, इतिहासको ब्याज खाएर मात्र अब चल्दैन।’
देवराज, ध्रुव वाग्ले र अर्जुन जोशी
विशेष महाधिवेशनका निम्ति यतिबेला सबैभन्दा मुखरित बन्नेको अंग्रपंक्तिमा देखिन्छन्- कास्कीका नेता देवराज चालिसे। कुनै बेला त्रिभुवन विश्वविद्यालयका स्ववियुका सभापति रहेका यी नेता तर्क र भाषणमा माहिर छन्। यसअघिको १४औँ महाधिवेशनमा शेखर कोइराला-गगन समूहबाट सहमहामन्त्री लडेका देवराज शेखर समूहमै थिए। तर उनी ५१७ मतले हारे।
विजयी भएका देउवा क्याम्पका किशोरसिंह राठोरले ३ हजार ५७६ मत ल्याउँदा देवराजका पक्षमा २ हजार ५९ मत आएको थियो। उनी शेखरलाई विशेष महाधिवेशनको नेतृत्व गर्न पटकपटक आग्रह गर्ने नेतामध्येका एक हुन्।
तर, शेखरले उनको कुरा सुनेनन्। देश दौडाहा गरेर नेतृत्व परिवर्तनको एजेन्डा स्थापित गराएका देवराजले त्यसपछि चाहिँ शेखरलाई छाडे। निरन्तर विशेष महाधिवेशनका पक्षमा आवाज बुलन्द गरिरहे। विशेष महाधिवेशन भव्य हुँदा यी नेताको कद एकाएक बढेको छ।
राष्ट्रिय राजनीतिमा उनको चर्चा चुलिएको छ।
प्रधानमन्त्री बन्नबाट बञ्चित तारानाथसहित विशेष महाधिवेशनमा तनहुँका प्रभावशाली नेता ध्रुव वाग्ले पनि सहभागी छन्।
पिता केशव वाग्लेको बाटो पच्छ्याउँदै कांग्रेस बनेका उनी बोल्नमा माहिर छन्। १४औँ महाधिवेशनमा सर्वाधिक मतसहित केन्द्रीय सदस्य निर्वाचित वाग्ले २०३९ सालमा शंकरदेव क्याम्पसका स्ववियु सभापति बनेका थिए।
२०३६ सालको विद्यार्थी आन्दोलनमै चर्चामा रहेका वाग्ले भाषणबाज हुन्। संविधान सभाको सदस्यसमेत बनेका वाग्लेले लामो समयदेखि देउवालाई साथ दिँदै आएका थिए। तर, अहिले उनले देउवाका साथ छाडेका छन्।
कांग्रेस केन्द्रीय सदस्य अर्जुन जोशी, नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, पर्वत कांग्रेसको सभापति युवराज जोशीलगायतले पनि विशेष महाधिवेशनका पक्षमा आफूलाई उभ्याएका छन्।
यीमध्ये कांग्रेस गण्डकीका सभापति शुक्रराज ‘हिन्दु अधिराज्य’का पक्षपाती हुन्। राजासहितको प्रजातन्त्रको वकालत गर्ने यी नेता लामो समयसम्म कोइराला परिवारनजिक थिए। गिरिजाप्रसादको देहान्तपछि उनी बीपी पुत्र डा. शशांक कोइरालानिकट मानिन्थे। अहिलेचाहिँ उनले कांग्रेस बदलिनुपर्ने धारणा राख्दै आएका छन्।
उता सधैँ अवसर पाएका र सभापति शेरबहादुरको विश्वासपात्र पवर्तका अर्जुन जोशीमा आएको उलटफेरले चाहिँ देउवा कमजोर बन्दै गएको पुष्टि गरेको छ।
२०३२ सालदेखि राजनीतिमा सक्रिय, लामो समय केन्द्रीय सदस्य रहेका अर्जुन २०५४ सालमा मात्र हैन, माओवादीको जगजगी हुँदा २०६४, २०७० सालमा पनि प्रत्यक्ष चुनाव जित्ने नेता हुन्।
आरआर क्याम्पससमेत पढाएका यी बौद्धिक नेता पर्वत कांग्रेसमा एकलौटी गरेको आरोपबाट मुक्त त छैनन् तर विवेक प्रयोग गर्नसक्नेमध्ये गनिन्छन्। कांग्रेसको १४औँ महाधिवेशनमा कांग्रेसको गण्डकी प्रदेश सभापतिमा देउवा क्याम्पबाटै चुनावमा होमिएका उनी शुक्रराज शर्मासँग ८५ मतान्तरले हारेका थिए। तर, अहिले दुवै नेता देउवाको विकल्प खोज्ने अभियानमा होमिएका छन्।
Shares

प्रतिक्रिया