२०४६ सालमा पञ्चायत ढलेसँगै तत्कालीन नेकपा माले राष्ट्रिय शक्तिका रूपमा स्थापित भयो। जेलमा रहेका नेताहरू खुला राजनीतिमा आए। जनआन्दोलनमा सहकार्य गरे पनि नेपाली कांग्रेस कम्युनिस्टलाई प्रजातान्त्रिक शक्ति मान्दै मान्दैनथ्यो।
यता लामो जेलजीवनपछि खुला राजनीतिमा आएका नेता केपी ओली पनि आफ्नो छुट्टै पहिचान बनाउने अभियानमा थिए। हो, ठ्याक्कै त्यही बेला ओलीको नेतृत्वमा २०४७ जेठ १ गते प्रजातान्त्रिक राष्ट्रिय युवासंघ (प्ररायु संघ) गठन भयो।
मालेले आफ्नो भ्रातृ संगठनको नामअगाडि प्रजातन्त्र भन्ने फुर्को जोड्यो। युवासंघ नामजस्तै युवाको संगठन थियो। आन्दोलनको पर्याय बनेको मालेले गर्ने हरेक आन्दोलनमा ऊ अग्रपंक्तिमा देखिने बन्यो।
दोस्रो महाधिवेशनले केशव स्थापितलाई अध्यक्ष बनायो। संघको नेतृत्वमा गोकर्ण विष्टदेखि अजम्बर राईसम्म आए। हो, त्यही अजम्बर राईको नेतृत्वमा रहेको युवासंघमा महासचिव थिए- बागलुङका युवा इन्द्रलाल सापकोटा।
अजम्बर राई नेतृत्वमै रहेका बेला माओदीको योङ कम्युनिस्ट लिग (वाईसीएल) को चर्को प्रभाव थियो। माओवादी गतिविधि निस्तेज पार्न एमालेले युवासंघलाई अगाडि सार्यो।
महेश बस्नेतलाई युवासंघअन्तर्गत युथ फोर्सको कमान्डर बनाइयो। बस्नेत एकाएक राजनीतिक परिदृश्यमा चर्चित बने।
उनलाई नेता केपी ओलीको साथ र आड थियो। वैचारिक संगठनलाई ‘बाहुबली’ बनाएको आरोप पनि बस्नेतले खेपे।
उनका गतिविधि मन नपराउनेहरूले ‘नो बाउन्सर, वि आर सक्सेसर (हामी बाहुबली हैनौँ, अगुवा हौँ)’ नारा पनि दिए।
२०६६ पुस ११ देखि १३ सम्म सिराहाको लहानमा भएको युवासंघ, नेपालको सातौँ महाधिवेशनमा महेश बस्नेत अध्यक्षको उम्मेदवार बने।
केपी ओली पक्षबाट उठेका उनलाई संस्थापन अर्थात् झलनाथ खनाल-माधव नेपाल समूहबाट बागलुङका इन्द्रलाल सापकोटाले चुनौती दिए।
चुनावमा महेशले ६ सय ९९ ल्याउँदा इन्द्रलालले ५ सय ९७ मत प्राप्त गरे। त्यही महाधिवेशनले प्ररायु संघलाई युवासंघमा रूपान्तरण गरेको हो।
महेश बस्नेतको राजनीतिक यात्रा त्यहाँबाट उकालो लाग्न थाल्यो। यता इन्द्रलाल सापकोटाचाहिँ जन्मथलो बागलुङ फर्के।
२०७३ पुसमा सम्पन्न एमाले बागलुङको आठौँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष चुनिए। सापकोटाले कुल खसेको ५ सय ७९ मतमध्ये ३ सय ८८ भोट पाउँदा प्रतिस्पर्धी केपी ओली पक्षका निवर्तमान जिल्ला उपाध्यक्ष नरबहादुर थापाले १ सय ६१ मत मात्र ल्याए।
लगत्तै उनी बागलुङ क्षेत्र नम्बर १ ‘क’बाट गण्डकी प्रदेशसभा सांसद चुनिए। माधव नेपाल पक्षबाट टिकट पाउने थोरैमध्ये उनी एक थिए।
गण्डकी प्रदेशसभामा जनसरोकारका विषय उठान गर्नेमा उनी अग्रपंक्तिमा देखिन्थे।
२०५४ सालमै मालिका गाविसको अध्यक्ष, युवासंघको महासचिव र जिल्ला पार्टी अध्यक्ष रहेका उनी प्रदेश सांसद हुँदा मन्त्री बन्ने दौडमा लागेनन्।
२०७७ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गर्दा उनी बेखुस बने। संसद् भंगपछि एमाले विभाजन भयो। पार्टी फुट रोक्न उनले वक्तव्य जारी गरे।
माधव नेपालले नयाँ पार्टी एकीकृत समाजवादी गठन गरे। इन्द्रलाललाई त्यो पार्टीमा जोडिएर मन्त्री बन्ने अवसर थियो। तर उनी त्यता लागेनन्।
मिजासिलो स्वभाव र वैचारिक स्पष्टता उनको चिनारी हो। विभाजन नरोज्ने नेतामध्ये एक हुन्।
२०५४ सालमा वामदेव गौतमले माले निर्माण गर्दा उनले संस्थापन छाडेनन्।
‘यही घरमा बस्ने हो, पार्टीलाई वैचारिक रूपले सही बाटोमा ल्याउन निरन्तर खबरदारी गर्ने हो। आफैँले बनाएको घर भत्काएर नयाँ सिर्जना गर्छु भन्नु मूर्खता हो’, उनी त्यो बेला भन्ने गर्थे।
अध्यक्ष केपी शर्मा ओलीको शैलीप्रति चाहिँ उनको असहमति थियो।
‘पार्टीमा सामूहिक नेतृत्वको वकालन गर्ने हाम्रै अध्यक्ष केपी ओली हो। अहिले उहाँमा सामूहिकतामा भन्दा व्यक्तिवादी सोच हावी हुँदै गएको छ। उहाँकै सोचले पार्टी दुर्घटनामा परेको हो। माओवादीसँगको एकता खल्बलिएको हो। उहाँ सच्चिनुपर्छ। वामपन्थी शक्तिबीच एकता गर्दै बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुृपर्छ’, उनी अक्सर यसो भन्थे।
पार्टीमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरण पनि उनको माग हो। हो, त्यही माग बोकेर उनी यसपटक एमालेको सचिव पदमा उम्मेदवारी दिँदै छन्। एमाले यतिबेला वर्तमान अध्यक्ष ओलीको विकल्प खोज्नुहुन्न र उनी निर्विकल्प हैनन् भन्ने दुई कित्तामध्ये इन्द्रलालले दोस्रो रोजेका छन्। अर्थात् उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल खेमाबाट सचिवमा उठ्दै छन्।
संयोग कस्तो भने जेनजी आन्दोलनपछि सिंहदरबारबाट सेनाले उद्धार गरेका एमाले अध्यक्ष ओलीलाई पुनः अध्यक्ष बनाउन महेश बस्नेत कम्मर कसेर लागेका छन्।
आफूलाई गुन्डुमा लगेर आश्रयको प्रबन्ध गर्ने तथा कुटी निर्माण अघि बढाउने बस्नेतलाई ओलीले पुरस्कारस्वरूप सचिवका रूपमा अगाडि सारेका छन्। अनि युवासंघमा महेशसँगै प्रतिस्पर्धा गरेका इन्द्रलाल पनि विपरीत पक्षबाट सचिवकै उम्मेदवार बनेका छन्।
केन्द्रीय सदस्यका रूपमा स्वतः महाधिवेशन प्रतिनिधि बनेका इन्द्रलाल विचार र दृष्टिकोणसहित चुनावी मैदानमा आएको बताउँछन्।
अध्यक्ष ओलीसँग सिँगौरी खेल्न नभएर पार्टीलाई विधिअनुरूप चलाउनुपर्छ भन्ने मान्यता बोकेर आफू सचिवको प्रत्यासी बनेको उनको भनाइ छ।
साविक धौलागिरि अञ्चल र हाल गण्डकी प्रदेशबाट एमालेको पदाधिकारी ताक्ने सीमित नेतामध्ये उनी एक हुन्।
यसअघि १०औँ महाधिवेशनमा गण्डकीबाट लमजुङका पृथ्वीसुब्बा गुरुङ उपमहासचिव र स्याङ्जाकी पद्मा अर्याल सचिव बनेका थिए।
अध्यक्ष ओली समूहबाट पद्मा र कास्कीका खगराज अधिकारी सचिवको प्रत्यासी बनेपछि इन्द्रलालले उनीहरूसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।
गण्डकी प्रदेशबाट प्रतिनिधि बनेकाहरूले यहाँबाट जो पदाधिकारीमा उम्मेदवार बने पनि एकढिक्का हुने सहमति गरेका छन्।
तर, अध्यक्ष ओली पक्षको छुट्टै प्यानल बनेको अवस्थामा इतर समूह रोजेका इन्द्रलाललाई जिताउन कमै मात्र प्रतिनिधि सक्रिय हुने एक नेताको बुझाइ छ।
तथापि आशा व्यक्त गर्दै उनले नेपालखबरसँग भने, ‘इन्द्रलाल कमरेड, पार्टीलाई चाहिने मान्छे हो, ९ जनामा उहाँ कसो नपर्नुहोला र!’
Shares

प्रतिक्रिया