राजनीति


जगमानहरूले ‘असारमा राजा राजगद्दी नचढे शास्त्र जलाइदिन्छौँ’ भनेर उल्क्याएपछि हौसिए ज्ञानेन्द्र

जगमानहरूले ‘असारमा राजा राजगद्दी नचढे शास्त्र जलाइदिन्छौँ’ भनेर उल्क्याएपछि हौसिए ज्ञानेन्द्र

वाशुदेव मिश्र
फागुन २६, २०८१ सोमबार १९:५६, पोखरा

मंसिर २१ देखि माघ १० गतेसम्मका ५० दिन अर्थात् ‘मीनपचास’को बेला काठमाडौँमा माछालाई पनि जाडो लाग्थ्यो रे  मीनपचास छल्न राजा, उनको परिवार, भारदार र हुनेखानेहरू मधेस झर्थे। जाडो छल्न भरतपुर झरेकै बेला २०२८ को माघ १७ गते तत्कालीन राजा महेन्द्रको निधन भएको थियो। 

त्यसो त, उनै राजा महेन्द्रले रानी रत्नको नाममा पोखराको फेवाताल किनारमा दरबार बनाएका थिए। राजा महेन्द्रले त्यही ‘रत्नमन्दिर’ मा पनि हिउँदका कयौँ रात बिताए। उनका छोरा वीरेन्द्रले पनि त्यो परम्परा पच्छ्याए। हिउँदका दिनमा ‘रत्नमन्दिर’मा उनी शुभेच्छुक भेट्थे। साँझ कवि–कलाकार बोलाएर महफिल जमाउँथे। 

राजाको नजिक पुगेका बेला पञ्च, कवि–कलाकार र सर्वसाधारणले आफ्नो गुनासो सुनाउँथे। २०५८ जेठ १९ गतेको राजदरबार हत्याकाण्डमा वीरेन्द्रको वंशनाश भयो। संयोग! दरबार हत्याकाण्डको रात रत्नमन्दिरमै रहेका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र जीवनको दोस्रोपटक राजा बन्न पुगे। तर, उनको राजकाज चाहिँ धेरै टिकेन। २०६२/०६३ को जनआन्दोलनले देशमा गणतन्त्रको जग बसायो। त्यही आन्दोलनको वेगपछि पुनःस्थापित संसदले २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा गरिदियो। 

१४ दिनपछि अर्थात् जेठ २९ गते उनले नारायणहिटी दरबार नै छाडे। नारायणहिटी नै आफ्नो नभएपछि रत्नमन्दिर कसरी आफ्नो होस्! ज्ञानेन्द्रको लागि रत्नमन्दिर पनि बिरानो बन्यो। 

२०६३ साल वैशाख ११ गते पुनःस्थापित संसद् र त्यसपछि बनेको अन्तरिम संविधान २०६३ को धारा १५९ मा नै ‘राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याइ ट्रस्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ’ भन्ने व्यवस्था गरियो। अर्को वर्ष ‘नेपाल ट्रस्ट स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने अध्यादेश–२०६४’ जारी भयो।

२०६४ साल असोज २१ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले रत्नमन्दिरलाई नेपाल ट्रस्टको मातहत ल्याउने निर्णय गर्‍यो भने २०६७ साल पुस २० गते निर्णय कार्यान्वयनमा आयो। 

राजाबाट जनता बनेपछि पनि ज्ञानेन्द्र धेरैपटक पोखरा आएका छन्। अस्ति भर्खरको कुरा त हो, मीनपचासकै बीच माघ २७ गते पूर्वराजा ज्ञानेन्द्र पोखरा झरे। रत्नमन्दिरको ढोका त उनको लागि बन्द नै थियो तर उनले सर्वसाधारणको रूपमा बस्न मिल्ने तथा कुनैबेला राजपरिवारकै सदस्यले सञ्चालन गर्ने तालपारिको फिस्टेल लज पनि रोजेनन्। रूपाकोट डाँडाको रूपाकोट रिसोर्ट र तालकै पानी बग्ने पुस्रेखोला पारिपट्टि दोबिल्लामा गरी झण्डै एक महिना बिताए। 

त्यही बीचमा उनी रत्नमन्दिर हुँदै लेकसाइडको चर्चित क्याटवाक र डुंगा रेस्टुरेन्ट चाहिँ पुगे। ती रेस्टुुराँमा रमाउँदा रत्नमन्दिरमा बिताएका क्षणहरू रिलजस्तै घुमे कि! पुरानो स्मृतिले अँठ्यायो कि! फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजाले भिडियो सन्देश जारी गर्दै भने, ‘ ...अब समय आयो। राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्दछौँ।’

आफू सक्रिय रहने र वर्तमान राजनीतिक व्यवस्थाविरुद्ध उत्रिने उनको प्रस्ट सन्देशको राजनीतिक दलहरूले कडा शब्दमा निन्दा गरे। तर, उनका समर्थकहरू चाहिँ उत्साहित देखिए। सन्देशपछि पोखरामा कहिले मोटरसाइकल र्‍याली त कहिले शक्तिपीठमा हुने पूर्वराजाको भ्रमणको उपक्रममा शक्ति प्रदर्शन हुन थाले। 

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको शाहवंशीय कुलदेवता मन्दिर आलमदेवी, पोखराको विन्ध्यवासिनी र केदारेश्वर महादेव मन्दिर तथा बागलुङ कालिकाको मन्दिरमा उनको भव्य स्वागत भयो। सार्वजनिक भएका तस्बिर हेर्दा उनी त्यो बेला प्रफुल्ल थिए। त्यो उपक्रममा पूर्वराजाले जनतासँग सेल्फी खिचाए। उनीहरूका कुरा सुने। 

सार्वजनिक समारोहको कुरा भिन्नै भयो, बन्द कोठामा नै उनले धेरै कुरा सुने। उनको स्वागतमा खटिने प्रा.डा. जगमान गुरुङका अनुसार भेटमा राजाले धेरै कुरा सोधेनन् र उनले पनि केही गुनासो गरेनन्।

‘राजासँग केही माग्ने हैन, संकट परेको बेला उहाँलाई सहयोग गर्ने हो। राष्ट्र र राष्ट्रियता बचाउन हामीले उहाँलाई साथ दिएको हो,’ आलमदेवी मन्दिरमा पुगेपछि पूर्वराजाबाट के कुरा आयो भन्ने प्रश्नमा उनले भने, ‘राजाले बोलेर हिँड्ने हैन, जनतालाई साथमा लिएर संकटको बेला काम गर्ने हो।’

जगमान तिनै व्यक्ति हुन्, जसलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०६१ साल कात्तिक २ गते नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्यमा मनोनीत गरेका थिए। त्यसपछि प्रधानमन्त्री केपी ओलीको रोजाइमा पनि उनी नै परे। चितवनको ठोरी नै राम जन्मभूमि भएको ओलीको भनाइमा सही थापेका उनलाई २०७५ असोज ३ गते उज्ज्वल कीर्तिमय राष्ट्रद्वीप द्वितीयबाट विभूषित गरियो भने २०७५ पुस १ गते नेपाल प्रज्ञा प्रतिष्ठानको उप कुलपतिमा मनोनीत गरियो। अहिले उनी खुलेर राजतन्त्रको पक्षमा लागेका छन्। 

ज्ञानेन्द्र यहाँ रहँदा उनी स्वागतको लागि गठित नागरिक स्वागत मूल समारोह समितिका हर्ताकर्ता बनेका थिए। पोखराको पुरानो एयरपोर्टमा ज्ञानेन्द्रलाई स्वागत गर्नेदेखि आलमदेवी पुगेर धार्मिक विधि अनुसार प्रसाद टक्र्याउने र फागुन २५ गते रातो अक्षता, दुबोको माला पहिर्‍याएर दही खुवाएर काठमाडौँ पठाउनेको अग्रपंक्तिमा पनि उनै थिए। 

राष्ट्रिय प्रजातन्त्र पार्टी त राजावादी भइहाल्यो। हिन्दुराज्य र राजतन्त्र पुनःस्थापनाको एजेन्डा समातेर बसेको राप्रपाका नेता–कार्यकर्ता पूर्वराजा पोखरा भइञ्जेल उनकै वरपर झुम्मिए। भ्रमणको चाँजोपाँजो मिलाए। गण्डकी प्रदेशमा राप्रपाबाट सभासद बनेका पञ्चमान गुरुङ, राप्रपाका युवा केन्द्रीय सदस्य अरुण गिरी, राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङहरू धेरैजसो समय पूर्वराजाकै ‘सवारी’ चलाउन खटिए।

उनीहरूकै पहलमा पोखरा १० मा रहेको र जनआन्दोलनको बेला क्षति पुर्‍याइएको पूर्वराजा वीरेन्द्रको सालिक पुनः ठड्याइयो। फागुन २२ गते भाइ ज्ञानेन्द्रले आफ्ना स्वर्गीय दाइ वीरेन्द्रको सालिक अनावरण गरे। अनावरणको बेला कार्यक्रम संचालक रहेका राप्रपा केन्द्रीय सदस्य अरुण गिरीले पञ्चायतकै झल्को दिने गरी  ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको जय!’ उराले। मिल्काइएको ‘श्रीमान् गम्भीर...’ बजाइयो।

‘राजा आफैँमा राष्ट्रिय एकताको प्रतीक हो, राजालाई नेता बन्नु छैन, सरकारले संकटको बेला देशलाई बचाउने जिम्मा लिइसिन्छ,’ गिरीले भने, ‘हामीसँगको भेटमा सरकारबाट देश समृद्ध बन्नुपर्छ भन्ने इच्छा जाहेर गरिबक्स्यो, राजा जनतालाई विभाजित गर्न चाहिबक्सन्न।’ 

पूर्वराजाले सार्वजनिक रूपले नै आफूलाई साथ दिन गरेको आग्रहलाई जनताले सहर्ष स्वीकार गरेका र त्यही कारण राजा जता जाँदा पनि मानव सागर उर्लेको उनले जिकिर गरे। 

यता, जगमान भने अझ उत्साहित देखिए उनले पहिले छिमेकी भारतकै कारण राजसंस्था ढलेको र अहिलेको भारतीय नेतृत्व नेपालमा राजतन्त्र आवश्यक भएको निष्कर्षमा पुगेको जिकिर मात्र गरेनन्, अमेरिकाले समेत राजा नै चाहेको दाबी पनि गर्न भ्याए।


 
‘विश्व परिवेश अहिले फर्लक्कै फर्केको छ, दुवाली फर्केको भन्छ नि, त्यस्तै भएको छ। राजाले समय र परिस्थिति सिर्जना गर्छ र आफूले सत्ता प्राप्त गर्छ, अहिले दुवै कुरा मिलेको छ,’ उनले भने, ‘नेपाललाई भताभुङ्ग पार्ने डन अमेरिका हो। अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वायु बकेजस्तो बकेको छ। यहाँ जातीय, सांस्कृतिक, राजनीतिक विभाजन ल्याउन तथा हिन्दु धर्म परिवर्तन गराउन दिइँदै आएको सहयोग रोकिदिएको छ। यो नेपालप्रतिको सद्भाव हो। ट्रम्पले कुलो रोकिदिएपछि माछा राजाको ढडियामा पर्‍यो। अब मान्छे उफ्रदैनन्। कुला अन्तै गयो।’

उनले त्यसो हुनुमा अमेरिकी राष्ट्रपतिको वरपर रहेका हिन्दुहरूको हात रहेको र त्यसको नेतृत्व उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषाले गरेको तथा उनीहरूले नेपाल हिन्दुराज्य भएको देख्न चाहेको जिकिर समेत गर्न भ्याए। उनीहरूकै अगुवाइमा ट्रम्प राष्ट्रपति हुनुअगाडि नै भारतको कामरूपा कामाख्या मन्दिरमा ट्रम्पको विजयका निम्ति तन्त्र साधना गरिएको पनि दाबी गरे। 

‘कामाख्यामा तन्त्र साधना गरेकाले नै राष्ट्रपति अत्यधिक मतले जितेका हुन्। ट्रम्पका मान्छे आएर पूजापाठ गरे। त्यहाँ बोका मात्र बलि दिएनन् के के बलि दिए दिए। उनले साधना गराए। उपराष्ट्रपतिका श्रीमान् श्रीमतीले त्यो काम गराएका हुन्,’ उनले भने। 

जगमानले भनेजस्तो उपराष्ट्रपति हिन्दु हैनन्, इसाइभित्रका क्याथोलिक हुन्। उनकी श्रीमती उषा चाहिँ हिन्दु नै हुन्। 

टर्कीका प्रधानमन्त्रीले सिंगापुरको शिखर सम्मेलनमा नेपाल आध्यात्मिक केन्द्र हो भनेका र त्यसमा अमेरिका पनि सहमत भएकाले अमेरिका राजाको पक्षमा आएको उनको भनाइ छ। उनले भारतको नरेन्द्र मोदी सरकार अहिले आएर नेपालबाट हिन्दु राज्य र राजतन्त्र फालेकोमा पछुताएको बताउँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति मिलेकाले नै आउँदो असारभित्र ज्ञानेन्द्र पुनः राजगद्दीमा चढ्ने दाबी गरे। 

ज्योतिषशास्त्र अनुसार पनि राजाको लागि अनुकूल समय भएको जिकिर गर्दै उनले भने, ‘नेपालको जनमानसिकता र विश्व  परिवेश मिलेको छ। चैत लागेपछि राजाको पक्षमा अझ माहौल बढ्छ। वैशाख ६ गतेपछि अर्को परिस्थिति हुन्छ। असारमा राजगद्दीमा आरोहण हुने  हो। त्यो भएन भने वैदिक शास्त्र जलाइदिए हुन्छ। मैले च्यालेन्ज गरेँ। असारमा गद्दी आरोहण भएन भने मै जलाइदिन्छु। शास्त्र र लग्न अनुसार च्यात्न पर्दैन। मीन लग्नमा शनि आएपछि, मीनको स्वामी बृहस्पति आएपछि हुने त्यही हो।’ 

उनले पूर्वराजाले नेपाली जनताको सदीक्षाबाट राजा हुन्छु भनेर मोदी र योगीलाई भनेको पनि बताए। 

यो त जगमानको कुरा भयो। स्वागत समितिको संयोजक रहेका, हिजो केपी ओली, शेरबहादुर देउवालाई पनि रिझाएका र वैदिक एवं ज्योतिष शास्त्र जानेका जगमानको भनाइमा स्वर मिलाउनेहरूको पोखरामा कमी थिएन। त्यसबाट ज्ञानेन्द्र नहौसिने कुरै भएन। 

पूर्वराजा समर्थक एक राप्रपा नेताको भनाइ मान्ने भने वरपर बस्नेहरूले हौसला दिएपछि, गोरखपुर गएको बेला हिन्दुवादीहरूको सद्भाव प्राप्त भएपछि पूर्वराजा हौसिएका हुन्। फागुन ७ को वक्तव्य त्यही मनस्थितिको उपज भएको पनि उनले बताए। 

‘अहिले जनता हत्तु भएका छन्। उनीहरूले राजा चाहेको कुरा त पोखरा र काठमाडौँको उपस्थितिले प्रमाणित गरिसक्यो नि। सानो आह्वानले त यत्रो जनमत तयार भयो भने साँच्चै राजाले सक्रियता देखाउँदा के होला?’ उल्टो प्रश्न गर्दै उनले भने, ‘नेपालमा सबैले सम्मान गर्ने एकताको प्रतीक राजसंस्थाको पक्षमा जनमत तयार भयो र अभियानको नेतृत्व राप्रपाले लिइसक्यो भन्दा पनि हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad