ad ad

राजनीति


सिन्धुपाल्चोक २ मा पहिलो पटक कांग्रेस जिताएर मोहनबहादुरले राखे कीर्तिमान

सिन्धुपाल्चोक २ मा पहिलो पटक कांग्रेस जिताएर मोहनबहादुरले राखे कीर्तिमान

सीताराम बराल
मंसिर ११, २०७९ आइतबार १७:२४, काठमाडौँ

सत्ता गठबन्धनले सिन्धुपाल्चोकका प्रतिनिधि सभा र प्रदेश सभाका ६ वटै सिट ‘क्लिन स्विप’ गरेको छ। र, यो क्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले एउटा ऐतिहासिक रेकर्ड पनि बनाएको छ।

संसदीय निर्वाचनको इतिहासमा पहिलो पटक कांग्रेसले यो क्षेत्रमा विजय हासिल गरेको हो। सिन्धुपाल्चोक–२ मा कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन्।

बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले २०१५ को निर्वाचनमा दुई तिहाइ बहुमत प्राप्त गर्दा होस् वा २०४८ र २०५६ को निर्वाचनमा विजय हासिल गर्दा होस्, मेलम्ची र हेलम्बुसहितको क्षेत्र ओगट्ने निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले कहिल्यै जितेको थिएन।

२०१५ को निर्वाचनमा दुई तिहाइ बहुमत हासिल गरे पनि काठमाडौँ उपत्यका र राजधानी वरिपरिका अधिकांश निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस पराजित हुन पुगेको थियो। राजधानी र वरिपरिका जिल्लाका अधिकांश क्षेत्रमा नेपाल राष्ट्रिय गोर्खा परिषदले पकड कायम गरेको थियो।  

‘गोर्खा परिषद्’ सत्ताबाट अपदस्थ भएका राणाहरुको पार्टीका रुपमा चिनिन्थ्यो। चन्द्र शमशेरका नाति एवं बबर शमशेरका छोरा मृगेन्द्र शमशेर अध्यक्ष रहेको यो पार्टीका महामन्त्री भरत शमशेर थिए, जो मृगेन्द्र शमशेरका छोरा थिए। 

अहिलेको सिन्धुपाल्चोक त्यो बेला छुट्टै जिल्लाको रुपमा अस्तित्वमा आएको थिएन। चौतारा (हालको सदरमुकाम) लाई केन्द्र मानेर सिन्धुपाल्चोक र काभ्रेलाई ४ निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो। 

चौताराको पश्चिम–उत्तर निर्वाचन क्षेत्र नं ६ अन्तर्गत पथ्र्याे भने पूर्व–उत्तर क्षेत्रलाई निर्वाचन क्षेत्र नं ७ मा राखिएको थियो। चौतारा मध्य–पश्चिम क्षेत्रलाई ७ नं निर्वाचन क्षेत्र र चौतारा दक्षिणको क्षेत्रलाई ८ नं क्षेत्रमा राखिएको थियो। 

यसमध्ये निर्वाचन क्षेत्र नं ७ मा पर्ने ‘चौतारा पूर्व–उत्तर’ को भूभागमा मात्र नेपाली कांग्रेसले विजय हासिल गरेको थियो। कांग्रेस उम्मेदवार चन्द्रलाल श्रेष्ठ ३ हजार ८ सय ४४ मतसहित विजयी हुँदा गोर्खा परिषदका उम्मेदवार लेफ्टिनेन्ट जनरल युवराज शमशेर ३ हजार ५ सय ५८ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेका थिए।  

योबाहेक बाँकी क्षेत्रमा गोर्खा परिषदका उम्मेदवारहरु विजयी भए। निर्वाचन क्षेत्र नं ८ (चौतारा मध्यपश्चिम) मा गोर्खा परिषदका सुरेन्द्रप्रसाद उपाध्याय ५ हजार २ सय २० सहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आशाकाजी वैद्यले २ हजार ६ सय ७२ मत मात्र प्राप्त गरे।   

निर्वाचन क्षेत्र नं ८ (चौतारा दक्षिण) मा कांग्रेस उम्मेदवार सप्तलाल ताम्राकारलाई प्राप्त १ हजार ३ सय २४ मतका विरुद्ध गोर्खा परिषदका तीर्थमान लामाले विजय हासिल गरे। लामाले ३ हजार ५ सय ६८ मत प्राप्त गरेका थिए। 

बाँकी निर्वाचन क्षेत्र नं ६ (चौतारा पश्चिम उत्तर) मा त नेपाली कांग्रेसका उम्मेदवारको जमानत नै जफत भयो। यहाँ पनि गोर्खा परिषदकै गुणनिधि ५ हजार ४ सय ९० मतसहित विजयी हुँदा नेपाली कांग्रेसका सूर्यमान श्रेष्ठले १ हजार ९ सय ४८ मत मात्र पाए। कम मतका कारण उनको जमानत समेत जोगिएन।

कांग्रेसले जमानत समेत नजोगाएको यही क्षेत्रमा मेलम्ची र हेलम्बु क्षेत्र पर्थे। 
 
‘२०१५ को निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसले जमानत समेत जोगाउन सकेन,’ सिन्धुपाल्चोक–२ बाट निर्वाचित कांग्रेस सांसद बस्नेतले भने, ‘२०४६ पछि २०७४ सम्म भएका प्रतिनिधि सभाको कुनै निर्वाचनमा पनि हामीले मेलम्ची–हेलम्बु क्षेत्रमा विजय हासिल गरेनौँ।’

२०४८ पछि सिन्धुपाल्चोक तीन निर्वाचन क्षेत्रमा विभाजित भयो। संविधान सभा निर्वाचनका लागि पनि सिन्धुपाल्चोकलाई तीन वटै निर्वाचन क्षेत्रमा विभाजित गरियो। यो जिल्ला दुई वटा निर्वाचन क्षेत्रमा विभाजित भएको २०७४ को निर्वाचनपछि हो। 

यस अनुसार हेलम्बु–मेलम्ची समेटिएको भूभागलाई २०४८ देखि २०७० सम्म सिन्धुपाल्चोक–३ र २०७४ पछि सिन्धुपाल्चोक–२ मा पर्यो। 

रोचक चाहिँ के भने, ‘राणाहरुको पार्टी’ भनेर चिनिने गोर्खा परिषदले २०१५ को निर्वाचन जितेको यो क्षेत्रमा बहुदलीय व्यवस्थाकालका तीन आम निर्वाचन– २०४८, २०५१ र २०५६ मा चन्द्र शमशेर खलककै सदस्यले चुनाव जिते। 

उनी थिए– पशुपति शमशेर राणा, जो चन्द्र शमशेरका छोरा श्री ३ मोहन शमशेरका नाति (विजय शमशेरका छोरा) हुन्। 

पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्यका लागि यही जिल्लाबाट चुनाव लडेर विजय हासिल गर्ने उनले बहुदलीय व्यवस्थाकालका तीन निर्वाचन (२०४८, २०५१ र २०५६) मा राप्रपाको उम्मेदवार बनेर यो क्षेत्रबाट विजय हासिल गरे।   

एकै व्यक्ति दुई निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न पाउने प्रावधानका कारण बहुदलकालमा उनी जिल्लाका अन्य निर्वाचन क्षेत्रबाट पनि प्रतिस्पर्धा गर्थे। तर, अन्य क्षेत्रबाट पराजित हुँदा पनि मेलम्ची–हेलम्बु क्षेत्र समेटिएको सिन्धुपाल्चोक–३ ले नै उनलाई जिताउँथ्यो। 
     
गणतन्त्र स्थापनापछि यो क्षेत्रमा राणाको प्रभाव घट्यो। २०६४, २०७० र २०७४ को निर्वाचनमा प्रतिस्पर्धा गरे पनि उनी पराजित भइरहे। छोरी देवयानी आएर प्रचार गर्दासमेत उनले विजय हासिल गर्न सकेनन्। राणा यसपटक राप्रपाको समानुपातिक सूचीमा छन्। 

गणतन्त्रपछि राणा यो क्षेत्रमा कमजोर हुँदा पनि २०६४ देखि २०७४ का कुनै निर्वाचनमा कांग्रेसले यहाँ विजयको झण्डा फहराउन सकेन। बरु, २०७४ को निर्वाचनमा उसले यो क्षेत्र राणालाई सुम्पियो, तत्कालीन सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बने पनि राणाले विजय हासिल गर्न सकेनन्। 

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा यो क्षेत्रमा माओवादी केन्द्रका दावा लामाले झिनो मतान्तरले विजय हासिल गरेका थिए। ०६४ मा माओवादीका लामाले पराजित गरेका एमालेका शेरबहादुर तामाङले २०७० को निर्वाचनमा विजय हासिल गरे। 

वाम गठबन्धनको सहारामा तिनै तामाङले २०७४ को निर्वाचनमा कांग्रेस–राप्रपा गठबन्धनका उम्मेदवार राप्रपाका पशुपति शमशेर राणालाई पराजित गरेका थिए। 

राणा २०६४ र २०७० मा पनि उम्मेदवार थिए। दुवै निर्वाचनमा उनी पराजित भए। कहिले दोस्रो त कहिले तेस्रो स्थानमा रहेर कांग्रेस उम्मेदवारहरु पनि पराजित भइरहे। 

२०७४ अघि सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा निर्वाचित एक मात्र नेता मोहनबहादुर बस्नेत हुन्। तर, उनी मेलम्ची–हेलम्बु पर्ने सिन्धुपाल्चोक–३ बाट होइन, बाह्रबिसे लगायतको इलाका रहेको सिन्धुपाल्चोक–१ बाट विजयी भएका थिए। 

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका क्रममा यसपटक सिन्धुपाल्चोक–१ माओवादी केन्द्रको भागमा पर्यो। निवर्तमान सभामुख अग्नि सापकोटाले २०६४ देखि विजय हासिल गर्दै आएका अधिकांश क्षेत्र यो निर्वाचन क्षेत्रमा पर्ने भएकाले माओवादी केन्द्रले यसपटक पनि सो क्षेत्र पाएको थियो। 

क्षेत्र नं २ कांग्रेसले लिनुपर्ने भयो, जुन क्षेत्रमा यसअघि कांग्रेसले कहिल्यै विजय हासिल गरेको थिएन।  

त्यसो त, सिन्धुपाल्चोक तीन निर्वाचन क्षेत्रमा विभाजित हुँदा क्षेत्र नं १ र २ मा रहेका केही स्थान यसपटक क्षेत्र नं २ मा पारिएका छन्। तर, अहिलेको सिन्धुपाल्चोक–२ को मूल भूभाग भनेको मेलम्ची र हेलम्बु नै हो। अघि नै उल्लेख गरिसक्यौँ, प्रतिनिधि सभामा यो भूभागबाट कहिल्यै उम्मेदवारहरुले विजय हासिल गरेका थिएनन्। 

कांग्रेसले कहिल्यै जित हासिल नगरेको यो क्षेत्रमा यसपटक कांग्रेस नेता मोहनबहादुर बस्नेत  उम्मेदवार बने। सिन्धुपाल्चोक–१ मा माओवादी केन्द्रका माधव सापकोटा (सुबोध) ले प्रतिस्पर्धा गरे। 

२०६४ देखि लगातार विजय हासिल गर्दै आएको सिन्धुपाल्चोक–१ मा यसपटक पनि माओवादी केन्द्रका सापकोटा विजयी भए। तर, पहिलो आम निर्वाचन (२०१५), बहुदलकालका तीन र गणतन्त्र स्थापनापछिका. तीन निर्वाचनमा कहिल्यै विजयको झण्डा गाड्न नपाएको कांग्रेसले संसदीय निर्वाचनको इतिहासमा पहिलो पटक यो क्षेत्रमा विजय हात पार्यो।

मंसिर ८ मा सकिएको मतगणनामा विजयी कांग्रेस नेता बस्नेतले ३९ हजार ३ सय ६७ मत प्राप्त गरी यो क्षेत्रमा कांग्रेसलाई पहिलो जित दिलाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका शेरबहादुर तामाङलाई २७ हजार ४ सय ९३ मत प्राप्त भयो। 

विजेता बस्नेत र पराजित तामाङबीचको मतान्तर ११ हजार ८ सय ७४ छ, जुन यो क्षेत्रमा भएका प्रतिस्पर्धामा कायम भएको सबैभन्दा ठूलो मतान्तर हो। 

‘गठबन्धनमा सामेल दलहरुमा एकता र इमान्दारी हुँदा यति ठूलो मतान्तर कायम गर्न सकियो,’ विजयी बस्नेतले भने, ‘गठबन्धनका कारण कांग्रेसले यहाँ पहिलो पटक विजयको झण्डा फहराउन सक्यो।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .