ad ad

राजनीति


रन्जिता श्रेष्ठ : सुदूरपश्चिमबाट संघीय संसद पुग्ने एक्ली महिला

जोगाइन् पति रेशम चौधरीको विरासत
रन्जिता श्रेष्ठ : सुदूरपश्चिमबाट संघीय संसद पुग्ने एक्ली महिला

फाइल तस्बिर


गोकुल जोशी
मंसिर ८, २०७९ बिहिबार १७:५७, कञ्चनपुर

प्रतिनिधिसभा निर्वाचन कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रन्जिता श्रेष्ठ निर्वाचित भएकी छन्। 

३० हजार ४०४ मत ल्याउँदै उनी विजयी भएकी हुन। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गरेकी हुन्। 

पराजित रामजनम चौधरीले १८ हजार ८१ मत मात्रै ल्याएका छन्।

यो क्षेत्रबाट ०७४ सालको चुनावमा रञ्जिताका श्रीमान् रेशम चौधरी भारी मतान्तरले जितेका थिए। उनी टीकापुर घटनामा दोषि ठहर भएर जेल जीवन बिताइरहेका छन्।

रेशम पत्नी रञ्जिता जित निकालेर कैलाली १ मा विरासत जोगाउन सफल भएकी छन्। उनी यसपटक सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला पनि बनेकी छन्।

सुदूरपश्चिमको कञ्चनपुर १ मा बीना मगर, ३ मा निरुदेवी पाल र डोटीमा गौरीकुमारी ओली गरेर ४ महिला मात्रै प्रतिनिधि सभामा उम्मेदवार थिए। 

जारी अन्तिम मतगणनामा माओवादी केन्द्रकी बीना मगर निकै पछाडि छन्। एमालेकी निरुदेवी पाल र डोटीकी गौरीकुमारी ओली पराजित भएका थिए।

रामजनमको ओरोला यात्रा
कैलाली १ का कांग्रेसका उम्मेदवार रामजनम चौधरी लगातार दोस्रो पटक चुनाव हारेका छन्। यसअघि ०७४ को चुनावमा कैलाली ३ मा वाम गठबन्धनका गौरीशंकर चौधरीसँग पूर्वमन्त्री चौधरी हारेका थिए। 

यसपटक गठबन्धनको साझा उम्मेदवार बन्दा पनि उनले सफलता हासिल गर्न सकेनन्। 

रामजनम वि.सं. २०४८ सालदेखि २०७० सालसम्म अपराजित नेता हुन्। उनले ०४८, ०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जिते। 

०५१ सालमा एमालेको लहर चलेको बेला पनि उनले जित हात पारे। ०६४ सालमा चुनाव लड्दा जित सुनिश्चित नहुने बुझेपछि विजय गच्छदारको पार्टीमा प्रवेश गरेर समानुपातिक कोटाबाट सभासद चुनिएका थिए।

०७० सालमा दोस्रो संविधानसभाको चुनावमा मधेशी जनअधिकार फोरमबाट कैलाली क्षेत्र नम्बर ३ बाट चुनाव जिते। अनवरत सांसद हुँदै आएका रामजनमले पहिलोपटक ०७४ सालको चुनावमा पराजय व्यहोर्नु पर्यो।

कैलाली ३ मा रामजनम वामगठबन्धनबाट माओवादीका गौरीशंकरसँग ४ हजार ३८५ मतान्तरले पराजित भए। त्यस बेला गौरीशंकरले २४ हजार ८७९ मत ल्याउँदा रामजनमले २० हजार ४९४ मत ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .