सप्तरी–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार जनमत पार्टीका अध्यक्ष डा सिके राउतले सुरुदेखि नै आफ्नो अग्रतालाई कायमै राखेका छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतले पछि पार्दै राउतले अग्रतालाई कायमै राखेका छन्।
मंगलबार राति १० बजेसम्मको परिणामअनुसार राउतले २१ हजार छ सय १७ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जसपा अध्यक्ष यादवले १० हजार आठ सय ८७ मत प्राप्त गरेका छन्।
जसपा अध्यक्ष यादवको भन्दा १० हजार सात सय ३० बढी मत ल्याएर जनमत पार्टीका राउत अगाडि रहेका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताए।
यस्तै लोसपा नेता जयप्रकाश ठाकुरले चार हजार चार सय ५८ मत प्राप्त गरेका छन्। अहिलेसम्म सप्तरी क्षेत्र नं २ मा ३९ हजार आठ सय १९ मतगणना भएको छ।
जसमा एक हजार नौ सय ९० मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। आइतबार भएको निर्वाचनमा क्षेत्र नं २ को कुल ९५ हजार तीन सय ९४ मतदातामध्ये ६४ हजार पाँच सय ६० मत खसेको थियो। रासस

प्रतिक्रिया