राजनीति


हिमालपारि, कांग्रेस भारी

कांग्रेसले मुस्ताङ र मनाङ एमालेबाट आफ्नो पोल्टामा फर्काएको छ
हिमालपारि, कांग्रेस भारी

मुस्ताङबाट विजयी योगेश गौचन थकाली र मनाङबाट विजयी टेकबहादुर गुरुङ


नेपालखबर
मंसिर ५, २०७९ सोमबार २३:९, काठमाडौँ

नेपालको उत्तरी सिमानामा पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मै बाह्रै महिना सेताम्मे हिउँ देखिने हिमाल छन्। तर, गण्डकी प्रदेशका दुई जिल्ला मनाङ र मुस्ताङ भने ‘हिमालपारिका जिल्ला’ का रुपमा परिचित छन्।

लमजुङ हिमाल र हिमालचुली हिमालभन्दा पारि मनाङ र धौलागिरी हिमालपारि मुस्ताङ रहेकाले यी दुई जिल्लालाई हिमालपारिको जिल्ला भनिएको हो। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा हिमालपारिका यी दुवै जिल्लामा एमालेले विजय हासिल गरेको थियो। मुस्ताङमा प्रेमप्रकाश तुलाचन र मनाङमा पाल्देन लोप्साङ गुरुङ त्यो निर्वाचनका विजेता थिए। 

मुस्ताङमा एमाले उम्मेदवार तुलाचनले कांग्रेस उम्मेदवार रोमी गौचन थकालीलाई पराजित गरेका थिए। मनाङमा भने एमाले उम्मेदवार पाल्देनसँग कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ पराजित भएका थिए।

अघिल्लो निर्वाचनमा एमालेको पोल्टामा परेका हिमालपारिका यी दुई जिल्ला यसपटक नेपाली कांग्रेसले आफ्नो पोल्टामा फर्काएको छ। मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली र मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन्। 

हिमालपारिका जिल्ला कांग्रेसको पोल्टामा जाने क्रममा रोचक घटना के छ भने मुस्ताङमा गत निर्वाचनमा पराजित कांग्रेस नेता रोमी गौचन थकालीका छोरा योगेशले यसपटक बाजी मारेका छन्। 

आफ्ना बाबुलाई २०७४ मा पराजित गरेका एमालेका तुलाचनलाई उस्तै पराजयको स्वाद चखाएर उनले संसदको यात्रा तय गरेका छन्। 

मनाङमा पनि यसअघि पराजित कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङले त्यो हारको बदला लिएका छन्। २०७४ को निर्वाचनमा उनी एमाले उम्मेदवार पाल्देनबाटै पराजित भएका थिए। 

मनाङको प्रतिनिधि सभा सिट मात्र होइन, प्रदेश सभा ‘क’ मा पनि कांग्रेसले बाजी मारेको छ। एमालेका जिल्ला अध्यक्ष राजन गुरुङलाई पराजित गर्दै कांग्रेसका मुनिन्द्रजङ गुरुङ विजयी भएका छन्।

त्यहाँ कांग्रेसका विजेता मुनिन्द्रजङले १ हजार २ सय ५५ मत प्राप्त गर्दा पराजित एमालेका राजनले ९ सय २५ मत मात्र पाएका छन्।  

प्रदेश सभा ‘ख’ मा यसअघि नै स्वतन्त्र उम्मेदवार राजीव गुरुङ दीपक (मनाङे) निर्विरोध भइसकेका छन्। 

मुस्ताङ त अझ नेपाली कांग्रेसले ‘क्लिन स्विप’ नै गरेको छ। त्यहाँको प्रतिनिधि सभामा कांग्रेसका योगेश मात्रै होइन, दुवै प्रदेश सभामा कांग्रेस उम्मेदवारहरु नै विजयी भएका छन्। 

मुस्ताङ ‘क’ मा विजयी कांग्रेसका नाम्डु गुरुङले १ हजार ४८ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी इन्द्रधारा विष्टले ७ सय ९३ मत ल्याएका छन्।  

मुस्ताङ ‘ख’ मा विकल शेरचन २ हजार ७ सय २३ मत विजयी भएका छन् भने एमालेका चन्द्रमोहन गौचनलाई १ हजार ५ सय ६५ मत मात्र प्राप्त भएको छ।

हिमालपारिका यी दुई जिल्लामध्ये मुस्ताङमा अक्सर एमाले विजयी हुन्थ्यो भने मनाङमा कांग्रेस। २०४८, २०५१, २०५६ र २०७० मा कांग्रेसले ले विजय हासिल गरेको मनाङमा २०६४ मा माओवादी केन्द्र र २०७४ मा एमाले विजयी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad